newskoseli.Com

जसको परिवार नै ‘चरा’मा समर्पित छ

 ग्यालरीभित्र पस्दा नै चराहरुको चिरबिर सुनिन थाल्छ मानौँ भित्तामा टाँसिएर बसेका चराहरु प्राकृतिक वातावरणमा चिँची चुँचु गर्र्दै तपाईँको स्वागत गरिरहेका छन् ।

बबरमहलस्थित नेपाल कला परिषद्को पहिलो तला सयौँ नाम थाहा भएका र नभएका नभचरहरुले सजिएको छ । प्रकृतिको सुन्दर उपहार र मनुष्य जातिको नजिकको मित्र यी चराहरुलाई तिनको रङ, रुप, आकारमा आफ्नो क्यानभासमा कोरेर, पोतेर हिरालाल डङ्गोल र उहाँका उत्तराधिकारीहरुले कला परिषद्मा नयाँ कला प्रदर्शनी गरिरहेका छन् । तैल, एक्रेलिक र गाउच माध्यमबाट क्यानभासमा बनाइएका ती चित्र कुनै ठूला र कुनै साना आकारका छन् ।

‘नेपालका चराहरु’ शीर्षक सो प्रदर्शनी हिरालालले आफ्नो कलायात्रा अगाडि बढाएको करिब ५० वर्ष पुगेका अवसरमा भइरहेको हो । उहाँ विसं २०२३मा त्रिशूली जलाधार क्षेत्र विकास परियोजनामा आबद्ध भएपछि नै चरामा नै केन्द्रित हुनुभएको होे । नेपालमा चरालाई नै केन्द्रविन्दु बनाएर चित्रकला सिर्जना गर्नेमा राजमानसिंह चित्रकार, जीवनाथ पोखरेल, हेम पौडेल र हिरालाल नै मानिनुहुन्छ । सत्र–अठार सालतिर जुद्ध म्याच फ्याक्ट्रीले आफ्नो प्रतीक चिह्न बनाउन आह्वान गरेको प्रतियोगितामा नेपालको राष्ट्रिय चरा ‘डाँफे’ बनाउनु भएका हिरालालकै चित्रकला प्रथम भयो । त्यसपछि त उहाँलाई चरामा लाग्न झन् हौसला मिल्यो ।

त्यसअघि उहाँले जर्मन प्रशिक्षक एलेक्स मानसँग प्राविधिक चित्रकला(हालको स्नातकोत्तर तह सरह) सिक्नुभएको थियो । त्यसबाट मात्र चित्त बुझाउन नसकी उहाँ आधुनिक नेपाली कलाका पिता मानिने बाङदेललाई गुरु थाप्न पुग्नुभयो र उहाँसँग चित्रकला सिक्दा सिक्दै अमेरिकाका डा रोबर्ट फ्लेमिङ(सिनियर जुनियर)को ‘बर्डस अफ नेपाल’(नेपालका चराहरु) परियोजना(२०२८–३३)मा हेम पौडेलसँग जोडिनुभयो । त्यससम्बन्धी प्रकाशित पुस्तकमा आठ सय चराका चित्र र तिनको परिचय दिइएको छ ।

“बाङ्देलको रङ संयोजन अति नै मिलेको हुन्थ्यो, चित्रमा अटेका वस्तुहरुको स्थिति(पोजिसन) पनि राम्रोसँग राखिएको हुन्थ्यो ”हिरालालले भन्नुभयो । बाङदेलले आफ्ना चेलाको प्रतिभा बुझेर त्यसैअनुसार तिनलाई सोही विषयमा केन्द्रित हुन प्रेरित गर्ने गरेको वाङ्देलका शिष्य कलाकार शान्तकुमार राईले बताउनुभयो ।

हिरालाल र उहाँका छोरा पुष्पलाल र ईश्वर तथा छोरी मीना डङ्गोल र प्रतिमा डङ्गोलका करिब सय वटा चराका चित्र अहिले कला परिषद्मा राखिएका छन् । संयोगले डङ्गोल परिवार शाकाहारी परिवार हो ।

राष्ट्रिय चरा डाँफे, हिमाली काष्टकुट, बलकाङ्क्ष बलबाज, गोमायु महाचिल, कमकम चिल, सुपर्ण महाचिल, फुस्रो बकुल्ला, बट्टाइ, हाप्सिलो, राजचिचिल्कोटे, फाप्रे, राजधनेश, मयूर, बिजुलागैरी, चित्रकूट, लाटोकोसेरा, लुइँचे, बोक्सी चिल, नीलचरी आदि अनेक सर्वसाधारणलाई नाम थाहा भएका–नभएका थुपैै्र चरा डङ्गोल परिवारले प्रदर्शनीमा राखेका छन् । विश्वका चरामध्ये नेपालमा २५ प्रतिशत(आठ सय७८) पाइन्छ । काँडेभ्याकुर त नेपालमा मात्र पाइने चरा हो ।

“हामीले भर्खरै पत्ता लगाएका वेस्ट हिमालयन बुस वारब्लर(चितवन), रेडफेस्ड लाइवोसिच्ला र रोफस–टेल्ड रक थ्रस पनि चित्रमा सजाएका छौँ” हिरालालका कान्छा सुपुत्र ईश्वरले भन्नुभयो ।

ईश्वरले परिवारका आफूहरु हप्ता–हप्ता र महिना–महिनामा जङ्गल र हिमालतिर जाने, अध्ययन गर्ने, तस्बिर खिँच्ने र घरमा आएर चित्रकला बनाउने जानकारी दिनुभयो । उहाँहरु जङ्गलमै चित्र बनाउने पनि गर्नुहुन्छ । “कहिलेकाहीँ चराको प्वाँख हेरेर पनि चराको चित्र बनाउने गर्छाैँ”ईश्वरले भन्नुभयो । उहाँहरु आफ्नो अभियानका लागि काठमाडौँका फुलचोकी, बालाजु, टौदह, कीर्तिपुर आदि ठाउँमा जाने गर्नुहुन्छ ।

रु चार हजार पाँच सयदेखि रु पाँच लाखसम्म बिक्री मूल्य राखिएका ती चित्रमध्ये हिरालालको ‘नेपालको प्राकृतिक सौन्दर्यको दृश्य’शीर्षक चित्र रु दुई लाख २५ हजारमा बिक्री भइसकेको छ जसलाई एकता बुक्स प्रालिका रामचन्द्र तिमोथीले खरिद गर्नुभएको हो । त्यससँगै पुस २२ गतेसम्म अन्य २५ वटा चित्र पनि बिकेका छन् ।

“चराको महत्वबारे जनचेतना वृद्धि गर्ने र पर्यटन प्रबद्र्धन गर्ने हाम्रो उद्देश्य हो ”ईश्वरले भन्नुभयो । हालसम्म तीन हजार चराका चित्र बनाउनुभएका हिरालालका दुई हजार पाँच सय त बिक्री भइसकेका छन् । “हाम्रो अर्काे व्यवसाय छैन, चरा चित्रकारितामा समर्पित भएकाले यसैबाट आफ्नो जीवन मजासँग चलेको छ” आधुनिक कलाकार समाज(सोमा)का सक्रिय सदस्य हिरालालले भन्नुभयो ।

सोमाका अध्यक्ष शङ्करराजसिंह सुवाल “ वरिष्ठ कलाकार हिरालाल डङ्गोलले ५० वर्षदेखि नेपाली चराहरुको चित्रहरुको मात्र चित्र रचना गरेर देशविदेशमा कला प्रदर्शनी गरी आफूलाई नेपाली पक्षी दूतका रुपमा स्थापित गराइसक्नुभएको ”बताउनुहुन्छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर