newskoseli.Com

लोग्ने र ससुराको ‘आदेश’ मा भोट हाल्ने दिन गए !

पथरी शनिश्चरे– ८ का बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उनकी श्रीमती पार्वतीदेवीले भने आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुख–दुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गरिन् ।

उनले भनिन्– “विवाह भएदेखि नै श्रीमानले रोजेको उम्मेदवारलाई भोट दिएकी छु तर यसपालि चाहिँ म आफैंले रोजेको उम्मेदवारलाई मत दिन्छु ।”

संविधानले समेत महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । पार्वतीदेवीजस्ता महिला अब सक्षम बन्दै गएकाले आफ्नो निर्णय आफैं गर्ने भइसकेका छन् ।

महिला प्रतिनिधित्वविना गाउँको सानो समितिदेखि संसद समेत पूर्ण नहुने अवस्थामा अब पनि महिला चुप लागेर बस्नु नहुने उनको भनाइ छ । “पुरुषले रोज्दै आएको उम्मेदवारले इमानदार भएर काम नगरेकाले नै समाजको मुहार फेरिएन”, उनले भनिन्– “हाम्रो गाउँ अहिलेसम्म पनि २०५१ मा मैले पहिलो पटक भोट हालेको अवस्थामै रहेको छ । महिला–पुरुष, छोरा–छोरी, धनी–गरिब, उँच–नीच, जात–पात, भाषा–धर्मलगायतको विभेद कायमै रहेकाले त्यसको समग्र परिवर्तन गर्न सक्ने उम्मेदवार छान्ने काम हामी महिलाकै हो ।”

बाटोघाटो, सिँचाइ, विद्युत्, शिक्षा, रोजगारीलगायतका व्यवस्था गरेर समृद्ध समाज निर्माण गर्ने उम्मेदवारलाई यसपालि मत हाल्ने उनले सुनाइन् ।

पथरी शनिश्चरे– ८, मिलनचोक सोमबारेमा चिया पसल चलाउने मैयाँ श्रेष्ठ युवक–युवतीका लागि राम्रो रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारलाई आफूले मत दिने बताउँछिन् । “छोरीचेली माइतीमै बस्दा आमाबुबाले अनि घरमा बस्दा पति–ससुराले भनेका आधारमा भोट हाल्ने दिन अब गए, सबैले आफैंले रोजेको उम्मेदवारलाई भोट हाल्ने अवस्थाको निर्माण भइरहेको छ”, उनले भनिन्– “आत्मनिर्भरता आवश्यक छ र यतिखेर महिलामा आत्मनिर्भरता बढ्दै गएको छ ।”

गाउँका मानिसले उम्मेदवारको गुण र अवगुणबारे गरेको चर्चा सुनेर राम्रो उम्मेदवारको पहिचान गरी आफूहरुले मत दिने सुनवर्षी– १ की सकिना खातुनले बताइन् । उनले भनिन्– “मुस्लिम महिलाले अहिले खुलेआम चुनावी सभामा सहभागी भएर उम्मेदवारको कुरा सुनी आ–आफ्ना समस्या समेत सुनाउने गरेका छन् । त्यसैले अब अरूले भनेका ठाउँमा होइन, हामी आफैं नै सबभन्दा राम्रो उम्मेदवार रोजेर भोट हाल्न सक्षम छौं ।”

केही समय अगाडिसम्म पति, ससुरा र गाउँका पुरुषहरू आफैंले रुचाएको उम्मेदवारलाई भोट हाल्न महिलाहरूलार्इ सिकाउँथे तर पछिल्लो समय महिलाहरू स्वयं समेत समूह बनाएर राम्रो उम्मेदवारलाई मत हाल्न सिकाउँदै हिँडेका छन् । अब महिलाहरु सक्षम बन्दै गएका छन् ।

प्रतिनिधिसभाका लागि ६ र प्रदेशसभाका लागि १२ निर्वाचन क्षेत्र रहेको मोरङमा कूल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता छन् ।

भोट चाहिने भए रोजगारी वा स्वरोजगारीको अवसर देऊ !

पथरी शनिश्चरे– ८ का स्नातकोत्तर अनिल पौडेल बेरोजगार छन् । उनीसँगै स्नातकोत्तर ईश्वर शर्मा र सुनवर्षी नगरपालिका– १ का प्रकाश सिंह रोजगारी नपाएर खाडी मुलुक साउदीअरब गए । उनीसँगै द्वितीय श्रेणीमा बीएड उत्तीर्ण भजन सिंह पनि रोजगारीका लागि मलेसिया पुगेको २ महिना भयो ।

पौडेलका कान्छा भाइ सुनिल र प्रकाशका कान्छा भाइ निर्मल कक्षा १२ मा पढ्छन् । आफ्नै देशमा रोजगारीको अवसर नभएर दाजुहरु स्नातकोत्तर उत्तीर्ण गरेर पनि वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान बाध्य भएको अवस्था देखेर आफूलाई पढ्न मन लाग्नै छाडेको सुनिल र निर्मल बताउँछन् । “मन खिन्न हुन्छ, आखिर जति पढे पनि अन्त्यमा खाडी मुलुकको चर्को गर्मी खानैपर्ने हुन्छ ”– सुनिलले भने ।

गाउँका युवा रोजगारीकै लागि प्रत्येक दिन खाडी मुलुक गइरहेका छन् । कक्षा ९ र १० मा पढ्ने विद्यार्थी समेत पढाइ छाड्दै उमेर बढाएर वैदेशिक रोजगारीमा गइरहेको उनीहरु बताउँछन् ।

“पढेलेखेकाहरू गाउँमै केही गर्न नचाहेर होइन, जीविका चल्नै नसक्ने अवस्थाले वैदेशिक रोजगारीमा जान बाध्य छन्”, अनिलले भने– “गाउँमा खेती गर्न खोजियो भने सिँचाइ, कृषि मल, उन्नत बीउको अभाव, गाई, भैंसी, बाख्रापालन र व्यापार नै गर्न खोजियो भने सुलभ र सहज तरिकाले ऋण समेत पाउन नसकिने अवस्थामा युवा केचाहिँ गरेर नेपाल बसून्, विकल्प त सरकारले दिनुपर्‍यो नि !”

अहिले नेताहरु मत माग्न घरदैलोमा आइरहेका छन् र उम्मेदवारहरु आ–आफ्ना अनेकौं चुनावी नारा सुनाइरहेका छन् तर उनीहरूको एउटै माग छ– युवालाई ६० डिग्री तापक्रममा काम गर्न विदेशमा नबेची स्वदेशमै रोजगारी सिर्जना गरिदेउ । स्वदेशमै रोजगारीको अवसर दिलाउने उम्मेदवारलाई नै आफूहरुले मत दिने उनीहरुको भनाइ छ ।

इञ्जिनीयर, ओभरसियर, डाक्टर पढेकाहरु रोजगारीका लागि विदेश गइरहेको पथरी शनिश्चरे– १ का इन्द्र अधिकारीले बताए । आफूले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकाले नेपालमै अवसरको खोजीमा रहेको उनले बताए । “गर्न सके के हुँदैन, तर त्यसका लागि वातावरण उचित हुनुपर्छ ”– उनले भने । यहीं केही गर्ने अवसरका लागि वातावरण बनाइदिने उम्मेदवारलाई यसपालि आफूहरुले मत दिने उनले बताए ।

इन्द्रले अगाडि थपे– “युवालक्षित सुलभ र सहज ऋणलगायतको व्यवस्था गर्नु आवश्यक छ । खासगरी युवालाई उत्पादनमूलक व्यवसायका लागि सरकारले उचित वातावरणको निर्माण गर्ने योजना ल्याउनु आवश्यक छ ।”

चुनावमा अनेक सपना देखाउँदै जितेर गएपछि कहिल्यै फर्केर नआउने उम्मेदवारलाई यसपालि आफूहरुले ठेगान लगाउने पथरी शनिश्चरे– २ का चक्र लिम्बूले सुनाए । “उम्मेदवारले गरेको चुनावी प्रतिबद्धता पूरा गर्नुपर्छ अनि मात्रै वर्षौंदेखि ज्यूँ का त्यूँ रहेका समस्या समाधान हुन्छन्”, उनले भने– “पढेलेखेका युवालाई उत्पादनमूलक व्यवसाय गर्न आवश्यक सहयोग हुनुपर्‍यो ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर