newskoseli.Com

९ कक्षाका विद्यार्थीको आधुनिक प्रविधियुक्त च्याउखेती

लक्ष्मिनियाँ– ७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिक तर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउ उत्पादन गर्दै आएका छन् ।

विद्यालयमा कृषिविज्ञानतर्फ अध्ययनरत् ४८ विद्यार्थीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगद्वारा विद्यालयको एउटा अँध्यारो कोठामा परीक्षणका क्रममा सामूहिक रुपमा च्याउ उत्पादन गर्दै आएका हुन् ।

च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउका बीउको प्रयोग गरिरहेका छन् । धानको भुसलाई पानीमा उमालेर पोलिथिनको भाँडामा राखेर त्यसैमा च्याउको बीउ हालेर आधुनिक प्रविधिले च्याउ खेती गर्दै आएको ९ कक्षामा अध्ययनरत छात्रा निलु मोक्तानले बताइन् ।

च्याउ उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालयले बीउ उपलब्ध गराएको छात्र शिवकिरण महतोले बताए । छात्रा संरचनाकुमारी साहले ३० दिनमा पूर्णरुपमा तयार हुने सो च्याउ उत्पादनका लागि ३ हप्तासम्म अँध्यारो कोठामा राख्नुपर्ने बताइन् ।

९ कक्षाका ती विद्यार्थीलाई ६ समूहमा विभाजन गरेर प्रयोगात्मक विधिद्वारा शिक्षण गराउँदै आएको शिक्षक देवनारायण सिंहले बताए । यस विद्यालयकाे आफ्नै जग्गामा विद्यार्थीले काउली, आलु, गहुँलगायतका बाली समेत परीक्षणका रुपमा उत्पादन गर्दै आएका छन् ।

१२ कक्षासम्म अध्यापन हुने सो विद्यालयमा यसै वर्षदेखि प्राविधिकतर्फका कृषिविज्ञान विषयकाे ३ वर्षे कक्षा सञ्चालन गर्दै आएको प्रधानाध्यापक राजकिशोर सिंहले जानकारी दिए । कृषि विषय अध्ययनका निम्ति जिल्लाका विभिन्न स्थानका साथै धनुषा र सर्लाहीका विद्यार्थी समेत यहाँ आउने गरेको विद्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर