newskoseli.Com

नागरिकको हुर्मत लिँदैछ राज्य : ‘बाटो काटेको’ बहानामा एकै दिन साढे ३ हजारमाथि ‘कारबाही’ !

राज्य आफू जति असभ्य, असहिष्णु, विवेकहीन, भ्रष्ट र उत्ताउलो छ, त्यसको सोझो मार राष्ट्र र नागरिकमाथि थोपरिरहेको छ । कहिले व्यस्त सडकमा सवारीका हर्न नबजाऊ भन्छ त कहिले खाली र खुला सडक र गल्लीमा समेत बाटो नकाट भन्छ ।

तर, सडकको स्तरोन्नति, जनचेतनाको अभिवृद्धि र नम्र एवं शिष्ट ढंगले सोझासिधालार्इ नीति र विधि सिकाउने जमर्को चाहिँ राज्य र यसका संयन्त्रहरूले कहिल्यै गर्दैनन् । गरिखाने श्रमजीवीको पूरै दिनभरको समय बर्बाद गराउने अनि राजश्वका नाममा सयौं रूपैयाँ ठगेर उनीहरूको इज्जत समेतमा दख्खल पुर्‍याउने अनेकौं स्वरूपका हर्कत थपिरहन्छन् । जनसरोकारका दैनिक कामकाज हुने ठाउँमा निर्लज्ज ढंगले खुलेआम दलाल र माफियाहरूलार्इ ठग्न दिएर रमिता हेरिरहेको राज्य प्रशासन दिनहुँजसो नयाँनयाँ बहाना थप्दै नागरिकलार्इ ठग्न  र लुट्न व्यस्त छ ।

भर्खरै जारी गरिएको जंगली उर्दीका भरमा मंगलबार बिहानैदेखि राज्यले राजधानीका सडकमा खडा भएर नागरिकको हुर्मत लिन थालेको छ । जताततै खाल्डैखाल्डा र दुर्इतिहाइ भाग आसपासका घरवाला तथा सडक व्यापारीहरूले ओगटेको निसास्सिँदो सडकका अधिकांश भागमा पैदलयात्रुले सडक पार गर्ने जेब्राक्रसिङ र त्यसको मार्किङ छैनन् । कतै कतै भएका मार्किङ पनि पुछिएर र छोपिएर नदेखिने भएका छन् । नयाँ उर्दी जारी गरेपछि त्यसबारे पर्याप्त जनचेतना जगाउने कार्यक्रम र प्रचारप्रसार पनि गरिँदैन । बरू राज्यको सुरक्षासंयन्त्रका जागिरे कतै किनारामा लुकेर ढुक्छन् अनि सोझासिधा नागरिकलार्इ एम्बुसमा पारेझैं गरी जंगली पाराले झम्टिन्छन् । हो, यही कुरूपताको भद्दा नमूना देखियो मंगलबार राजधानीका विभिन्न ठाउँमा ।

ट्राफिक नियमविपरीत बाटो काटेको भन्दै मंगलबार एकै दिन राजधानीमा ३ हजार ३ सय ४८ जना पैदलयात्रुलार्इ ठूलै चोर भेटिएझैं गरी सुरक्षाकर्मीले बडो अभद्रतापूर्वक झम्टे, नागरिकको कठालो समाते अनि भ्यानभित्र कोचे ।

मंगलबारदेखि नै लागू गरिएको भनिएको जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने वा जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने घोषणा अनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले दावी गरेका छन् । उनले भने– “कारबाहीमा परेकामध्ये २ हजार १ सय २० जनाले २ सय रूपैयाँका दरले जरिवाना तिरे भने बाँकी १ हजार २ सय २८ जना ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भए ।”

यसरी ‘कारबाही’ मा परेकाबाट ४ लाख २४ हजारभन्दा बढी रकम राजश्वमा जम्मा भएको बताइएको छ । जरिवाना रकम नतिर्नेलाई ३ घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइयो । सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न यस्तो अभियान सुरु गरिएको लामाको दावी छ ।

प्रहरीले अब नियमित रुपमा यसलाई कार्यान्वयन गर्ने भएको छ । उनले भने– “सडक दुर्घटनमा मृत्यु हुने ४२ प्रतिशत पैदल यात्रु रहेका छन्, उनीहरुका कारण सवारीमा रहेका थप चालक र यात्रुको समेत मृत्यु हुन्छ । यसरी ५० प्रतिशतभन्दा बढीको मृत्युका कारण पैदल यात्रु रहेकाले त्यो घटाउनु हाम्रो उद्देश्य हो ।”

ट्राफिक प्रहरीले वैशाख १ देखि राजधानीमा सवारीको ‘हर्न’ बजाउन निषेध गरेको छ । राजधानीमा मात्रै बर्सेनि १ सय ५० जनाभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुन्छ । त्यही मृत्युदर घटाउन हर्न नबजाउने र लाटासिधा पैदलयात्रुको कठालो समातेर हुर्मत लिने, दैनिकीमा गम्भीर डिस्टर्ब गरिदिने अनि राज्यको नांगो नाच प्रदर्शन गर्ने यस्तो बेढंगे तालको हास्यास्पद हर्कत गरिएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर