newskoseli.Com

बिरुवा बेचेर लाखौंको कमाइ

कृषकले फलफूल र वन पैदावारका बिरुवा बेचेर लाखाैं आम्दानी गरेका छन् । सुन्तला, टिमुर, डालेघाँस र काष्ठ पैदावार बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो ।

सुन्तला र टिमुरका प्रतिबिरुवा २० रूपैयाँ तथा अन्य वन पैदावारको प्रतिबिरुवा ५ रूपैयाँमा बिक्री हुन्छन् । धौलागिरि गाउँपालिका– ७ हिलापोखरीका समबहादुर थापाले टिमुरका १५ हजार ४ सय बिरुवा बेचेर ३ लाख ८ हजार रूपैयाँ आम्दानी गरे । उनले एक दशकदेखि नै बिरुवा उत्पादन गर्दै आएका छन् ।

बेनी नगरपालिका– ६ का मनकुमारी घर्तीले टिमुरका ४ हजार ५ सय, चन्द्रबहादुर कुँवरले ८ हजार र रघुगंगा– ४, दग्नामका वीरबहादुर गर्वुजाले ३ हजार ९ सय बिरुवा बिक्री गरे । चारै जनाको निजी नर्सरीमा उत्पादन भएका ३१ हजार ८ सय टिमुरका बिरुवा जिल्ला वन कार्यालयले खरिद गरेर सामुदायिक वन उपभोक्ता समूह र कृषकलाई वितरण गरेको छ ।

तोरीपानीका सागर बानियाँ र गुमानसिंह बानियाँले यसपालि निजी नर्सरीबाट १० हजार टिमुरका बिरुवा बिक्री गरे । वन कार्यालयले ३० भन्दा बढी टिमुरका बोट रोप्ने ९ जना कृषकलाई प्रतिबोट ४० रूपैयाँका दरले १ लाख ९६ हजार प्रोत्साहन अनुदान उपलब्ध गराएको छ । खेर गइरहेको सामुदायिक वन र निजी खालि पाखो र खरबारीमा टिमुरखेती विस्तार अभियान चलाइएको जानकारी सहायक वन अधिकृत राजकुमार ठाकुरले दिए ।

टिमुरले बजार पाएका कारण उत्पादन बढाउन बिरुवा रोप्ने अभियान चलाइएको हो । यस वर्ष जिल्लाभर करिव ३० हेक्टर क्षेत्रफलमा टिमुरका नयाँ बिरुवा रोपिएका छन् । बेनी नगरपालिका– ९, तोरीपानी, नेप्टेचौर र धौलागिरि गाउँपालिका– ७ ताकम तथा रघुगंगा– २, भगवती अनि अन्नपूर्ण– ४, नारच्याङ र मालीकाको दरवाङ क्षेत्रमा टिमुरखेती विस्तार भएको छ ।

यस याममा विभिन्न ७ जना कृषकको निजी नर्सरीबाट साधारण बिजु जातका २२ हजार ५ सय सुन्तलाका बिरुवा प्रतिबोट २० रूपैयाँमा बिक्री भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको २ सय ८६ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ । यस वर्ष कार्यालयले २२ हजार ५ सय बिरुवा अनुदानमा वितरण गरेको छ । कृषकले आफ्नै लागतमा थप ३ हजार बिरुवा रोपेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर