newskoseli.Com

फूल बेचेर दिनमै डेढ लाख आम्दानी : ‘खिसी गर्नेहरू नै अहिले ग्राहक’

ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन ।

बेंसीशहर नगरपालिका– ३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुर्ख्यौली घर घनपोखराबाट १५ वर्षअघि बेंसीशहर झरेकी हुमा सुरुमा एउटा निजी विद्यालयमा पढाउँथिन् । केही वर्ष पढाएर गुरुङले एउटा गैरसरकारी संस्थामा काम गरिन् । त्यहाँको जागिर पनि छाडेर उनले तीन वर्षअघिदेखि पुष्प व्यावसाय सुरु गरेकी हुन् ।

पुष्प व्यवसाय सुरु गरेकी गुरुङ जिल्लामै एक्ली हुन्  । उनले यसलाई सम्भावनाको पेशाका रुपमा चिनाएकी छन् । सुरुमा ‘फूल व्यवसाय पनि हुन्छ र ?’ भनेर गुरुङको खिल्ली उडाउनेहरु अहिले उनकै नर्सरीमा फूल किन्न पुग्ने गर्दछन् ।

“फूलको पनि खेती हुन्छ र भन्नेहरु अहिले सबैभन्दा महँगो फूल किन्न आउने गरेका छन्”– उनी भन्छिन् । पुष्प व्यवसायबाट नै मासिक २ लाखदेखि ३ लाख रूपैयाँसम्म आम्दानी गर्न सकेको उनले बताइन् । फूल, बिरुवा, दुबाे र बगैंचा सजावटबाट नै मनग्य आम्दानी हुने गरेको गुरुङको भनाइ छ ।

“एकै दिनमा डेढ लाख रुपैयाँसम्मको फूल बिक्री गरेकी छु”, उनले भनिन्– “अरु बेला सामान्यतया दैनिक ५ देखि १० हजार रूपैयाँसम्मकाे बिक्री हुन्छ ।” करिव ८ रोपनी जमिनमा उनले मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गर्दै आएकी छन् ।

उनले पछिल्लो समय दुबाेको समेत व्यवसाय सुरु गरेकी छन् । तिहारलक्षित गरेर गुरुङले ३ रोपनी जग्गामा सयपत्री जातको फूल खेती गरेकी थिइन् । तर तिहारअगावै सबै फूल बिक्री भयो ।

यस बाहेक उनले धूपी, अशोका, क्रिसमस ट्री, सप्लेरियालगायतका आकर्षक बिरुवा नर्सरीमा उमारेकी छन् । उनले आफ्नो नर्सरीबाट फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी फूलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका बिरुवा बिक्री गर्दै आएकी छन् ।

फूलको प्रजाति, विशेषता आदिका बारेमा प्रशिक्षण लिँदै अर्को मौसमका लागि बिरुवा उमार्ने तयारीमा छिन् उनी । फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि झन्डै ५० लाख रूपैयाँ लगानी भएको उनले बताइन् । “मैले अपेक्षा गरेभन्दा निकै राम्रो व्यापार भएको छ”, गुरुङले भनिन्– “ग्राहकको मागलाई थेग्न निकै मुस्किल परेको छ ।”

व्यावसायिक फूल खेतीका लागि जिल्लाकै एक मात्र व्यवसायी भए पनि सरकारी निकायबाट सहयोग नपाएको उनको गुनासो छ । सरकारी निकायमा सहयोग माग्दा निकै झन्झट बेहोर्नु परेको गुरुङले बताइन् । “सुरुसुरुमा सरकारी निकायमा सहयोग माग्न गएँ”, उनले भनिन्– “आश्वासन पाएँ तर कहिल्यै सहयोग पाइनँ ।”

बिहानदेखि साँझसम्म बारीमा अाफैं खट्ने गुरुङले अहिले दुई जनालाई रोजगारी समेत दिएकी छन् । त्यस बाहेक फूल रोप्ने बेला ज्यालामा खेताला समेत लगाउने गरेको उनी बताउँछिन् । नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा आफूलाई निकै खुशी लागेको गुरुङ बताउँछिन् । “फूल र मालाको माग बढ्दा झन् उत्साहित भएकी छु”, उनले भनिन्– “आगामी वर्ष अझै विस्तार गर्ने योजनामा छु ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर