NewsKoseli.Com

‘ग्राहक’ सँगै विवाह, टुट्यो सबैको सम्बन्ध…

रेस्टुरेन्ट, डान्सबार, क्याबिन र गेस्टहाउसमा ‘यौनधन्दा’ गर्न विवश युवतीहरुको कारुणिक कथा !

कथा– १

२६ वर्षीया (हाल) बाराकी निकिता कार्की (नाम परिवर्तन) आमा–बुबाको मृत्यु र दाजु–दिदीको विवाहपछि एक्ली हुन पुगिन् । १२ वर्षकै उमेरमा उनले आमाबाबु गुमाउनु पर्‍यो ।

निकिताले ४ कक्षामा नै आफ्नो अध्ययन समेत स्थगित गरिन् । त्यसपछि उनी कामको खोजीमा काठमाडौं पसिन् ।

साहिँली दिदी काठमाडौंमै बस्ने भएकाले निकिता दिदीसँगै बस्न थालिन् । दिदीले रेस्टुरेन्टमा काम गर्ने भएकाले उनले पनि दिदीसँगै गोगंबुस्थित एक रेस्टुरेन्टमा काम सुरु गरिन् ।

रेस्टुरेन्टमा काम गर्ने सिलसिलामै एक पुरुष साथीसँग उनको भेट भयो । समयक्रममा निकिताले तिनै ‘साथी’ सँग विवाह गरिन् । विवाहको केही समयपछि उनी गर्भवती समेत भइन् ।

बच्चा जन्मेपछि आफूले गर्दै आएको ‘व्यवसाय’ मा समस्या पर्ने सोच्दै निकिताले आफ्नो गर्भमा आएको बच्चा ‘बिगार्न’ का लागि पेटमा थिप्ने र हिर्काउने तथा अनेकौं तरिकाले गर्भपतनसम्म गर्न आँटिन् । तर, अन्त्यमा बच्चालाई जन्म दिइन् ।

बच्चा एक वर्षको हुँदानहुँदै उनका श्रीमानले छाडिदिए निकितालाई । टिकेन उनको वैवाहिक सम्बन्ध । जम्माजम्मी दुई वर्षमै टुट्यो उनको वैवाहिक सम्बन्ध ।

श्रीमानले छाडेपछि निकिताले पुनः क्याबिन रेस्टुरेन्टमा काम गर्न थालिन् । एक वर्षको बच्चा साथमा लिएर उनी लागिन् रेस्टुरेन्टकै काममा । काम गर्ने ठाउँको एक कुनामा बच्चा सुताएर तथा साथैमा लिएर पनि उनी ग्राहकसँगै साथमा बसेर ग्राहक खुसी पार्थिन् ।

के–के काम गर्नुभयो तपाईंले रेस्टुरेन्टमा ? पंक्तिकारको जिज्ञासा खस्न नपाउँदै निकिताले जवाफ दिइन्– ‘ग्राहकले जे–जे भन्छन् सबै काम गर्नुपर्छ, मैले पनि गरें ।’

‘महँगो रकम तिरेर क्याबिन रेस्टुरेन्टमा आएका ग्राहकले ‘खास’ इच्छा राखेका हुन्छन्’, उनले हाँसेर भनिन्– ‘त्यसैले हामीले पनि ग्राहकको चित्त बुझाउनुपर्‍यो ।’ कति ग्राहकले त रेस्टुरेन्टबाट ‘गेस्टहाउस’ तिर समेत लाने गरेको उनले बताइन् ।

छोरा तीन वर्षको पुगेदेखि नै उनी छोरालाई कोठामा एक्लै छाडेर काममा जान्थिन् । उनका छोरा अहिले ९ वर्षका भइसकेका छन् । उनी आजकल स्कुलबाट फर्केर आमालाई कुरिरहेका हुन्छन् । आमाले राति अलि बढी अबेर गरेमा छिमेकी आन्टीको साथमा बस्ने गर्दछन् ।

आमाले के काम गर्छिन् भन्ने कुरा छोरालाई पनि थाहा भएको निकिता बताउँछिन् । यसरी उनले ‘मनोरञ्जन’ को क्षेत्रमा काम गरेर छोरो पाल्दै आएकी छन् । र, एक गैरसरकारी संस्थाको सहयोगमा छोरालाई पढाउँदै आएकी छन् ।

++++            ++++

कथा– २

अञ्जली थापा (नाम परिवर्तन) को कथा पनि निकिताको जस्तै छ । बुबाको मृत्युपछि पारिवारिक आर्थिक दूरावस्थाका कारण अञ्जलीकी आमा दुई छोरी साथमै लिएर करिव दस वर्षअघि काठमाडौं पसिन् ।

अञ्जलीकी आमा आफूले काम गर्दै छोरीहरु पढाउन भनी काठमाडौं आएकी हुन् । सुरुको छ महिनासम्म सतुङ्गलका विभिन्न घरमा गएर भाँडा माझ्ने र कपडा धुने काम गरिन् उनले । काठमाडौंको बसाइ, त्यसमाथि छोरीहरु पढाउनुपर्ने भएकाले आर्थिक समस्याले झन् थिच्ने नै भयो । ‘राम्रो कमाइ’ हुने सुनेपछि अञ्जलीकी आमाले रेस्टुरेन्टतिर काम सुरु गरिन् ।

दिनभरि छोरीहरुलाई स्कुल पठाएर क्याबिन रेस्टुरेन्टमा काम गर्न थालिन् उनी । त्यहाँ काम गर्दा उनले पनि ‘ग्राहकको चित्त’ बुझाउनु पर्दथ्यो । र, बुझाउँथिन् पनि । अञ्जली र उनकी दिदीले पनि आमाले गर्दै आएको काम सानैदेखि देख्दै आए । क्रमशः उनीहरु हुर्कंदै र ठूला हुँदै पनि आए । १३ वर्षको उमेरदेखि अञ्जली र उनकी दिदीले पनि पढ्न छाडेर आमाले गर्दै आएको ‘पेशा’ नै अँगाले ।

क्याबिन रेस्टुरेन्टमा आएका ग्राहकलाई ‘खुशी पार्नु’ नै उनीहरुको दैनिकी बनिसकेको थियो । रेस्टुरेन्टमै ‘खुशी हुन’ नसकेका ग्राहकलाइ ‘खुसी पार्न’ ती दुई बहिनीहरु ‘गेस्टहाउस’ सम्मै पनि पुग्ने गर्दथे ।

त्यसै सिलसिलामा अञ्जलीले एक जना ‘ग्राहक’ सँगै विवाह गर्न पुग्दछिन् । विवाह भएको एक वर्षपछि उनकी छोरी जन्मन्छिन् । छोरी जन्मेको करिव तीन महिनामै उनका श्रीमानले छाडिदिए ।

आफूले गर्दै आएको ‘पेशा’ अञ्जलीले सुत्केरी अवस्थामा छाडिदिएकी थिइन् । बच्चा सात महिनाको भएपछि उनले पुनः ‘पेशा’ लाई निरन्तरता दिइन् । माइतमै दिदीकहाँ छोरी छाडेर उनले क्याबिन रेस्टुरेन्टमै काम गरिन् ।

आफू र बच्चाको जीविकाका लागि यो ‘व्यवसाय’ गर्दै आएको बताउँछिन् अञ्जली । अहिले उनकी छोरी छ वर्षकी भइसकेकी छन् । ‘चेन्ज नेपाल’ नामक एक गैरसरकारी संस्थाको सहयोगमा उनकी छोरी दुई कक्षामा पढ्दैछिन् । अहिले पनि अञ्जली निरन्तर रुपमै ‘यौन व्यवसाय’ गरिरहेकी छन् ।

++++            ++++

कथा– ३

अर्की एक किशोरीको कथा पनि माथिका दुई कथासँगै मिल्दोजुल्दो छ ।

दक्षिणकाली घर भएकी २० वर्षिया अनिता (नाम परिवर्तन) उनी पनि ठूलठूलो सपना बुनेर साथीहरुसँग काठमाडौं आएकी हुन् । उनले पनि ‘गेस्टहाउस’ मा काम सुरु गरिन् ।

सुरुमा उनी गेस्टहाउसमा भाँडा माझ्ने र जुठा भाँडा उठाउने काम गर्दथिन् । पछि उनलाई साहुले ‘ग्राहकलाई खुशी पानुपर्छ, ग्राहकले जे भन्छन् त्यही मान्नुपर्छ’ भने ।

त्यपछि अनिताले पनि ग्राहकको माग अनुसारको ‘सेवा’ दिन थालिन् । गेस्टहाउसमा आउने ग्राहकहरुसँग ‘यौनकार्य’ गर्न थालिन् उनी । बिस्तारै उनको ‘पेशा’ नै ‘यौनधन्दा’ हुन पुग्यो ।

समयक्रममा उनले पनि ‘ग्राहक’ का रुपमा आउने एक पुरुषसँग विवाह गरिन् । विवाहपछि उनका एक छोरा जन्मिए । छोरा जन्मेपछि उनका श्रीमानले पनि अनितालाई छाडिदिए ।

छोरालाई माइतीमै राखेर अहिले पनि अनिता आफूले गर्दै आएको ‘गेस्टहाउस’ मा ‘यौनपेशा’ गर्दै आएकी छन् । अहिले उनका छोरा ५ वर्षका भइसके ।

++++            ++++

कथा– ४

निकिताको भन्दा पनि कहालीलाग्दो व्यथा छ सिमा परियार (नाम परिवर्तन) को ।

सिन्धुपाल्चोककी १७ (हाल) वर्षिया सिमा पारिवारिक कलहका कारण ४ वर्षअघि आमा र भाइसँग काठमाडौं आइन् । आमाले अर्को विवाह गरेपछि उनी सौतेनी बाबुसँग बस्न थालिन् ।

सौतेनी बुबा र आमाबाट उनीसँग खपिसक्नु व्यवहार भएन । उनले आमाबाटै विभिन्न किसिमको घरेलु हिंसा भोग्नुप¥यो । परिवारभित्र अनेकौं किचलोका कारण ९ कक्षाको पढाइ छाडेर उनी साथीसँग बस्न थालिन् ।

साथीको सहयोगमार्फत सिमाले ‘डान्स बार’ मा काम थालिन् । काठमाडौंबाट डान्स बारमा काम सुरु गरेकी सिमाले पोखरा, धनगढीलगायतका ठाउँसम्म पुगेर ‘काम’ गरिन् ।

पोखराको एउटा डान्स बारमा करिव दुई वर्ष काम गरिन् । डान्स गर्दा शरीर ज्यादै दुख्ने भएकाले उनले लागूऔषधको सेवन समेत सुरु गरिन् । मादक पर्दाथको सेवन त उनको लत नै भइसकेको थियो ।

सामाजिक र प्रशासनिक कारणले नयाँ–नयाँ ठाउँमा ‘काम’ गर्न सजिलो हुने भएकाले उनी पोखरा छाडेर धनगढीको डान्स बारमा पुगिन् । धनगढीमा त उनी साहुबाटै यौन शोषणमा परिन् । साहुबाटै उनी गर्भवती समेत भइन् ।

उनले त्यहीं बच्चा जन्माइन् । उनका छोरा एक वर्षको भइसकेका छन् । सिमा अहिले बच्चा लिएर एक गैरसरकारी संस्थाद्वारा सञ्चालित आवासगृहमा बसिरहेकी छन् । र, आवासगृहमा नै हस्तकलासम्बन्धी तालिम पनि लिइरहेकी छन् ।

उनका ‘साहु’ अहिलेसम्म उनी र बच्चालाई भेट्न आएका छैनन् । यो बच्चाभन्दा अघि पनि अर्को बच्चा जन्माएर पैसा लिई अरुलाई नै दिएको बताउँछिन् उनी ।

++++            ++++

होटल, खाजाघर, रेस्टुरेन्ट, क्याबिन, गेस्टहाउस, दोहोरी साँझ, डान्सबार, स्पा, मसाज सेन्टरलगायतका ‘मनोरञ्जन’ क्षेत्रमा काम गर्ने कयौं बालिका तथा किशोरीहरु निरन्तर यौनदुर्व्यवहारको शिकार हुने गरेका छन् । ती क्षेत्रमा ‘काम’ कै सिलसिलामा कयौं युवतीहरु गर्भवती हुने तथा आमा बन्ने गरेका छन् ।

यी पेशाका युवतीहरुमध्ये झन्डै–झन्डै सबैजसोको वैवाहिक सम्बन्ध टुट्ने गरेको देखिन्छ । र, कामकै क्रममा जन्मेका र बाबु समेत ठेगान नलागेका बच्चा र ‘अविवाहित आमा’ बाट जन्मेका बालबालिका रकम लिएर समेत अरुहरुलाई दिइने गरेको पनि पाइन्छ ।

वैवाहिक सम्बन्ध टुटिसकेपछि बच्चा आफैसँग राख्दा आफूले गर्दै आएको काम गर्न समस्या पर्ने भएकाले यस्ता महिलाहरुले आफ्ना बच्चा जे–जसरी हुन्छ अरुलाई नै दिने गरेको पाइन्छ । ‘मनोरञ्जन’ क्षेत्रका प्रायः ‘ग्राहक’ हरु केवल ‘मनोरञ्जन’ कै लागि मात्र आउने र उनीहरुमध्ये धेरैजसो विवाहित पुरुष हुने गरेका पाइन्छन् ।

यसो हुँदा ‘यौनपेशा’ अँगालेका बालिका तथा किशोरीहरुसँग ती ‘ग्राहक’ को विवाह भई नै हाले पनि यस्तो विवाहलाई उनीहरुले धेरै नै सामान्य रुपमा लिनेगरेको देखिन्छ । घरमा भएकी श्रीमती र परिवारसँग सम्बन्ध बिग्रने डरका कारण यस्ता वैवाहिक सम्बन्ध टिक्न नसकेको मनोविमर्शकर्ता नीता वैद्य बताउँछिन् ।

आलेखमा संलग्न तस्बिर लेखिकाको हो । – सम्पादक

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर