newskoseli.Com

प्रकाश दाहाल : संक्षिप्त जीवनीदेखि निधनसम्मको परिवेश…

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र छोरा प्रकाश दाहालको आइतबार बिहान निधन भएको छ । अचेत अवस्थामा आइतबार बिहान नर्भिक अस्पताल पुर्‍याइएको पारिवारिक स्रोतले जनाएको छ । हृदयाघातका कारण दाहालको मृत्यु भएको अस्पतालले जनाएको छ ।

चुनावी अभियानअन्तर्गत केही दिनदेखि चितवनमा रहेका प्रकाश अस्वस्थ भएको भन्दै काठमाडौं फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार प्रचण्ड झापातिर लागेपछि त्यता नगर्इनकन प्रकाश चितवनबाट काठमाडौं फर्केका हुन् । शनिबार बेलुका आमा र भान्जीहरुसँग बसेर खाना खाएका प्रकाश दाहाल अचेत भएको आमा सीताले आइतबार बिहान पाँच बजेतिर थाहा पाएकी थिइन् । लगत्तै नर्भिक अस्पताल पुर्‍याइएका उनको कुनै उपचार गर्ने ठाउँ नै बाँकी नरहेको अस्पतालले जनाएको थियो ।

प्रचण्ड–सीताका एक मात्र छोरा प्रकाश २०३८ असार १७ मा चितवनमा जन्मिएका थिए । माओवादी दसवर्षे सशस्त्र जनयुद्धको अवधिभर बुबा–आमासँगै भूमिगत राजनीतिमा क्रियाशील रहेका प्रकाश नेतृत्व टिम र कार्यालयको कुशल व्यवस्थापक थिए । जनयुद्धको बेलादेखि नै बुबा प्रचण्डको सचिवालय सम्हालेर साथ दिँदै आएका प्रकाश अहिलेसम्म पनि प्रचण्डको सचिवालयमै काम गर्थे । उनी कुशल सवारी चालकदेखि सामाजिक सञ्जालमार्फत सूचना प्रवाह समेतमा पारंगत थिए । राज्यले समाजसेवीलाई दिने प्रबल जनसेवाश्री पदक समेत प्रकाशले पाएका छन् ।

उनी आफ्ना लागिभन्दा बुबा प्रचण्ड र पार्टी हितका लागि नै अहोरात्र खट्ने गरेको माओवादी नेता–कार्यकर्ता बताउँछन् । माओवादी आन्दोलन र सशस्त्र सङ्घर्षको पेचिलो मोर्चाबाट खारिएका प्रकाश माओवादी पार्टीभित्र सशक्त र सक्रिय युवानेताका रुपमा चिनिन्थे ।

उनको भूमिका राष्ट्रिय राजनीतिको मूलधारमा नदेखिए पनि प्रचण्ड र नेपाली राजनीतिको सफलता–असफलतासँग सोझै गाँसिएको थियो प्रकाशको क्रियाशीलता । ४–५ कक्षामा पढ्दादेखि नै सङ्गठित भएर आजपर्यन्त निरन्तर पार्टी काममा खटेका प्रकाशको भूमिका प्रचण्ड पार्टी अध्यक्ष हुँदा होस् वा प्रधानमन्त्री, हरेक समय र जिम्मेवारीमा एक प्रशासक र व्यवस्थापककै रूपमा हुने गरेको थियो ।

बुबा प्रचण्डसँग रहेर स्थानीय तहदेखि केन्द्र र अन्तर्राष्ट्रिय समुदायसम्मकै संयोजन गरेका थिए प्रकाशले । उनी समयको महत्वलार्इ राम्ररी ध्यान दिन्थे र जनभावनाको प्रतिनिधित्व हेरी मिलाउनैपर्ने कार्यक्रम र भेटघाटको महत्त्वको राम्ररी बोध गरेर सोहीअनुसार अध्यक्षका दैनिक कार्यतालिका व्यवस्थित पार्न सघाउँथे ।

सोझो, इमानदार र हक्की स्वभावका प्रकाश हर्दम प्रचण्डको कार्यकाल असफल होला–नहोला भन्नेमा चिन्ता र चिन्तन गरिरहन्थे । व्यक्तिगत स्वार्थका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई भेट्न खोज्ने, नाजायज दबाब दिने, जालसाजी गर्नेजस्ता सोच र प्रवृत्तिलाई प्रकाशले सिधै इन्कार गरिदिन्थे । प्रकाश दाहाल झन्डै दुर्इ दशकसम्म माओवादी आन्दोलनको हेडक्वार्टर र सत्ता केन्द्रको व्यवस्थापनमा निरन्तर क्रियाशील रहे ।

उनको मृत्युले माओवादी पार्टीमा अपूरणीय क्षति पुगेको नेताहरु बताउँछन् । चुनावको मुखैमा भएको अध्यक्षको सचिवालयका भरलाग्दा सहकर्मी एवं स्वयं पार्टी अध्यक्षका एक मात्र छोराको निधनबाट सिंगै पार्टीपंक्ति स्तब्ध भएको छ ।

केही वर्षअघि क्यान्सरबाट जेठी छोरी गुमाएको प्रचण्ड परिवारमा अहिले अर्को ठूलो बज्रपात परेको छ । प्रकाशको निधनले प्रचण्डको आगामी राजनीतिक जीवनमै गम्भीर प्रभाव पर्न सक्ने अनुमान धेरैले गरेका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर