newskoseli.Com

भलिबल बन्यो ‘राष्ट्रिय खेल’ : कतै उत्साह, कतै असन्तोष !

मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ ।

करिव तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डीबियोलाई पछि पार्दै राष्ट्रिय खेलको मान्यता पाउन सफल भएको हो ।

लामो समयको अध्ययन एवम् विश्लेषणपछि युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको हो । विश्वखेलमञ्चमा फुटबल र क्रिकेटको ‘क्रेज’ अत्यधिक रहेका बेला सरकारले भलिबललाई राष्ट्रिय खेल बनाएपछि खेल सङ्घका कतिपय पदाधिकारीले सरकारको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

तर, खेलकुद मन्त्रालयका उपसचिव रत्नबहादुर कटुवालले भने मुलुकको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी, पहुँचलगायतलाई आधार मानी भलिबललाई राष्ट्रिय खेल बनाएको दावी गरेका छन् । मन्त्रालय स्रोतका अनुसार भलिबल खेलको लोकप्रियता र सर्वसुलभतालाई पनि छनोटमा आधार मानिएको छ ।

देशको पहिचान, एकता, राष्ट्रियताको संरक्षणमा योगदान हुने मात्र हैन, मुलुकको राष्ट्रिय खेल निर्धारण नभएर उत्पन्न रिक्तताको अन्त्य गर्न र जनमानसमा एकताको सङ्केत दिनु समेत जरुरी भएकाले तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले २०७१ पुस ४ मा मन्त्रालय अन्तर्गतको खेलकुद महाशाखाका सहसचिव संयोजक, राष्ट्रिय खेलकुद परिषद्, प्रतियोगिता तथा योजना शाखाका प्रमुख सदस्य र खेलकुद विकास शाखाका प्रमुख सदस्य रहने गरी तीन सदस्यीय राष्ट्रिय खेल छनोट तथा सिफारिस समिति गठन गरेका थिए ।

उनका अनुसार उक्त समितिले तोकिएको समयसीमा (२५ दिन) भित्र पहुँच, शारीरिक बनावट र अवस्था, आत्मरक्षा, आत्मसम्मान र राष्ट्रिय गौरव, क्षमता, अनुशासन र सम्भाव्यता, सहयोग र सहकार्य, पदक प्राप्ति, अवस्था विश्लेषण तथा कला र रणनीतिका आधारमा विभिन्न १३ वटा खेललार्इ राष्ट्रिय खेल बनाउन सकिने सिफारिस गरेको थियो ।

प्राथमिकताका आधारमा ती खेलमा १ देखि १३ सम्म क्रमशः भलिबल, तेक्वान्दो, कबड्डी, क्रिकेट, एथलेटिक्स, बाघचाल, फुटबल, कराँते, डण्डीबियो, उसु, बक्सिङ, जुडो र बास्केटबललाई सिफारिस गरिएको थियो । समितिले सिफारिस गर्ने क्रममा हुलाक, राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन, अन्तर्क्रिया, संस्थागत रायसुझाव माग्नुका साथै जनमतलाई समेत आधार मानेर उक्त सिफारिस गरेको थियो ।

सिफारिस भएका खेलमध्ये मन्त्रालयले विभिन्न चरणमा छलफलपछि भलिबल, कबड्डी र उसुमध्ये एक खेललाई राष्ट्रिय खेल बनाउन सकिने प्रस्ताव मन्त्रिपरिषदमा पठाए पनि त्यतिबेला निर्णय हुन सकेको थिएन । तर, तीन वर्षपछि खेलकुदमन्त्री दलजित श्रीपाइलीको पहलमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइएको हो ।

मन्त्रालय स्रोतका अनुसार यसअघि लिखित रुपमा कुनै पनि खेललाई सरकारले आधिकारिक रुपमा राष्ट्रिय खेलको मान्यता दिएको थिएन । अन्तर्राष्ट्रिय प्रचलनअनुसार एउटा राष्ट्रिय खेल अपरिहार्य भएकाले पनि अहिलेको निर्णय गरिएको मन्त्रालयको भनाइ छ । मन्त्री श्रीपाइलीले यसअघि पटक पटक भलिबललाई राष्ट्रिय खेलको मान्यता दिलाउन आफूले सक्दो प्रयास गर्ने बताउँदै आएका थिए । कतिपयले डण्डीबियो र कबड्डीलाई नेपालको राष्ट्रिय खेलका रुपमा बुझ्दै आएका भए पनि यो सबैलाई स्वीकार्य थिएन ।

Volleyball1

अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाएको चार दशकपछि केही महिनाअघि पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्न सफल भलिबल आन्तरिक रुपमा सबैभन्दा बलियो सङ्गठन भएको खेल हो । भलिबलको सबै जिल्लामा सङ्घ छ । यसले पनि भलिबललाई राष्ट्रिय खेलको मान्यता पाउन मद्दत पुगेको देखिन्छ ।

नेपालको राष्ट्रिय खेल कुन हो ? सामान्य ज्ञानका पुस्तकमा कबड्डी र डण्डीबियोलाई राष्ट्रिय खेल उल्लेख गर्ने गरिए पनि यो आधिकारिक थिएन । सोमबारको निर्णयसँगै अब राष्ट्रिय खेल भलिबल बनेको छ । नेपालमा फुटबल, क्रिकेट र भलिबल सबैभन्दा लोकप्रिय खेल मानिन्छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव युवराज लामाको समयमा कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने बहस सुरु भएको थियो ।

त्यतिबेलाको बहसबारे लामाले भने– “बहस भए पनि त्यतिबेला निर्णयमा पुग्न सकिएन । अहिले सरकारले गरेको निर्णय स्वागतयोग्य छ ।” नेपाल भलिबल सङ्घका तत्कालीन अध्यक्ष दानबहादुर तामाङको नेतृत्वमा रहेको कार्यसमितिले भलिबललाई राष्ट्रिय खेल बनाइनुपर्ने मागसहित हस्ताक्षर सङ्कलन गरी सुझाव दिएको थियो ।

मन्त्रालयका एक उपसचिव भन्छन्– “अरु खेलकुदका सङ्घहरुले खासै चासो देखाएनन् तर भलिबल सङ्घले निरन्तर प्रयास गरिरह्यो जसले गर्दा यो निर्णयमा पुग्न केही दबाब सिर्जना गर्‍यो ।”

अमूल्य रत्न पायौं : शर्मा

नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले सरकारको निर्णयको स्वागत गर्दै यसबाट भलिबल खेलको विकासमा थप ऊर्जा मिलेको बताएका छन् ।  “सरकारले हामीलाई अमूल्य रत्न सुम्पेको छ । त्यसलाई हिलोमा फाल्ने या कोहिनुर–डाइमन्ड बनाउने ? जिम्मेवारी हाम्रै काँधमा आएको छ”, उनले भने– “पूर्वाधार विकास र व्यावसायिक खेलाडीको उत्पादन गर्नु अहिलेको मुख्य चुनौती हो । त्यसका लागि आवश्यक सहयोग राखेप र मन्त्रालयबाट उपलब्ध हुनेमा आशावादी छौं ।”

अध्यक्ष शर्माले सङ्घ स्थापना भएको करिव ४४ वर्षपछि राष्ट्रिय खेलको मान्यता पाउनु सबै नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरे । भलिबलले राष्ट्रिय खेलको मान्यता पाएसँगै सङ्घमा चुनौती थपिएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले बताए । “राष्ट्रिय खेलको दर्जा दिइएपछि त्यसअनुरुप खेलको गौरव राख्न सरकारबाट आवश्यक सहयोग हुने आशा हामीले राखेका छौं”– महासचिव चन्दले भने ।

भलिबलले राष्ट्रिय खेलको मान्यता पाएसँगै यसको थप विकास गर्न र व्यावसायिक बनाउन सरकारले वार्षिक रुपमा उपलब्ध गराउँदै आएको ११ लाख रूपैयाँ अनुदानमा समेत वृद्धि गर्नुपर्ने चन्दको माग छ । उनी भन्छन्– “राष्ट्रिय खेलको सम्मान बढाउन अब योजनासँगै लगानी भित्र्याउनु पनि उत्तिकै जरुरी छ ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर