newskoseli.Com

ढ्याङ्ग्रो ठटाउँदै रातभर मकैबारीमा

जब रात पर्छ तब चाँगुनारायण नगरपालिका– ५, छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राको आवाज सुनिन थाल्छ । त्यस क्षेत्रमा पाहुना लाग्न जानेका लागि अनौठो लागे पनि त्रिशूल डाँडामा मान्छेको आवाजसँगै ढ्याङ्ग्रो बजाउनु अचेलस्थानीयवासीको दिनचर्या भएको छ ।

बँदेलले मकैसँगै कोदो, बदाम, पिँडालु, बेसार, अदुवा, खुसार्नीलगायतका अन्नबाली खान र नष्ट गर्न थालेपछि आफ्नो बालीको रक्षा गर्न यहाँका किसानले एक महिनादेखि नै रात परेपछि बारीमै गएर यसरी ढ्याङ्ग्रो बजाउने गरेको त्रिशूलडाँडाकी सानुमैया पुरीले बताइन् ।

उनले भनिन्– “सबै घरका मानिस रात परेपछि छिटो खाना खाएर बँदेललाई लखेट्न हातमा ढ्याङ्ग्रो, नाङ्लो, थाल लिएर बारीमा जान्छन् र बजाउन थाल्छन् ।”  यस वर्ष बँदेलले यहाँका अधिकांश किसानको मकैबाली नष्ट गरेको छ ।

बँदेलले मकैबाली नष्ट गरेपछि केही किसानले बचेका हरिया मकै घरमा लान थालेका छन् । हुलमा आउने बँदेलले मकैको बोट भाँचेर घोगा मात्रै खाने गरेको बताउँदै पुरीले भनिन्– “बँदेलले खाएर बाँकी रहेका हरिया मकै र छरिएका मकैका गेडा टिपेर घर लैजाने गरेका छौं ।”

बँदेलले अदुवा, खोर्सानी, बेसार, पिँडालु, बदाम र कोदोको बोटलगायत कृषिबाली नष्ट गरेको बेदना पोख्दै स्थानीय सुनिता पुरीले यहाँका अधिकांश किसानको अन्नबाली बँदेलले नष्ट गर्न थालेको बताइन् । बँदेल लखेट्न किसानले राति १ बजेसम्म बारीमा बसेर ढ्याङ्ग्रो ठटाए पनि मान्छे नभएको मौकामा एकै पटक ५०–६० वटा बँदेलको हुलले मकै नष्ट गर्ने गरेको स्थानीय रामबाबु थापाले बताए ।

गत वर्षदेखि बँदेलले दुःख दिन थालेको बताउँदै बँदेलले मकै मात्रै नभई जेठमा गहुँ र मंसिरमा धान समेत नष्ट गर्ने गरेको स्थानीय राजकुमार नगरकोटीले बताए । सूर्यविनायक नगरपालिकाको काँक्राबारी, आशापुरी, नैचाल र सिपाडोलको ठूलोवस्तीमा पनि बँदेल तथा मृगले मकै, सिमी, काँक्रोलगायतका बाली नष्ट गर्ने गरेको छ ।

“वर्ष दिनसम्म खाने अन्नबाली बँदेलले खाएपछि अब कसरी बाच्नु ?”– सूर्यविनायक नगरपालिका– ८, सिपाडोल, काँक्राबारीका अर्जुन लामाले दुःख बिसाए । बँदेलले बाली नष्ट गरेको बारेमा जिल्ला कृषि कार्यालय र जिल्ला वन कार्यालय जानकारी गराइए पनि समस्या समाधानका उपाय नगरेको आशापुरीका कान्छा तामाङले बताए ।

गत वर्षदेखि नै बँदेलले जिल्लाका विभिन्न ठाउँमा कृषिबाली नष्ट गरेको गुनासो र उजुरी आए पनि कार्यालयले क्षतिपूर्ति दिने व्यवस्था नभएको जिल्ला कृषि कार्यालयका प्रमुख पूर्ण ढुंगानाले बताए । बँदेलले बाली नष्ट गरे क्षतिपूर्ति दिने व्यवस्था ऐनमा नभएको उल्लेख गर्दै मानीवय क्षति भए मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सञ्जीव आचार्यले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर