newskoseli.Com

ढकमक्क गुराँस र रमणीय रुइसे–भेडीओढार !

सदरमुकाम बेनीदेखि एक बिहानको पैदल दुरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यले सुसज्जित छ । भर्जिन (नयाँ) पदमार्गका रुपमा परिचित धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको यो क्षेत्रको जङ्गलमा फागुनको सुरुवातसँगै फुलेका राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आकर्षित गरिरहेको छ ।

समुद्री सतहदेखि २ हजार ५ सय ३० मिटर उचाइमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोला गाविसको सीमा क्षेत्रलाई समेटेको रुइसे–भेडीओढारबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । पूर्वमा माछापुच्छ्रेदेखि अन्नपूर्ण, नीलगिरि, धौलागिरि तथा पश्चिममा गुर्जा हुँदै चुरेन हिमालको मनमोहक दन्तेलहर हिमाललाई नजिकबाट नियाल्न पाउनु यस क्षेत्रको प्रमुख विशेषता हो ।

यो क्षेत्र यतिबेला जङ्गलमा फुलेका राताम्मे गुराँस फूलले थप सुसज्जित छ । धौलागिरि आइसफल पदमार्गको दायाँबायाँका जङ्गल गुराँस फुलेसँगै राताम्मे छन् । विशेषगरी रुइसे–भेडीओढारसम्म स्थानीयवासी पुग्ने गरे पनि आवश्यक प्रचारप्रसारको अभावमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रुइसे–भेडिओढार क्षेत्र अहिले पनि पर्यटकको पर्खाइमा छ ।

रुइसे र भेडीओढार क्षेत्रमा रहेका भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिने गर्छन् भने चरनक्षेत्रमा रहेका भेडाबाख्राको दृश्य पर्यटकका लागि पनि आकर्षण बन्ने गरेको पाइन्छ । अग्ला पहाडमा हरियाली जङ्गलले सुसज्जित रुइसे क्षेत्र दन्तेलहर जस्तै देखिने आधा दर्जनभन्दा बढी हिमशृङ्खलाको दृश्य अवलोकन र गुराँसे जङ्गलमा रमाउनका लागि आकर्षक रहेको रुइसे–भेडिओढार पर्यटन विकास समितिका अध्यक्ष देवेन्द्र केसीले बताए ।

५ वर्षअगाडि टान, पोखराको नेतृत्वमा धौलागिरि आइसफल पदमार्गको पहिचान गरेपछि रुइसे क्षेत्रका बारेमा प्रचारप्रसार हुन थालेको हो । म्याग्दीको गलेश्वरदेखि सुरु हुने धौलागिरि आइसफल पदमार्ग पिप्ले, भगवती, दग्नाम, बेगखोला, चिमखोला, दाना, कुइनेमङ्गलेको लेक हुँदै मुस्ताङको लेते पुगेर टुङ्गिन्छ । पदमार्गको पहिचान भएपश्चात् यस क्षेत्रमा अहिले पर्यटन पूर्वाधारको विकास भइरहेको छ ।

३ वर्षअगाडि भगवती र पिप्लेका सरोकारवालाले रुइसे–भेडीओढार पर्यटन विकास समिति गठन गरेर यस क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । गत वर्ष जिविसको आर्थिक सहयोगमा रुइसेको रिवाङचौरमा जग्गा सम्याउने काम गरिएको र यो वर्ष नै विभिन्न क्षेत्रबाट सहयोग जुटाएर त्यसमा सामुदायिक लज निर्माण गर्ने योजना बनाएको समितिका अध्यक्ष केसीले बताए ।

Gurans2उनका अनुसार पदमार्गको नक्साङ्कन, पर्यटक बास बस्ने ठाउँमा क्याम्पिङ साइट निर्माण, खानेपानीको सुविधा विस्तारजस्ता महत्वपूर्ण पूर्वाधार निर्माणको काम सम्पन्न गर्नका लागि बजेट अभाव भएको छ । गलेश्वर हुँदै सुरु हुने उक्त पदमार्गका लागि यो वर्ष पर्यटन मन्त्रालयले १० लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको छ भने धौलागिरि आइसफल पदमार्गलाई समेत छुट्टै १० लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।

भेडीओढारसम्म पुग्नका लागि पहिले स्थानीयवासीले जङ्गल जाँदा प्रयोग गर्दै आएको बाटोलाई नै मर्मत गरिएको छ भने त्यसलाई अझै व्यवस्थित बनाउने समितिको तयारी छ । “पहिले रुइसे क्षेत्र दाउरा घाँस र वस्तुभाउको गोठ राख्ने थलोका रुपमा चिनिन्थ्यो, धौलागिरि आइसफल पदमार्ग पहिचान भएपछि महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ, अहिले प्रचार–प्रसारले समेत गति लिन थालेपछि हामी उत्साहित भएका छाैं”– भगवती– ८ सिजलगाउँका स्थानीय युवा हरि भण्डारीले भने ।

उनले बेनी–जोमसोम पदमार्गमा सडक सञ्जाल विस्तार भएसँगै म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले धुलो, सास्ती र पदमार्गको अभाव खेपिरहेको अवस्थामा रुइसे हुँदै लेते निस्कने धौलागिरि आइसफल पदमार्गलाई सञ्चालनमा ल्याउन सके वैकल्पिक र उत्कृष्ट पदमार्गका रुपमा विकास गर्न सकिने बताए । मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण भेडीओढार क्षेत्रबाट म्याग्दी, बागलुङ र पर्वतका विभिन्न स्थानहरुलाई एकैठाउँबाट अबलोकन गर्न सकिन्छ भने यसक्षेत्रबाट बिहानीको सूर्योदयको दृश्य मनमोहक देखिन्छ ।

पूर्वको माछापुच्छ्रे नजिकबाट उदाएको सूर्यका किरण पश्चिममा रहेको धौलागिरि, चुरेन र गुर्जा हिमालमा ठोक्किँदा मुस्कुराउँदो हिमालको लोभलाग्दो दृश्यावलोकन गर्न पाउँदा त्यहाँ पुग्ने जो कसैको मन फुरुङ्ग हुने रुइसे–भेडीओढार पर्यटन विकास समितिका सदस्य रिम मल्लले बताए । उनका अनुसार भगवतीसम्म यातायात सहज गराउन सके सडक र पदयात्रा दुवैमार्फत पर्याप्त पर्यटक भित्र्याउन सकिने सम्भावना छ ।

भगवतीको सिजलगाउँ र साझापानी वस्तीदेखि माथि थाप्लोमा घनाजङ्गल, पहाडी भूबनोट र ठूला घाँसेमैदान रहेको रुइसे भेडीओढार क्षेत्रसँग पिप्ले, बेगखोला र दग्नाम गाविससमेत जोडिएकाले यो क्षेत्रको पर्यटन विकास गर्न सकेमा अहिले घोषणा गरिएको रघुगङ्गा गाउँपालिका क्षेत्रकै विकासमा महत्वपूर्ण टेवा पुग्ने सम्भावना रहेको हालै रुइसे क्षेत्रको भ्रमणमा पुगेका स्थानीयवासी विनोद केसीको भनाइ छ ।

विशेषगरी भगवती, कलेजाबाङ, सिजलगाउँ, साझपानी र बेगखोलामा होमस्टे र रुइसेमा सामुदायिक लज निर्माण गर्नुपर्नेछ भने भगवती हुँदै रुइसेको डिलसम्म पुगेको सडकलाई स्तरोन्नति गरी सहजरुपमा यातायातका साधन आवतजावत गर्न सक्ने बनाउनुपर्ने देखिन्छ । भेडीओढारमा ठूलो चट्टाने प्राकृतिक भ्युटावरबाट देखिने सूर्योदयको मनमोहक दृश्यको अवलोकन गर्न सकिने यो क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक दृष्टिकोणमा समेत महत्वपूर्ण मानिन्छ ।

जिल्लाकै पुरानो कोटमन्दिरका रुपमा चिनिने भगवती कोट मन्दिरसँगै भूमे मन्दिर, नौली बराह, देउराली मन्दिर लगायतका धार्मिकस्थल रहेकाले यस क्षेत्र धार्मिकरुपमा समेत महत्वपूर्ण रहेको भगवतीका अगुवा देवेन्द्रबहादुर मल्ल बताउँछन् । नौलीबराह नजिकै रहेको एक ढुङ्गाको खोप्टीमा कहिल्यै नसुक्ने पानीले सबैलाई आश्चर्यमा पार्ने गरेको छ ।

बार्इसे–चौबीसे राज्यका पालामा तत्कालीन राजाले राज्य गरेको रुइसेमा तत्कालीन राजाले हात्ती बाँध्ने स्थान, पानीखाने कुवा, राजाका सहयोगीले आराम गर्ने स्थान लगायतका अवशेष छन् । यस क्षेत्रमा रहेका प्राचीन सम्पदाको खोजी गर्न सकेमा यस क्षेत्रको पर्यटन विकासले थप गति लिने स्थानीयवासीको भनाइ छ ।

गलेश्वर हुँदै पदयात्रामार्फत साढे १ घन्टामै भगवती पुग्न सकिने र त्यहाँबाट केही समयमै रुइसे भेडिओढार क्षेत्रमा पुग्न सकिने भएकाले १ दिनको पदयात्राका लागि उत्कृष्ट पर्यटकीय गन्तव्यको खोजीमा रहेका पर्यटकका लागि यस क्षेत्रमा भम्रण गर्नु उत्तम हुने भगवतीका अगुवा रिम कटुवाल बताउँछन् ।

भगवतीको सिजलगाउँ र साझापानी तथा पिप्लेको कलेजाबाङ र अक्षताबाट पनि रुइसे सजिलैसँग पुगिन्छ । पदयात्राका लागि गलेश्वरबाट पिप्ले, भगवती हुँदै रुईसे पुगेर कलेजाबाङ–मौवाफाँट र अर्कोतर्फ बेगखोला हुँदै फर्कन पनि सकिन्छ । त्यसका लागि पदमार्ग लगायतका पूर्वाधार निर्माण अत्यावश्यक देखिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर