newskoseli.Com

उत्पादन बिक्री नहुँदा किसान मारमा

खगेनकोट–६ का हरिबहादुर खत्रीको घरमा २ वर्ष अगाडी उत्पादन भएको मकै थन्किएको छ । सस्तो मूल्यमै बिक्री गर्न चाहे पनि उनको मकै बिक्री भएको छैन । ३ वर्षदेखि आफूले दुःख गरी उत्पादन गरेको मकै बिक्री नहुँदा उनले अब मकैभन्दा अरु रोप्ने योजनामा पुग्नुभएको छ । मकै बिक्री नहुँदा भण्डारण गरिराखेको अधिकांश किराले खाइसकेको उनले बताए । अब पशु चौपायालाई खुवाउने उनको योजना छ । सस्तो मूल्यमा बेच्न खोज्दा पनि भएजति मकै बिक्री नभएको उनले बताए ।

यस्तै खगेनकोट–६ का विष्णुकुमारी खत्रीको घरमा पनि २ वर्षदेखिको मकै थन्किएको छ । पहिले पहिले यातायात नचल्दा घोडा, खच्चडलाई दानाका रुपमा प्रयोग हुँदा मकैको उचित मूल्य पाइने गरेको उनले बताए। अहिले यातायातका साधन सञ्चालनमा आएपछि मकै बिक्री गर्न समस्या हुने गरेको छ । “उत्पादनले बजार पाउँदैन,” खत्रीले भने। विसं २०७० मा एक पाथी मकै १ सयमा बिक्री गर्नुभएका उनले २०७२ मा  ८० मा धौ धौ बिक्री गर्नुभयो । यस वर्ष मकैको मूल्य प्रतिपाथी ७० मा झरेको छ । ३ वर्षको अवधिमा एकपाथी मकैको मूल्य  ३० घटेपछि किसान मारमा परेका छन् ।

“घटेको मूल्यमा समेत मकै सजिलै बिक्री हुन सकेको छैन,” उनले भने । विष्णु र हरिमात्र होइन, जिल्लाका अधिकांश किसानलाई मकै, गहुँ, धानलगायत उत्पादन उचित मूल्य नपाउँदा बिक्री गर्न समस्या भएको छ । गहुँ र धान प्रतिपाथी १ सयमा बिक्री भइरहेको छ । यो ३ वर्षअघिकै मूल्य हो । गाउँ गाउँमा विस्तार भएको बजारका कारण किसानका खाद्य उत्पादन बिक्रीमा समस्या भएको हो । विस्तारित बजारमा बजारबाट आयातित खाद्य सामग्री पुगेपछि किसान मारमा परेका छन् । मकै र गहुँ गाउँमा किन्नै छाडेका छन् ।

पहिले पहिले घोडा, खच्चडका लागि भए पनि मकै खरिद गर्न आउनेहरू पछिल्लो समय घोडा, खच्चड नचल्दा आउन छाडिसकेका छन् । सडक विस्तारसँगै घोडा, खच्चड विस्थापित भइसकेका छन् । उत्पादनका लागि धेरै दुःख गर्नुपर्ने र मूल्य नपाउँदा समस्या भएको नायकवाडा–७ का जनकबहादुर शाही बताउनुहुन्छ । मकै बिक्री हुन नसकेपछि उनले तरकारीखेती गर्ने योजनामा हुन्छ ।

जिल्लामा अन्य खाद्यान्न बाली भन्दा मकै बढी उत्पादन हुन्छ । जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा गत वर्ष १६ हजार ९६५ मेट्रिक टन मकै उत्पादन भएको थियो भने १४ हजार १३० हेक्टरमा मकै खेती गरिएको थियो । त्यसैगरी३  हजार ६२ हेक्टरमा गरिएको धान खेतीबाट ६ हजार १८० टन उत्पादन भएको थियो । यस्तै १३ हजार ७७२ हेक्टरमा गरिएको गहुँ खेतीबाट १४ हजार ३०० टन उत्पादन भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर