newskoseli.Com

ग्रामीण सडकका ‘टेन्सन’ बाट पीडितको माग– ‘सरकार ! हामीलाई धुलोबाट मुक्ति देऊ !’

स्तरोन्नति नभई ग्रेडिङ समेत नमिलेका ग्रामीण भेगका अधिकांश सडकहरु यात्रीका लागि समस्या बनेका छन् ।

सडक धुलाम्मे भएपछि आवत–जावतमा समस्या त हुने नै भयो, नागरिकको सुविधाका लागि खनिएका कच्ची सडकहरुमा परेका खाल्डाखुल्डी र सवारीसाधन गुड्दा तथा हावा–हुरी चल्दा उड्ने धुलोले स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने गरेकोमा स्थानीयवासी हैरान छन् ।

सदरमुकाम मन्थली हुँदै हुइँकिने ग्रामीण सडकहरु धुलाम्मे मात्र नभएर निकै अप्ठ्यारा पनि छन् । वर्षायामको आरम्भसँगै यात्रीलाई समस्या हुने गरेको उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरबहादुर सुनुवार बताउँछन् । उनका अनुसार हिउँदको समयमा बाटाको छेउछाउमा रहेका घरहरु धुलोका कारण नदेखिने गरी ढपक्कै छोपिन्छन् भने वर्खा लागेपछि हिलोले बाहिर निस्कनै अवस्थामा पुग्दछन् ।

ठाँउठाँउमा ढुङ्गा बिच्छयाएर ग्राभेल गरिए पनि कच्ची सडक भत्केर ठूलठूला खाडल बनेको यात्री लालबहादुर कार्कीले बताए । उनले भने– ‘यो बाटोमा मानिसहरु मुस्किलले हिँड्ने गरेका छन्, घुँडासम्म धुलो आउँछ । धुलोका कारण सडकका खाल्डाखुल्डी देखिँदैनन् । वस्तीका नागरिक मात्र नभई सवारीसाधन र सवारीचालक समेत समस्यामा पर्ने गरेका छन् ।’

धुले सडकमा मोटरसाइकल लिएर यात्रा गर्नेहरु त झन् विरुप नै हुने गरेका छन् । कच्ची सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी भएपछि दुर्घटनाको जोखिम समेत बढेको छ ।

Ramechhap Road

पानी पर्दा हिलाम्मे र हावा चल्दा धुलाम्मे हुने यी सडकमा दिनहुँ सयौं साना तथा ठूला गाडीहरु चल्ने गरेका छन् ।  सवारीसाधन चलाउँदा उडेको धुलोका कारण सडकनजिकै रहेका घरहरु धुलोले ढाकेका छन् । छिनछिनमा घरभित्र पसेको धुलो सफा गरिरहनु आफ्नो दैनिकी बनेको बताउँदै सुनारपानीकी सावित्री कार्की भन्छिन्– ‘खाने कुरा जोगाएर खानै कठिन भएको छ । हरेक दिन उड्ने धुलो घरमाथि थपिँदा घरै नचिनिने अवस्थामा पुगेको छ । सडकमा पानी हालेर धुलो कम गराउने गरेका छौं, तैपनि समस्या ज्युँका त्युँ नै छ ।’

धुलोको गम्भीर असरस्वरुप सडक वरपरका जमिनमा लगाइएका बालीनाली समेत मर्न थालेका छन् । बारीमा लगाइएका सागपातलगायतका तरकारी बाली धुलोले छोपिँदा उत्पादनमा निकै कमी आएको किसानहरु बताउँछन् । बारीमा लगाइएको तरकारी धुलोले बढ्नै नदिने र खेतबारी धुलाम्य हुँदा अन्य अन्नबालीमा पनि असर पुगेको उनीहरुको गुनासो छ ।

वर्षौंदेखि ग्रामीण भेगका नागरिक धुलोबाट पीडित बन्दै आए पनि सम्बन्धित निकायले समस्या समाधानका लागि चासो नदिएको पीडितहरुको आरोप छ । ‘स्कुल गएका छोराछोरी बेलुका नचिन्ने भएर घर फर्कन्छन्, घरका भित्ता धुलाले खैरो भएका छन्, वस्तुभाउले डालेघाँस खानै  छाडे, बाटो छेउमा लगाइएको सागसब्जी र अन्नबाली खाइसाध्य हुन्नन्’, उनीहरु भन्छन्– ‘सरकार ! हामीलाई धुलोबाट मुक्ति देऊ !’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर