newskoseli.Com

अब बोका नचाहिने ? सफल भयो बाख्रामा कृत्रिम गर्भाधान !

काभ्रेपलाञ्चोकमा बाख्रामा पनि कृत्रिम गर्भाधान सफल देखिएको छ । कृत्रिम गर्भाधान गरिएकामध्ये करिव ६० प्रतिशतमा सफल भएको पाइएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिएका छन् ।

प्रजननमा विकृत अवस्था पनि आउन सक्ने र यसका धेरै कारण हुन सक्ने उनी बताउँछन् । उनका अनुसार जिल्लाको कोशीपारि क्षेत्रका विभिन्न स्थानलाई प्राथमिकतामा राखेर सापिङमा बाख्राको कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको र त्यहाँबाट धेरै बाख्रापालक कृषकले कृत्रिम गर्भाधानको सुविधा लिएका छन् ।

कोशीपारिको कात्तिके देउराली, माझिफेदा, पोखरीचौंरी, सापिङलगायत बाख्रापालनका लागि पकेटक्षेत्र मानिन्छन् । कृत्रिम गर्भाधान सफल देखिएपछि जिल्लामा पछिल्लो समय बाख्रामा कृत्रिम गर्भाधान गर्नेको बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा १ सय ५७ बाख्रामा र आ.व. २०७३/७४ मा ८ सय २८ बाख्रामा कृत्रिम गर्भाधान गरिएको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलले जनाएको छ । जिल्लामा कूल बाख्राको संख्या १ लाख १ हजार ८ सय ८२ छ ।

गाईभैंसीमा पनि कृत्रिम गर्भाधानप्रतिको आर्कषण बढ्दो छ । आर्थिक वर्ष २०७१/७२ मा २० हजार २ सय ५६ र आ.व. २०७२/७३ मा २६ हजार १ सय ३० गाईमा कृत्रिम गर्भाधान गरिएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा २ हजार ९ सय ७४ र आ.व. २०७२/७३ मा ३ हजार ८ सय ७२ भैंसीमा कृत्रिम गर्भाधान गरिएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा २५ हजार ५ सय १ गाईमा कृत्रिम गर्भाधान भएको छ भने ५ हजार १ सय ३ भैंसीमा कृत्रिम गर्भाधान भएको छ । जिल्लामा गाईको संख्या १ लाख ४४ हजार ३ सय ८९ र भैंसीको संख्या १ लाख ३५ हजार २ सय ५६ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर