newskoseli.Com

प्लास्टिकजन्य पदार्थ : कृषिउत्पादनमा चुनौती

प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा गम्भीर असर पुर्याउँदै आए पनि यसको निन्त्रण प्रयास हुन सकेको छैन । खेतीयोग्य जग्गामा प्लास्टिकका झोला यत्रतत्र फालिँदा माटोको उर्वराशक्तिमा कमीआई कृषि उत्पादनमा असर परेको छ ।

प्लास्टिकका झोला लामो अवधिपछि पनि नष्ट नहुने भएका कारण हानिकारक रसायन जम्मा भई माटो तथा पानीलाई दुषित बनाउने र जग्गाको उर्वराशक्ति घटाइ कृषि उत्पादनमा असर परेकोे कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।

प्लास्टिकका कारण बिरुवाको जीवनचक्रमा असर पारी जरा फैलिन नदिई उत्पादनमा कमी आएको छ भन्दै उनले भने– “तथ्याङ्कगत विवरण कार्यालयसँग नभए पनि बजार क्षेत्र र त्यसका आसपासका क्षेत्रका ९० प्रतिशत जमिनमा प्लास्टिकजन्य पदार्थका कारण उर्वराशक्तिमा ह्रास आएको पाएका छौंं ।”

प्लास्टिकजन्य पदार्थले पुर्याउने हानीबारे सर्वसाधारणमा चेतानाको कमीले जथाभावी फालिदा जमिनमुनि माटोको चिसोपनलाई समेत घटाउने भएको अधिकृत जोशीले बताए ।

कृषिको उत्पादन ह्रास आउनुको मुख्य कारणमध्ये प्लास्टिक चुनौतीका रुपमा रहेको उल्लेख गर्दै उनले यसबाट यहाँका किसानको उत्पादन दश प्रतिशतले घटेको बताए ।

माटोमा हुने पोषकतत्वको प्रवाहलाई प्लास्टिकले रोक्नुका साथै सूर्यको किरणलाई भित्री सतहसम्म पुग्नबाट रोकी जमिनमा हुने प्राकृतिक प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य समेत गर्दै आएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत देवीदत्त कलौनीले बताए ।

बेदकोट नगरपालिका चम्फापुरका किसान जयप्रकास राना सडक छेउकै खेत भएकाले प्लास्टिकका झोला व्यवस्थापन गर्न चुनौती थपिएको बताउँछन् ।

कृषि क्षेत्रसँगै प्लास्टिकका कारण मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्न थालेको छ । ‘ग्रामीण क्षेत्रका बासिन्दाले दाउरा सल्काउनका लागि दैनिक प्लास्टिकजन्य पदार्थ प्रयोग गर्दै आएकाले उनीहरुको स्वास्थ्य निकै जोखिममा रहेको पाएका छौं’, जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हेमराज जोशीले भने– “प्लास्टिक जलाउँदा निस्कने हानिकारक ग्यासले क्यान्सरजस्तो रोगसँगै छालाका रोग निम्त्याउने खतरा छ ।”

स्वास्थ्यचौकी र अस्पतालमा धेरै बिरामी छालाका हुने गरेका र तीमध्ये नसर्ने पेटभित्रको क्यान्सरका बिरामी समेत फेला पर्ने गरेको अधिकृत जोशीले बताए । प्लास्टिका कारण गत वर्ष ढलको पानी थुनिनेसँगै घरभित्रै वर्षाको पानी पसेर नोक्सानी पुर्याएको झलारी बजारका व्यवसायी शिवराज भट्टले बताए ।

जानकारका अनुसार प्लास्टिकजन्य पदार्थ पेट्रोलियम कच्चा पदार्थबाट बनाइने भएकाले यसमा पोलिमरसँगै विभिन्न किसिमका रङ्ग र रसायनिक पदार्थको प्रयोग गरिने भएकाले मानव स्वास्थ्यका लागि निकै घातक हुन्छ ।

प्लास्टिकले जलवायु प्रदूषण र जैविक विविधतामा ह्रास ल्याउने कार्य समेत गर्दै आएको छ । हानिकारण प्लास्टिकको झोलाको प्रयोगको सट्टा जुट वा कपडाबाट बनाइएका पुनः प्रयोग गर्न मिल्ने झोलाको प्रयोग गरिनुपर्ने वन तथा वातावरणको क्षेत्रमा क्रियाशील मानसिंह भण्डारीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर