newskoseli.Com

जाग्दैछन् मुसहर किशोरकिशोरी

“सुनलही माय, आब जल्दिए चुनाव होतौ” (सुन्नुभयो आमा, अब चाँडै चुनाव हुन्छ रे) ध्यानपूर्वक रेडियो कानसम्मै पुर्‍याएर सुनिरहेकी महोत्तरी बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीकी १३ वर्षीया किशोरी ऐसा सादाले आफ्नी आमासँग भनिन् ।

देश दुनियाँको त कुरै छाडौँ, आफ्नै हक अधिकारबारे पूरै बेखबर रहने मुसहर समुदायमा अब पछिल्लो पुस्ताले आम चासोका विषयमा कुरा गर्नेमा अब ऐसा सादामात्र भने होइनन् । यस बस्तीका किशोरवयका सबैजसो नानी अब रेडियो सुन्ने, सुनिएका कुरा परिवारलाई बताउने र आफ्नो समुदायबारे चासो राख्ने जोसुकैसँग नजिकिएर कुराकानी गर्न खप्पिस हुँदै गएको देखिँदै छ ।

शनिबार मात्र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (एकोराब) का अध्यक्ष सुवास खतिवडासहितको टोलीले यस बस्तीका ५० घरपरिवारलाई रेडियो वितरण गर्‍यो । यसअघि पनि घरछिमेकमा पुगेर रेडियो सुन्ने र टिभी हेर्ने गरेका बस्तीका किशोर अवश्थाका नानीहरु रेडियो हात पर्नासाथ बजाउन थालेका देखिएका थिए । “अपनासब् लेल घर बनायरहल धुर्मुस–सुन्तलीके अमेरिका आ कोरिया स रकम भेट्लैय” (हाम्रा लागि घर बनाइरहेका धुर्मुस–सुन्तलीलाई अमेरिका र कोरियाबाट रकम प्राप्त भएको छ) रेडियोमा समाचार सुनिरहेकी बस्तीकै अर्की १४ वर्षीया किशोरी आरती सादाले समारोहमा धेरैजसोले सुन्ने गरेकाे बताइन् ।

बस्तीका नयाँ पुस्तामा देखिएको आमसञ्चारप्रतिको आकर्षण र तिनले आफ्ना बाबुआमालाई रेडियोले भनेका खबर सुनाउँदा पुराना पुस्तामा देखिने सन्तोष भावले बस्ती निर्माणमा जुटेका धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) पनि दङ्ग देखिएका छन् । “हामी गत वर्ष हिउँदमा पहिलो पटक आउँदा नाङ्गैभुतुङ्गै भएर नाकभरि सिङ्गानको लत्को देखिने नानीहरु अब देश र दुनियाँका कुरा गर्न लागेका छन्,” धुर्मुसले आँखाका डिलभरि खुसीले उच्छालिएका आँसु पुछ्दै भने– “बस्तीका ७० भन्दा बढी नानी विद्यालय जान थालेका छन्, हामी सन्तोष गर्न सक्छौँ, हाम्रो प्रयत्नले मुसहर फेरिँदो छन् ।”

धुर्मुस–सुन्तलीको बस्ती प्रवेशले मुसहरका लागि पक्की घरमात्र नभएर उनीहरुको शैक्षिक, सामाजिक र नागरिक हकअधिकारबारेको सचेतनासमेत बढेको यस बस्तीलाई नजिकबाट नियाली रहनुभएका पत्रकार एवम् सामाजिक अभियन्ता राजकरण महतोको निष्कर्ष छ । “राज्यबाट पाउनुपर्ने सेवा सुविधा र सामाजिक बेवास्ताबारे पूरै बेखबर रहने मुसहर अब आफ्ना हकअधिकारबारे चासो राख्न थालेका छन्,” पत्रकार महतोले भने–, “बस्तीका ७० भन्दा बढी बालबालिका आफ्ना अभिभावकको स्वीकृतिमै विद्यालय जाँदैछन् । यसले शिक्षाको महत्वबारे मुसहरमा चासो बढेको देखाउँछ ।”

पुस्तौँपुस्तादेखि दिउँसो घामको राप छिर्ने र राति आकाशका तारा देखिने पराले झोपडीभित्र जीवन गुजार्दै आएका यहाँका ५० घरपरिवार मुसहरका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले अहिले बस्ती निर्माण गरिरहेको छ । अब दुई सातापछि नै मुसहर नयाँ घरमा सर्ने तरखरमा छन् ।

सधैँ पराले झोपडीमा जीवन गुजारेका मुसहरका लागि अहिले निर्माणको अन्तिम चरणमा पुगेका सडक, बिजुली, खानेपानी र शौचालय सुविधासहितका पक्की घर ओतको दह्रो प्रबन्धमात्र नभएर मन परिवर्तनको समेत ठाउँ बनेको छ ।

हिउँद यता बराबर धुर्मुस–सुन्तलीको सङ्गत, प्रेरणा र उठबस पाएका मुसहर अब समाजमा आइपर्ने सबैजसो सामाजिक कामका मुख्य हिस्सेदार बन्न थालेका बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्की बताउछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर