newskoseli.Com

डीडीसीले धुलो दूधको उत्पादन तेब्बर बढाउँदै

११ करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बढाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ ।

चैत महिनामा दूध सङ्कलन कम हुने भएकाले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ । “हाल २० हजार लिटर दूधबाट धुलो दूध उत्पादन भइरहेको छ”, प्रबन्धक सिम्खडाले भने– “यसबाट १ हजार ६ सय किलोग्राम धुलो दूध उत्पादन हुन्छ । कारखानाको विस्तार गरिएपछि थप ४० हजार लिटर दूधबाट धुलो दूध उत्पादन गर्न सकिनेछ । दैनिक ६० हजार लिटर दूधबाट ५ हजार किलोग्राम धुलो दूध उत्पादन गर्न सकिनेछ ।” धुलो दूध कारखानाको विस्तार गरिएपछि पूर्वका किसानले ‘मिल्क होलिडे’ को समस्या भोग्नु पर्दैन ।

प्रबन्धक सिम्खडाका अनुसार पूर्वक्षेत्रका किसानले जति दूध उत्पादन गरे पनि संस्थानले खरिद गर्नेछ । सो कारखानाबाट उत्पादित धुलो दूधको बजार काठमाडौं हो । टेन्डर भएर संस्थानको परिसरमा मेसिन आइसकेको प्रबन्धक सिम्खडाको भनाइ छ । सो मेसिन जडान गरेपछि दूध उत्पादन बढ्नेछ । हाल किसानबाट सङ्कलित ३० हजार लिटर दूध विराटनगरस्थित आयोजनामा आइरहेको छ । विराटनगरमा सङ्कलन गरिने दूधमध्ये ६० देखि ७० प्रतिशत इलामबाट आउँछ ।

यसबाहेक पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी र सप्तरीबाट पनि दूध सङ्कलन भइरहेको छ । यसरी पूर्वाञ्चल क्षेत्र दूध र दूधजन्य पदार्थमा आत्मनिर्भर रहेको सिम्खडाको भनाइ छ ।

धुलो दूध मात्र नभई विराटनगरस्थित आयोजनाले उत्पादन गर्ने घिउ र मक्खनको ७० प्रतिशत बजार पनि काठमाडौं नै हो । आयोजनाले दैनिक १ मेट्रिक टन मक्खन र त्यति नै मात्रामा घिउ उत्पादन गर्दै आएको छ ।

दिवंगत शैलजा आचार्य कृषिमन्त्री हुँदा संस्थानको विराटनगर कार्यालयस्थित परिसरमा सो कारखाना स्थापना गरिएको थियो । सो कारखानालाई वि.सं. २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर