newskoseli.Com

ठग्न खुलेका हुन् बीमा कम्पनी ! मृत्यु हुँदा समेत किन दिँदैनन् राहत ?

वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् ।

रामेछापको मन्थलीस्थित पिप्लेका शम्भु बुढाथोकीले ४ वर्षअघि (२०७० साउनमा) वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा त्यस्तै आशा गरेका थिए । तर, आशाअनुरुप उनी समस्यामा पर्दा बीमा बापतको राहत रकम पाएनन् ।

खाना पकाउने ‘कुक’ को जागिरे भई रोजगारीका लागि कुबेत गएको ७ महिनापछि उनी पक्षाघातले थलिए । उच्च रक्तचाप अत्यधिक बढ्दा मस्तिष्काघात समेत भई उनलाई शरीरका कुनै पनि अङ्ग नचल्ने गरी पक्षाघात भयो । कुवेतमै १ वर्ष उपचार गरे पनि बोल्न र चल्न नसक्ने अवस्थामा नेपाल फिर्ता पठाइएका उनलार्इ के कारणले त्यस्तो भयो भन्ने समेत परिवारले अझै भेउ पाउन सकेको छैन ।

घटनाबारे सम्झना गर्दै उनकी जीवनसङ्गिनी गोमा बुढाथोकीले भनिन्– “गएको ७ महिना भएको थियो, उहाँले पर्सि ३ लाख रूपैयाँ पैसा पठाइदिन लागेको छु भनेर फोन गर्नुभयो । फोन गरेको अर्को दिन त्यस्तो भएछ ।” नेपाल आएपछि वीर अस्पताल र मन्थलीमा पनि नियमित रुपमा उनको स्वास्थ्य जाँच गराइँदै आइए पनि स्वास्थ्यमा कुनै सुधार आएन ।

टाउकाको पछाडिको भाग चिरिएको थियो, घाँटीमा पाइप हालेर तरल पदार्थ मात्रै खुवाइन्थ्यो । नेपाल फर्किएको ६ महिनापछि २०७२ भदौ २ मा उनको मृत्यु भयो । स्वस्थ रुपमा गएका श्रीमान् त्यो अवस्थामा फर्किएपछि गोमाले धेरैचोटि श्रीमानसँग के भएको हो भनेर सोध्ने प्रयास गरिन् । तर, शम्भुबाट कुनै प्रतिक्रिया आएन ।

शम्भुको न त शरीरका कुनै अङ्ग चल्थे न त बोली नै फुट्थ्यो । उनी केवल टोलाएर हेर्थे, कुनै प्रतिक्रिया दिँदैनथे । शम्भु यस्तो अवस्थामा फर्किएपछि गोमाले बिरामी भएको आधारमा पहिलो पटक र मृत्यु भएपछि पुनः दोस्रो पटक बीमाबापत पाउनुपर्ने रकम माग दाबी गर्दै प्राइम लाइफमा निवेदन दिइन् । तर, ३ वर्षदेखिको उनको प्रयासले अझै मूर्त रुप लिन सकेको छैन ।

बीमा अवधिभित्र नियमानुसार उपचार गर्दा पनि कामदार १ वर्षसम्म सुधार नहुने किसिमले घाइते अवस्थामा भएमा उसलाई बीमाले पूरै रकम दिनुपर्छ । तर, प्राइम लाइफले ‘बीमा नियमले यस्तो घटनामा दिन मिल्दैन’ भन्दै क्षतिपूर्तिबापतको रकम नदिएको गोमाले बताइन् ।

बीमाको पैसा दिन्छु भन्दै उनलाई प्राइम लाइफले पटक–पटक झुक्याइरह्यो तर अहिलेसम्म दिएको छैन । उनले भनिन्– “बीमा बापतको रकम पाइन्छ कि भनेर ३–४ काठमाडौं गएँ, उल्टै भएको पैसा पनि सकियो ।”

प्राइम लाइफको वैदेशिक रोजगार बीमाको क्षेत्र हेर्दै आएका अधिकृत विमलबहादुर राउतले यो घटनाबारे अनभिज्ञता प्रकट गर्दै प्रक्रिया पूरा भएर आएका सबै घटनामा आफूहरुले बीमा बापतको रकम दिने गरेको जिकिर गरे । उनले भने– “हामीले वर्षमा २० करोड रूपैयाँजति वैदेशिक रोजगारीमा गएका पीडित र उनका परिवारजनलाई दिँदै आएका छौं । शम्भुजीको विषयमा केही प्रक्रिया पूरा नभएकाले नपाउनुभएको होला, प्रक्रिया पूरा भए नपाउने कुरै हुँदैन ।”

बीमा रकम नपाएपछि गोमाले यस विषयमा बीमा समितिमा पनि उजुर गरिन् । निजी बीमा कम्पनीले त ठग्यो नै, सरकारी निकायका रुपमा रहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले समेत उनलाई पूरै क्षतिपूर्ति रकम दिएन । बोर्डबाट उनले ७५ हजार रूपैयाँ मात्रै पाइन् जबकि उनको जस्तै घटनामा अन्य व्यक्तिले बोर्डबाट ३ लाख रूपैयाँसम्म पाएका उदाहरण छन् ।

यस विषयमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसँग सोध्दा उनले ‘यस्तो घटनामा पूरै रकम पाउनुपर्ने हो, किन दिइएनछ, म अफिसमा सोधखोज गर्छु’ भन्ने जवाफ दिएका छन् ।

नेपाल ल्याइएपछि उपचारको क्रममा भैंसीदेखि बारीसम्म बेचिए पनि शम्भुलाई बचाउन नसकेको पीडा गोमालाई छ । उनले भनिन्– “एक जनाले झारफुक गरेर सञ्चो पारिदिन्छु भनेर ५ दिन घरमै आएर बस्यो । झारफुक गरेर १५ हजार रूपैयाँ लिर्इ त्यो मान्छे भदौ १ गते गयो, अर्को दिन (भदौ २ गते) उहाँ बित्नुभयो ।”

श्रीमान् कुवेत जाँदा जग्गाको लालपुर्जा धितो राखी १ लाख रूपैयाँ ऋण लिएर गएको उनले बताइन् । श्रीमानको किरिया गर्दा लागेको ५० हजार रूपैयाँ ऋण तिर्न पनि अझै बाँकी छ ।

उनका ३ छोरी र २ छोरा छन् । जेठी छोरीको बिहे भइसक्यो । घरमा रहेकी एउटी छोरी कक्षा १० मा, एउटा छोरा कक्षा ८ मा र अर्की छोरी कक्षा ५ मा र तथा ४ वर्षका सानो छोरा नर्सरीमा पढ्दैछन् ।

बीमा बापतको रकम आए छोराछोरीलाई धेरै पढाउने गोमाको चाहना छ । कान्छो छोरालाई काखमा च्यापेर आँखाबाट आँसु झार्दै उनले प्रश्न गरिन्– “छोराछोरीलाई धेरै पढाउने मन छ तर कमाउने मान्छे बित्नुभयो । खान त ६ महिनालाई मात्रै पुग्छ, कसरी पढाउने हो हजुर ?”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर