newskoseli.Com

पत्रकार महासंघ काठमाडौंमा ‘मनपरी’, क्रान्तिकारी महासंघको आपत्ति

नेपाल पत्रकार महासंघ काठमाडौं र ललितपुरका जिल्ला अधिवेशन व्यापक विवादमा परेका छन् । यी दुई जिल्ला शाखाहरुको चुनाव, कथित सहमति र पार्षद चयन प्रक्रियामा कहींकतै पनि पत्रकारिता पेशाको मर्यांदा र गरिमा झल्केको देखिएन । अत्यन्तै जालझेलपूर्ण, तिकडमबाजीयुक्त र संसदीय फोहोरी राजनीतिको भद्दा प्रहसन नेपाल पत्रकार महासंघ काठमाडौं र ललितपुर जिल्ला अधिवेशन तथा पार्षद चयन प्रक्रियामा प्रदर्शन भयो ।

यो प्रक्रियाप्रति विभिन्न तौरतरिकाबाट आम पत्रकारले विरोध र आपत्ति प्रकट गरिरहेका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी पत्रकार महासंघले भने औपचारिक तवरबाटै पत्रकार महासंघमा देखिएको संसदीय राजनीतिको प्रतिबिम्बनप्रति आपत्ति जनाएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै क्रान्तिकारी महासंघका अध्यक्ष इन्द्र राउतले लेखेका छन्– ‘वैशाख ८–१० मा सम्पन्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको दसौं अधिवेशनमा हाम्रो संगठनका महासचिव केशरमणि कटुवाल र काठमाडौं जिल्ला संयोजक रामचन्द्र हुमागाईंले शाखाले तय गरेको प्रक्रिया पूरा गरेर केन्द्रीय पार्षद्का लागि उम्मेदवारी दिएकोमा निर्वाचन समितिले उहाँहरुको नाम प्रदेश पार्षद्को सूचीमा प्रकाशित गरेको पाइयो । यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो संगठनको अस्तित्वमाथि धावा बोलिएको अर्थमा हाम्रो संगठन यसको कडा शब्दमा निन्दा एवम् भर्त्सना गर्दछ र यो निर्णयलाई खारेज गर्दछ ।’

अध्यक्ष राउतले अगाडि लेखेका छन्– ‘नेपाल पत्रकार महासंघको साझा चरित्रलाई धुलिसात् पार्दै एकाध संगठनको वर्चश्व स्थापित हुने गरी महासंघको विधि र विधानविपरीत निर्वाचन समिति र महासंघको नेतृत्वले प्रदर्शन गरेको स्वेच्छाचारिता र निर्लज्जताले हाम्रो संगठनलाई निकै गम्भीर बनाएको छ । यो सामान्य र अन्जानवश भएको कमजोरी नभई नियोजित रुपमा नेपाल पत्रकार महासंघभित्र हुर्किरहेको फासिवादी, निरंकुश र निषेधकारी प्रवृत्ति बोकेका सिन्डिकेटवाला ‘बीचौलिया’ हरुको व्यवहारको अभिव्यक्ति हो । यो प्रवृत्तिले नेपाल पत्रकार महासंघलाई आम श्रमजीवी पत्रकारहरुका बीचमा मात्रै होइन, सिंगो नागरिक समाजमा बदनाम र घृणित तुल्याएको छ । तसर्थ, यो प्रवृत्तिका विरुद्ध लड्न आम श्रमजीवी पत्रकार र क्रान्तिकारी पत्रकारहरुमा हाम्रो संगठन अपिल समेत गर्दछ ।’

सरोकारवालाहरुलाई चेतावनी दिँदै विज्ञप्तिको अन्त्यमा राउतले लेखेका छन्– ‘आफ्नो कमजोरी सार्वजनिक रुपमा स्वीकार गर्दै २४ घन्टाभित्र काठमाडौं अधिवेशनको निर्वाचन समिति र नेपाल पत्रकार महासंघको नेतृत्वले यस घटनाको चित्तबुझ्दो जवाफ देओस् । त्यसो गर्न नसके तत्काल निर्वाचनका सबै परिणाम खारेज गर्दै महासंघको विधि र विधानअनुसार पुनः निर्वाचनको घोषणा गरोस् । अन्यथा, हाम्रो संगठन यो प्रवृत्तिका विरुद्ध जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावानी दिन चाहन्छ । त्यसबाट उत्पन्न परिणामको जिम्मेवार र जवाफदेही स्वयम् निर्वाचन समिति, पत्रकार महासंघको जिल्ला–केन्द्रीय नेतृत्व र सिन्डिकेटवाला संगठन हुनेछन् ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर