newskoseli.Com

सार्वजनिक भयाे पुनर्निर्माणको पाँचवर्षे कार्ययोजना

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसदमार्फत बिहीबार भूकम्प पुनर्निर्माणसम्बन्धी पाँच वर्षका लागि कार्ययोजना  सार्वजानिक गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस १० गतेदेखि कार्य सुरु गरेको थियो ।

प्रधानमन्त्री अाेलीले भूकम्पपश्चात पुनर्निर्माणसम्बन्धी स्पष्ट मार्गनिर्देशन कार्ययोजनाले प्रदान गरेको जानकारी दिए । उनले भूकम्पछिको विस्तृत अध्यययन प्रतिवेदन (पीडीएनए) को सट्टामा कार्ययोजना आएको होइन भने ।

भूकम्पपछि पुनर्निर्माणका लागि सरकारी, निजी दातृनिकायलाई स्पष्ट मार्गदर्शनका लागि कार्ययोजना ल्याइएको उनले स्पष्ट पारे । यसअघि पीडीएनएको प्रतिवेदनमा ६ खर्ब ९९ अर्ब रूपैयाँ लागत प्रक्षेपण गरिएकामा अहिले क्षतिग्रस्त घरधुरीको सङ्ख्या थप देखिएको र मन्त्रालयले समेत थप माग गरेका कारण रकम वृद्धि भएको प्रधानमन्त्री ओलीले बताए ।

उनले कार्ययोजनाले ८ सय ३८ अर्ब रूपैयाँ बराबरको रकम ५ वर्षका लागि विनियोजन गरेको जानकारी दिँदै दुई वर्षभित्रमा सबै आवास निर्माण गरिसक्ने गरी निजी आवासका लागि ६ खर्ब ४५ अर्ब, उत्पादन क्षेत्रमा १ खर्ब ६ अर्ब, प्रवर्द्धनात्मक खर्चमा ६१ अर्ब र अन्तरविनियोजनमा २६ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र सबै सांस्कृतिक तथा पुरातात्विक धरोहरको पुनर्निर्माण गरिसक्ने, तीन वर्षभित्र स्वास्थ्य चौकी, अस्पताल र सरकारी भवन निर्माण गरिसक्ने गरी कार्ययोजना आएको जानकारी दिए । उनले महत्वपूर्ण निर्माणका लागि आवश्यक नीति र संरचनागत व्यवस्था, आवश्यक बित्तीय व्यवस्थापनको मार्गनिर्देशन कार्ययोजनामा रहेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर