newskoseli.Com

अहिलेसम्मकै बढी धान फल्यो यसपालि, आलु फल्यो २८ लाख मेट्रिक टन

खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि नेपालको प्रमुख खाद्यान्न बाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएकाे छ ।

गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन हालसम्मकै उच्च हो ।

आर्थिक वर्ष ०६९/७० मा १५ लाख ३१ हजार ४ सय ९३ हेक्टर क्षेत्रफलमा ५० लाख ७२ हजार २ सय ४८ मेट्रिक टन, ०७०/०७१ मा १४ लाख २० हजार ५ सय ७० हेक्टरमा ४५ लाख ४ हजार ५ सय ३ मेट्रिक टन, ०७१/७२ मा १४ लाख ८६ हजार ९ सय ५१ हेक्टर क्षेत्रफलमा ५० लाख ४७ हजार ४७ मेट्रिक टन र ०७२/७३ मा १४ लाख २६ हजार ९ सय ५१ हेक्टर क्षेत्रफलमा ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष विशेष गरी तराईको झापा, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, मोरङ र रौतहटलगायतका १० जिल्लामा धानको उत्पादनमा वृद्धि भएकाले राष्ट्रिय उत्पादनमा बढाेत्तरी देखिएको छ । तर पनि ५ लाख मेट्रिक टन धान अझै अपुग हुने तथ्याङ्क सार्वजनिक गरेको छ ।

धान नेपालको प्रमुख खाद्यन्नबाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ उत्पादनमा टेवा पुग्दछ भने घट्दा आर्थिक स्थिति तल झर्छ । नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती हुँदै आएको छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशतमध्ये धानको मात्र २० प्रतिशत छ ।

कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता योगेन्द्रकुमार कार्कीले रासायनिक मल र बीउको अभाव नभएको तथा समयमा वर्षा भएकाले जमिन बाँझो हुन नपाएकाले धानको उत्पादनमा वृद्धि भएको बताए ।

त्यस्तै कृषि प्रविधिको विकास तथा सिफारिस गरिएका धानका उन्नत जात किसानले लगाएका कारण उत्पादनमा बृद्धि भएको हो । तराईमा सावित्री, विन्देश्वरी, राधा चार, पहाडमा खुमल ४, १० र ११ तथा उच्च पहाडमा चन्दननाथ आदिको उत्पादकत्व स्थानीय जातको भन्दा दोव्बर रहेको तथा सिफारिस गरिएका धानका जातले ढाकेको क्षेत्रफल ९० प्रतिशत भन्दा बढी रहेका कारण धान उत्पादन बढेको कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले जानकारी दिए ।

कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमध्ये यस वर्ष करिब १ लाख ८९ हजार हेक्टरभन्दा बढी जमिनमा धानखेती भएको छ । जुन गत वर्षभन्दा करिब १४ प्रतिशत बढी हो ।

गत वर्ष ढिलो सुरु भएको मनसुन तथा बन्दका कारण रासायनिक मललगायतका आवश्यक वस्तु सहज ढुवानी हुन नसक्नु तथा इन्धन अभावका कारण भूमिगत सिँचाइमा समेत प्रभाव परेकाले उत्पादन घटेको थियो ।

कृषि विकास मन्त्रालयका तथ्याङ्कशास्त्री रामकृष्ण रेग्मीले वर्षौदेखि बाँझो हुँदै आएको १० लाख ३० हजार हेक्टर जमिनमा धानखेती गर्ने हो भने नेपाली जनसङ्ख्यालाई अपुग ५ लाख मेट्रिक टन धान सजिलै पुग्ने बताउँछन् ।

उनले खाने बानीमा सुधार गर्ने हो भने यसवर्ष नेपालीले ३२ लाख मेट्रिक टन खाद्यान्नबाली निर्यात गर्न सकिने तर यसका लागि आलुलाई पनि खाद्यान्नका रुपमा प्रयोग गर्नुपर्ने बताए । यस आर्थिक वर्षमा आलुको उत्पादन २८ लाख मेट्रिक टन छ ।

आर्थिक वर्ष २०७३/७४ मा धान, मकै, कोदो, फापर (तीते र मीठे) को कूल उत्पादन १ करोड ४ लाख मेट्रिक टन भएको छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन खाद्यान्न भए पुग्छ ।

पहिले नेपालमा उत्पादित धान, चामल, निर्यात गर्ने ७–८ वटा धान–चामल कम्पनी थिए तर अहिले धान–चामल निर्यात गरिने देश आयात गरिने देशका रूपमा गणना हुन थालेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अहिले प्रतिमहिना १ अर्ब रूपैयाँ मूल्य बराबरकाे चामल आयात हुने गरेको छ ।

विश्वमा चीन, भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशमा पर्छन् । नेपाल विश्वमा सबै भन्दा अग्लो स्थानमा धानखेती गर्ने देशमा गणना हुन्छ । नेपालको जुम्ला जिल्लाको छुमचौरमा जुम्लीमार्सी धानखेती हुन्छ, जसको चामल राम्रो मानिन्छ ।

नेपालको छैटाैं कृषिगणना, २०६८ मा १ लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको र १ लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर