newskoseli.Com

एभोकाडोको एउटै बोटले कमायो ५० हजार

पोखरा उपमहानगरपालिका– १७ बिरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष ५० हजार रूपैयाँ आम्दानी गरेकी छन् ।

९ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको ५ वर्षपछिदेखि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर २ सय केजी फल बिक्री गरेको उनले बताइन् ।

“उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी २ सय ५० रूपैयाँका दरले बिक्री हुने गरेको छ,” उनले भनिन्– “स्वास्थ्य र आम्दानीको हिसाबले राम्रो हुने भएकाले २ वर्षअघि २ वटा बिरुवा थपेकी छु ।”

जेठ–असार महिनामा फुल्ने र पुस महिनामा पाक्ने गरेको यो फल टिपेको चार–पाँच दिनपछि मात्र खान उपयुक्त हुने बताउँदै उनले नयाँ फल उत्पादनसँगै बिक्री गरेर आम्दानी हुन थालेकामा खुसी व्यक्त गरिन् । १ महिनाको अवधिमा लगभग ७० केजी एभोकाडो बिक्री गरेको बताउने बिरौटाका व्यापारी वसन्त भण्डारीका अनुसार एक पटक स्वाद लिएको ग्राहकले पटकपटक खोज्ने गरेका छन् ।

एभोकाडो पोखराको बजारमा ३ सय ५० देखि ६ सय रूपैयाँसम्ममा बिक्री हुने गरेको छ । नेपालमा घिउ फलको उपनामले परिचित एभोकाडोको फल बाहिरबाट बिक्रीका लागि ल्याइए पनि उत्पादनको हिसाबले कास्की जिल्लाका लागि भने नौलो मानिन्छ ।

आँपजस्तो आकारमा तर गोलो फल्ने प्रोटिनयुक्त एभोकाडोको फल मधुमेह र मुटु रोगका बिरामीलाई समेत उपयोगी हुने भएकाले यसको माग बढ्दै गएको छ ।

संसारकै फलमध्येमा धेरै पोषकतत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । बहुगुणी बहुमूल्य यस फलको विस्तार र व्यावसायिक उत्पादनका लागि सरकारीस्तरबाट समेत चासो दिन थालिएको छ । कृषि अनुसन्धान केन्द्र बागवानीमा परीक्षणका लागि लगाइएका १२ वटा बोटले उत्पादन दिन थालेको बताउँदै बागवानी प्रमुख तीर्थराज पोख्रेलले प्रत्येक वर्ष बागवानीबाट दुई सय बिरुवा वितरण हुँदै आएको जानकारी दिए ।

उनका अनुसार कास्की जिल्लाका साथै स्याङजा, लमजुङ, तनहुँ लगायतका जिल्लामा पनि पछिल्ला वर्षमा एभोकाडोको खेती विस्तार हुँदै गएको छ । पाकेपछि गिलो हुने यो फलको स्वाद भने खल्लोे तर बासनायुक्त हुन्छ । यसको पात र डाँठ भने काउलोसँग मिल्दोजुल्दो हुन्छ । एभोकाडो मध्यअमेरिका र मेक्सिकोमा उत्पत्ति भएको यो उष्ण प्रदेशीय फल हो । प्रशस्त रेशा हुने एभोकाडो फल आँखाको दृष्टि र पाचन प्रणालीका लागि लाभदायी मानिन्छ । क्यान्सर रोगी र गर्भवती महिलाका लागि एवम् मोटोपन घटाउनसमेत यो फल उपयोगी मानिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर