newskoseli.Com

चुनावका कारण दैनिक ५ करोडको फूल बिक्री…

निर्वाचनका कारण अहिले दैनिक ५ करोड रूपैयाँसम्म फूलको कारोबार भइरहेको छ । अन्य समयमा दैनिक २ करोड रूपैयाँसम्म फूलको कारोबार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोबारमा वृद्धि भएको फ्लोरिकल्चर एसाेसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार सबैभन्दा बढी अर्थात ६० प्रतिशत कारोबार काठमाडौं उपत्यकामै हुन्छ । अन्य समयमा प्रत्येक वर्ष दैनिक १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि हरेक वर्ष फूलको माग बढेकाले स्वदेशी उत्पादनले मात्र धान्ने अवस्था भने छैन । अझै पनि १८ प्रतिशत फूल भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

घरदैलो र चुनावीसभामा नेता–कार्यकर्तालाई लगाउनका लागि निर्वाचनका समयमा फूलको बढी प्रयोग भएको छ । अघिल्ला वर्षमा १ अर्ब ७१ करोडको वार्षिक कारोबार हुने गरेकामा चालु आ.व. मा भने फूलको माग बढेकाले २ अर्ब नाघ्ने भएको छ । वार्षिक रुपमा सबैभन्दा बढी सयपत्री फूलको कारोबार १० करोड रूपैयाँ बराबर हुने गरेको छ ।

यस वर्षको तिहारमा मात्रै देशभर गरी ११ लाख वटा मालाको कारोबार भएको छ । गत वर्ष तिहारमा ८ लाख मालाको कारोबार भएकामा यस वर्ष ३ लाख वृद्धि भएको छ, जसमा ९ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका थिए । काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने गरेको छ ।

तिहारमा मात्र वार्षिक ७ करोड रूपैयाँको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिव ५ करोड रूपैयाँको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । खासगरी कात्तिकदेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एशोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।

प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अष्ट्रेलिया र मलेसियामा नेपाली बसोवास गर्ने गरेकाले तिहारका समयमा ती देशमा मखमली फूल निर्यात समेत हुने गरेको छ ।

नेपालमा २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा भएको वृद्धिसँगै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेका छन् ।

यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १ सय ४७ हेक्टर क्षेत्रफलमा ६ सय प्रजातिका फूल उत्पादन हुन्छन् । व्यावसायिक रुपमा ४ सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएका छन् । विशेषगरी वैशाख, असार, असोज, कात्तिक, मंसिर, माघ र फागुनमा फूलको बढी कारोबार हुने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर