newskoseli.Com

महानगरका सडक २ वर्षभित्रै बेवारिसे तथा अनाथमुक्त !

दुई–तीन महिना अघि सिरियाबाट झापा आएकी एक मनोरोगी महिलाको उद्धार भयो, जसले आफ्नो ३ लाख रूपैयाँ र सुटकेस हराएको भनेकी थिइन् । १५ दिन औषधि चलाएपछि उनलाई पूरै ठीक भयो ।

डेढ वर्षअघि आसाम (भारत) बाट पैसा बोकेर बन्दीपुरमा जग्गा किन्न आफ्नो ससुराली आएका भनिएका अर्का मनोरोगी बिजुलीको खम्बामा टाउको ठोकेर आत्महत्या गर्न लाग्दा उद्धार भई सात दिनसम्म औषधि सेवन गराउँदा ठीक भए र बन्दीपुर नै पुर्‍याइए ।

ग्याङरिन रोगले दुई खुट्टा कुहिएका मध्यप्रदेश (भारत) का एक कामदारलाई खुट्टा काट्नुपर्ने अवस्था भए पनि काट्न नमानेकाले रेलमा घर पुर्‍याइयो । परिवारमा उनी मरेको भनी ठेकेदारबाट खबर दिइएको रहेछ, उनको उपस्थितिले परिवार खुशी भयो ।

सहयोगापेक्षी सडक मानवमुक्त नेपाल एवं मानवीयताको राष्ट्र नेपालको परिकल्पनाका साथ २०६९ भदौ १३ मा हेटौंडा (मकवानपुर) मा स्थापित मातृसंस्था ‘सर्वाेत्कृष्ट जीवनः शाश्वत चिन्तन’ (साँचो जीवन निर्माण अभियान, २०६६) ले मानव सेवा आश्रमले त्यस्ता ७ सय १५ जना विभिन्न उमेरसमूहका व्यक्तिको उद्धार, उपचार, पालनपोषण एवं २ सय ५० जनाभन्दा बढी व्यक्तिलाई सुन्दर पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ ।

शाश्वत चिन्तनका अध्यक्ष डा. गोविन्द टण्डन छन् भने महजोडी आश्रमका सद्भावनादूत रहेका छन् । आश्रमले त्यस्ता १ सय ५९ महिला (लक्ष्मी) र १ सय ३० पुरुष (नारायण) बेसहारा एवं मनोरोगी तथा ४७ जना बालबालिकाको उद्धार गरिसकेको भने २ सय ८० जनालार्इ भारत पुर्‍यार पारिवारिक पुनर्मिलन गराइसकेको छ । १ सय जनाको शव पनि सडकबाट उठाइसकेको छ ।

उद्धार गरिएकामा गरिबी तथा आफ्नै स्वभाव र कर्मले मनोरोगी भएका ९० प्रतिशत र घाउ कुहिएका, अशक्त र वृद्ध १० प्रतिशत रहेका छन् । १ सय जना मृतकलार्इ प्रहरीको मुचुल्का र शव परीक्षणपछि पशुपति क्षेत्र विकास कोषको सहयोगमा सद्गत गरिएको आश्रम काठमाडौंका संयोजक तथा प्रवक्ता सुमन बर्तौलाले जानकारी दिएका छन् ।

आश्रमले स्वयंसेविका, वडा सदस्य, सामाजिक परिचालिकालगायतलाई उत्प्रेरणा एवं क्षमता विकास तालीम तथा मानिसलाई सडकमा बेसहारा बसी आउनुपर्ने अवस्था आउन नदिन प्रहरी, चिकित्सक, संघसंस्थाका मानिसलाई तालीम, गोष्ठी जस्ता प्रवद्र्धनात्मक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

अहिले ५० युवा आश्रममा स्वयंसेवीका रुपमा कार्यरत छन् जो विनापारिश्रमिक उद्धारका लागि हप्ताको सातै दिन रातदिन हिँडिरहेका छन् । संस्थाको कार्यकारी समितिमा पनि पूर्ण रुपमा स्वयंसेवक बनेकाहरु मात्र बस्न पाउने प्रावधान छ ।

काठमाडौं महानगरपालिकाले पनि महानगरपालिकाका सडक तथा पेटीमा रहेका वृद्धवृद्धा तथा अशक्त एवं अपांग व्यक्तिलाई हटाई महानगरभित्रका ३२ वटै वडामा व्यवस्थित रुपमा राखिने जनाएको छ । पुस २१ देखि अभियानका रुपमा सुरु गरिने उक्त कार्यक्रममा आफ्नो टोल, छिमेक र सडकमा बेवारिसे अवस्थामा रहेकाहरुबारे सूचना दिन आग्रह गरिएको छ ।

उक्त कार्यमा मानवसेवा आश्रमले सहयोग गर्ने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी शुक्रबार आयोजित कार्यक्रममा दिए । आफ्नो संस्थाका सामाखुशी र बुढानीलकण्ठस्थित शाखा–उपशाखामा उनीहरुलाई तत्काल व्यवस्था गरिने बताउँदै दुई वर्षभित्र महानगरका सडक बेवारिसे तथा अनाथ व्यक्तिमुक्त पार्ने योजना भएको जानकारी उनले दिए ।

हेटौंडाबाट आरम्भ भएको आश्रमका हाल चितवन, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, पर्सा र बागलुङमा आश्रम सञ्चालित छन् । हेटौंडा व्यावहारिक रुपमा सडकमानवमुक्त बनिसकेकाले औपचारिक घोषणाको अन्तिम तयारीमा छ भने ‘मानवीयताको सहर’ निर्माणका लागि नगर परिषदबाट नीतिगत रुपमा पारित भई कार्यान्वयनको तहमा छ ।

हरेक महिना कम्तिमा १ हजार जनामा जीवन रुपान्तरण एवं मानवीय मूल्य–मान्यता प्रवर्द्धनसँग सम्बन्धित जीवनोपयोगी कार्यक्रम सञ्चालन गर्ने तथा वि.सं. २०८२ भित्र नेपाललाई नै सहयोगापेक्षी सडकमानवरहित राष्ट्रका रुपमा विकास गराउने संस्थाको योजना छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर