newskoseli.Com

६० घर १ कुवा : ३ दिनमा १ गाग्री पानी !

पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ कि त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ । जिल्लाको कुपिन्डे गाविस– ४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । गाउँका ६० परिवारले प्रयोग गर्दै आएको कुवामा पानी सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो ।

गाउँको वरिपरि कुवाबाहेक अन्य कुनै स्रोत नहुँदा वस्ती नै सङ्कटमा पर्न थालेको छ । गाउँमा खानेपानीको अभाव हुन थालेपछि पशु चौपाया समेत सङ्कटमा पर्न थालेको स्थानीय बताउँछन् ।

पहिले यही कुवाबाट गाउँमा सबैलाई पानी पुग्ने थियो, अहिले जनसङ्ख्या बढ्नुका साथै कुवा पनि सुकेपछि गाउँमा पानीको अभाव भएको स्थानीय रामबहादुर यरीले जानकारी दिए । ‘गाउँमा आउने न त कुनै पानीको स्रोत छ, न त बोकेर ल्याउने ठाउँ छ–’ यरीले भने ।

‘गाउँमा भएको पानीको अभाव भएसँगै मानिस बसाइँ सर्न थालेका छन् । गाउँमा पानीको स्रोत भएन, मानिस ढोरपिपल र अन्य जिल्लामा बसाइँ सर्न थालेका छन्’– स्थानीय वीरबहादुर वि.क. ले भने ।

‘पहिले कुवामा पानीको मुहान ठूलो थियो, गाउँमा जनसङ्ख्या पनि कम थियो, अहिले मुहान सुकेको छ, बस्ती बढेकाले समस्या दिनप्रतिदिन बढ्दै गएको छ’– वि.क. ले थपे ।

‘वस्तीमा खानेपानीको अभाव भएपछि मानिस बसाइँ सर्न थालेको स्थानीयबासी रमेश वि.क. ले बताए । गाउँमा खानेपानीको अभाव छ, अहिलेसम्म सात घर बसाइँ सरेर गइसके यहाँ बस्ने परिवारले पनि पशु चौपाया घटाउँदै छन्’– उनले भने ।

‘पानीकै लागि एक जना परिवारको सदस्यको दैनिकी नै कुवामा कुर्ने हुन्छ, बिहान ३ बजेदेखि लाइन लागेर पनि पालो आउँदैन आए पनि तीन दिनमा एक गाग्री पानी आउँछ’– स्थानीय सुन्तली यरीले भनिन् । पानीको अभावसँगै घरमा निर्माण गरिएका शौचालय समेत प्रयोगविहीन हुन थालेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर