newskoseli.Com

वैदेशिक रोजगारीबाट निम्तिएका थरीथरीका समस्या…

रामेछापकी सुनिता (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा २०७१ माघमा कुवेत गइन् । रोजगारीमा जाँदा विभिन्न सपना सँगालेकी उनलाई रोजगारीमा गएपछिका दिन भने सोचेजस्ता भएनन् ।

श्रीमानले छोडेपछि माइतमै बस्दै आएकी उनी रोजगारीको खोजीमा राजधानी काठमाडौं आइपुगिन् । रोजगारीकै क्रममा काठमाडौंमा साथीभाइको लहलहैमा परेपछि उनी ‘हाउसमेड’ अर्थात् घरेलु कामदारको रुपमा कुवेत गइन् । कुवेत पुगेपछि मालिकको घरका सम्पूर्ण काम गर्नु उनको दायित्व बन्यो ।

बिरानो ठाउँ, साँझबिहान नभनी जतिखेर पनि काम गर्नुपर्ने, भाषा पनि नबुझिने समस्याले उनलाई सताउन थाल्यो । कुवेत पुगेको दुई महिनापछि उनलाई कडा मानसिक समस्या देखा पर्‍यो । त्यसपछि काम गर्ने घरको मालिकले केही समय औषधोपचार त गरे तर निको नभएपछि उनलाई नेपाल फर्काइयो ।

नेपाल फर्कंदा उनको अवस्था धेरै नै खराब भइसकेको थियो । फर्किएपछि जिल्ला सदरमुकाम मन्थलीस्थित अस्पतालमा नियमित उपचारपछि उनको स्वास्थ्यमा क्रमशः सुधार आउन थाल्यो । अहिले उनको अवस्था पहिले झैं सामान्य छ । घरका दैनिक कामकाज र खेती–किसानीदेखि गाईवस्तुको रेखदेखसम्मका काम गरिरहेकी छिन् उनी।

रामेछापकै सीमा (नाम परिवर्तन) वैदेशिक रोजगारीको क्रममा दुई वर्षअघि कतार गइन् । गाउँकै स्थानीय युवकसँग अन्तरजातीय प्रेम बिहे गरेकी उनको श्रीमानले बिहे भएको १५ वर्षपछि अर्की श्रीमती भित्र्याए । त्यसपछि आफ्ना दुई छोरी लिएर छुट्टै बस्न लागेकी उनलार्इ छोरी पढाउन र दैनिकी चलाउन आर्थिक समस्या पर्दै गयो ।

त्यसमाथि बस्दै आएको घर पनि भूकम्पले भत्काइदिएपछि उनले जीविकाको क्रममा वैदेशिक रोजगारीको बाटो अँगालिन् । कतारमा भने अनुसारकै राम्रो काम र तलब पाएपछि अहिले उनलाई केही राहत मिलको छ । भूकम्पले बस्ने घर पनि भत्काइदिएपछि छोरीलाई टहरोमै छाडेर उनी विदेश जान बाध्य भइन् । बारबेर पारी बनाइएको टहरोमा भेटिएकी उनकी छोरीले भनिन्– “आमाले दसैंमा अलि धेरै दिन बिदा लिएर घर आउँछु र त्यसैबेला घर बनाउँछु भन्नुभएको छ ।”

माथिका दुई घटनाले प्रायः महिला श्रीमानसँगको सम्बन्ध–विच्छेदपछि घरपरिवार चलाउन बाध्य भएर वैदेशिक रोजगारीमा जाने जाने गरेका दृष्टान्त देखाउँछन् । एकातिर श्रीमानले छाड्ने र अर्कोतिर छोराछोरी आफूले स्याहारसुसार गर्नुपर्ने दायित्वका बीच विकल्पको रुपमा वैदेशिक रोजगारी अँगाले पनि सबैलाई त्यो आवश्यकता अनुसारको सहज विकल्प भने पक्कै हुने गरेको छैन ।

रामेछापकै सुरज (नाम परिवर्तन) गतवर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गए । गएको केही समयमै सडक दुर्घटनमा परी उनी घाइते भए । ऋण लिएर विदेश गएका उनी कमाउनुको साटो घाइते भएपछि थप ऋण लाग्यो । घाइते भएपछि नेपाल फर्किएका उनलाई एकातिर कमाउन नसकी ऋण तिर्न नसक्ने अवस्था र अर्कोतर्फ शारीरिक अस्वस्थताले चिन्तित तुल्याउँदा मानसिक समस्या निम्तियो ।

काठमाडौंमा निरन्तरको उपचारपछि अहिले उनको मानसिक अवस्था त सुधार भएको छ तर मानसिक पीडा भने कम हुन सकेको छैन ।  वैदेशिक रोजगारीको क्रममा क्यान्सर, मिर्गौला खराबी, पूर्ण अन्धो, हृदयघातजस्ता १५ प्रकारका रोग लागेमा क्षतिपूर्तिवापत ५ लाख रूपैयाँ दिने घोषणा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ ११ मा गरे पनि त्यसमा मानसिक समस्या पर्न सकेको छैन ।

वैदेशिक रोजगारीको क्रममा धेरै व्यक्तिलाई मानसिक समस्या देखिएकाले कम्तिमा कडा खालका मानसिक रोगी भएमा उनीहरुलाई बीमामा समावेश गरिनुपर्ने सरोकारवाला बताउँछन् । जिल्लामा सुरक्षित आप्रवास परियोजना ९सामी० ले सञ्चालन गरेको सूचना तथा परामर्श केन्द्रले विगत चार वर्षमा २ सय २७ जनालाई मानोसामाजिक परामर्श दिएको छ । तीमध्ये धेरैमा डिप्रेसन, केहीमा कडा खालका मानसिक समस्या र केहीमा सामान्य मानसिक समस्या देखिएको केन्द्रकी परामर्शदाता मनिका सुनुवार बताउँछिन् ।

विदेश गएका पारिवारिक सदस्य जेल पर्ने, मृत्यु हुने, दुर्घटनामा परी घाइते हुने, घरमा सम्पर्क नगर्ने, गएको कम्पनी छाडेर लुक्दै अर्को कम्पनीमा काम गर्ने, श्रीमानले विदेशमै बिहेबारी गरेर घरकी श्रमतीसँग सम्पर्क नगर्ने समस्या एकातिर र अर्कोतर्फ श्रीमान् विदेश गएको समयमा घरकी श्रीमती अर्कोसँग बिहेगरी गरी परिवार डामाडोल पारिदिनेजस्ता समस्या लिएर सरोकारवालाहरू केन्द्रमा आउने गरेको परामर्शदाता सुनुवारले बताइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर