newskoseli.Com

हृदयविदारक कथा : न सन्तान, न ओत न त गाँसबास…

जन्मिसकेपछि यो संसारमा सुखसँगै हाँसीखुशी बाँच्न पाउँ भन्ने रहर कसको हुँदैन होला र ! तर, सुखसँग बाच्नु त परै जाओस्, एक छाक टार्न र एक रात बिताउनका लागि ओत लाग्ने ठाउँ समेत छैन दशरथचन्द नगरपालिका– ८, बैतडीका ५८ वर्षीय हरिराम दमाइँ दम्पतीसँग ।

श्रीमान्–श्रीमती दुबै जन्मजात् बोल्न नसक्ने छन् । बिहे भएको केही वर्षपछि एक छोरा जन्मिएका थिए तर जन्मिएको १३ दिनमै उनको मृत्यु भएपछि कुनै पनि सन्तान जन्मिएनन् । एकातिर बुढेसकालका सहारा छोराछोरी नहुँदाको पीडा खेप्नुपरेको छ भने अर्कोतिर उनीहरूलाई बिहान खाए साँझ के खाने र कहाँ बस्ने भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ ।

छिमेकीसँग मागेर दैनिकी गुजारा गरिरहेका हरिराम दम्पती नजिकैको त्रिपुरासुन्दरी मन्दिरमै सुत्ने र मन्दिरमै दमाहाँ बजार्इ भक्तजनबाट मागेर दैनिक गुजारा चलाउँदै आएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत उनीहरूले फारम भरे पनि आफ्नो नाममा जमिन नहुँदा छनोटमा परेनन् । हरिराम दम्पतीले साँझ–बिहान मागेरै गुजारा गर्ने गरेको स्थानीय सुशीला क्षेत्री बताउँछिन् ।

वर्षातको समयमा बस्ने उनीहरूको कतै ठाउँ छैन । सानो घर थियो, त्यो पनि जीर्ण अवस्थामा छ । वर्षातमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानीय युवाले एउटा त्रिपाल हालेर हालै मकैबारी छेउमा सानो झुपडी बनाइदिएका छन् ।

बोल्न नसक्ने भए पनि हातको इसाराले मागेर उनीहरूले साँझ–बिहानको छाक टार्ने गरेको अर्का स्थानीय उद्धव चन्द बताउँछन् । हामीले सकेको खाद्यान्नको दैनिक व्यवस्था गर्दै आएका छौं भन्दै उनी भन्छन्– “हरिरामको यस्तो अवस्था हुँदासम्म पनि कसैको ध्यान पुगेको छैन ।”

गरिब र असहायलाई हेर्ने निकाय नै नभएको स्थानीयवासीको गुनासो छ । निर्वाचनका बेला विभिन्न आश्वासन दिएर भोट मागेका जनप्रतिनिधिले समेत खासै पहल नगरेको उनीहरू बताउँछन् । “स्थानीय तहको निर्वाचनमा मतदान गरेका हरिरामको मतको कदर हुन सकेन”, उनीहरू प्रश्न गर्छन्– “भोट माग्ने बेला सबै व्यवस्था गर्छु भनेका नेताहरूले खै त व्यवस्था गरेको ?”

जनता आवास कार्यक्रमका लागि निवेदन दिए पनि विपन्नलार्इ पन्छाएर पहुँचवालाहरूले आफू निकटका मान्छे मात्रै छनोटमा पारेको दशरथचन्द नगरपालिका नगरकार्यपालिका सदस्य डम्बर टमाटाको आरोप छ । एक त अपांगता, त्यसमा पनि काेही सहारा नभएको र साँझ–बिहान छाक टार्न समस्या भएको मान्छेको निवेदन स्वीकृत नहुनु दुःखद भएकाे उनी बताउँछन् ।

दशरथचन्द– ८ का नवनिर्वाचित वडाध्यक्ष सुरेश सिंह थापा अहिलेको वडा परिषदबाट हरिरामको समस्या सम्बोधन गरिने बताउँछन् । हरिरामजस्ता गरिब, असहायलाई सहयोग गर्न भनेरै यो ठाउँसम्म आएको हुँ भन्दै उनी भन्छन्– “हामी तत्कालै हरिरामलाई सहयोग गर्छौं।”

हरिरामको पुनर्स्थापनाका लागि नगरपालिकाले १० दिनभित्रै पहल थाल्ने दशरथचन्द नगरपालिका नगरप्रमुख नरेन्द्रसिंह थापाको भनाइ छ । स्थानीय वासिन्दाको अनुरोधमा केही दिन अगाडि त्रिपाल र भाँडाकुँडाको व्यवस्था गरिएको बताउँदै अब १० दिनभित्रै अस्थायी बसोबासका लागि टिनको घर बनाउनुका साथै आर्थिक सहयोग समेत गरिने उनले बताए ।

अहिलेसम्म कुनै पनि निकायले हरिरामको पीडा नदेखेकाले स्थानीय युवा आर्थिक संकलनमा जुटेका छन् । हिक्मत चन्दको नेतृत्वमा गठित सहयोग टोलीले हालसम्म ८ हजार रूपैयाँ संकलन गरिसकेको छ । सरोकारवाला सबै निकाय र स्थानीयवासीमा सहयोगको अपिल गर्दै भदौ १ देखि हरिरामका लागि पक्की घर बनाउने तयारी भइरहेको हिक्मतले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर