newskoseli.Com

क्रमशः लोप हुँदैछन् माटाका भाँडा

परम्परादेखि चलनचल्तीमा रहँदै अाएका हातले कुँदिएका कलात्मक माटाका भाँडा लोप हुँदै जान थालेका छन् । माटाकै भाँडा बनाएर राम्रो पहिचान बनाउँदै आएका कुमाल समुदायले निर्माण गर्ने परम्परागत हाँडी, घैंटा, चिलिम, पाला, खुत्रुकेलगायतका भाँडा अहिले पाइन छाडेका छन् ।

आधुनिक मानिने प्लास्टिकका भाँडाको प्रयोग बढ्दै गएकाले घरायसी उपयोगका लागि प्रयोग हुँदै आएका माटाका भाँडाको चलन घट्दै जाँदा कुमालेको पेसा नै धरापमा पर्ने स्थिति अाएको हो ।

रामपुर–१५ गेझाका तल्लो र माथिल्लो गाउँ नै कुमाल समुदायले ढाकेको छ । यिनीहरुले विगतमा माटाका भाँडा बनाएर जीविकोपार्जन गरे पनि अहिले सो पेसा नै लोप हुँदै गएको स्थानीय दामोदर तिमिल्सिनाले बताए ।

यहाँका ३ सय घरपरिवारमध्ये अहिले दुई–चार घरपरिवारले मात्र माटाको भाँडा बनाउने काम गर्छन् । बजारको अभाव र गाउँमा उत्पादित माटाको भाँडाका सट्टा प्लास्टिक र स्टिलका भाँडाका प्रयोग बढ्दै जाँदा पेसा नै लोप हुने अवस्थामा पुगेको महेन्द्र कुमालले गुनासो गरे । परम्परा जोगाउनका लागि उनले अझै पनि माटाका भाँडा बनाउँछन् । “हाँडी, घैंटो, खुत्रुके लगायतका माटाका भाँडा बनाए पनि बिक्री गर्न बजारको समस्या छ”– कुमालले भने ।

यहाँ उत्पादित हाँडी, घैंटोको आकार हेरी २ सयदेखि ५ सय रूपैयाँसम्म मूल्य पर्ने गरेको अर्का व्यावसायी मनबहादुर कुमालले बताए । लागतअनुसारको मूल्य पनि पाइँदैन, हिजोआज माटाको भाँडा कमैले मात्र खरिद गर्ने गरेका छन् । जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटाको भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले लोप हुँदै जान थालेका छन् ।

वर्षौंदेखि गर्दै आएको पेसा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले चौकीदारी र मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । कुमाल जातिको पेसा संरक्षणका लागि सरकारी तवरबाट कुनै पहल नहुँदा सामग्री उत्पादन भए पनि बजार अभावका कारण उनीहरुको पेसा सङ्कटमा परेको हो । सस्तो र हल्का खालका प्लास्टिकका भाँडा गाउँगाउँसम्म पुग्न थालेपछि पेसा नै लोप हुँदै गएको कुमालजाति बताउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर