newskoseli.Com

गँहुमा बढ्यो फौजी कीरोको प्रकोप

गहुँ बालीमा फौजी कीराले नोक्सान गर्न थालेपछि बर्दघाट सुस्ता पश्चिमका किसान चिन्तित बनेका छन् ।

गत वर्षजस्तै गहुँ बालीमा यस वर्ष पनि फौजी कीराको प्रकोप देखिएको छ । प्रकोपका कारण गहुँ उत्पादनमा ह्रास आउने देखिएको छ । गहुँ उत्पादनका लागि उर्वर मानिएको नवलपरासीमा यस वर्ष फौजी कीराको प्रकोप रामग्राम नगरपालिकाको पश्चिम क्षेत्रमा देखिएको छ ।

आर्मी वर्म नामक फौजी कीरा विशेषगरी रातमा सक्रिय हुन्छ । किसानले दिउँसो विभिन्न कीटनाशक औषधि प्रयोग गर्ने गरेका छन् । फौजी कीराले गहुँको पात काटेपछि गहुँको बोट खैरो हुँदै सुक्ने गरेको रामग्राम नगरपालिका– १६ का राजेन्द्र खवासले बाताए ।

एक बिगाहा क्षेत्रफलमा गहुँ खेती गरेका रामग्राम नगरपालिका पजरकट्टीका दीपेन्द्र पाण्डे फौजी कीराको प्रकोप देखिएको बताउँछन् । गहुँ बढ्ने समयमा किराले पात काट्न थालेको उनले बताए । गत वर्ष समेत फौजी कीराकै कारण गहुँ उत्पादनमा कमी आएको थियो ।

अधिकांश कृषकले औषधि छर्न थालेका छन् । सो कीरा नियन्त्रणका लागि साइपरमेथ्रिन र क्लोरोपाइरोफस विषादी प्रतिलिटर पानीमा १.५ देखि २ मिलिलिटरसम्म मिसाएर छर्दा कीरा नियन्त्रण गर्न सकिने जिल्ला कृषि विकास कार्यालयका बाली प्राविधिक योगेन्द्र यादवले बताए ।

गत वर्ष कार्यालयले उक्त औषधि निःशुल्क वितरण गरेको थियो । तर, चालु आ.व. मा सम्पूर्ण बजेट र कृषिका कार्यक्रम स्थानीय तहमा गएकाले कृषकलाई औषधि वितरण गर्न नसकिएको यादवले बताए । साइपरमेथ्रिन र क्लोरोपाइरोफस विषादी तथा लारा, कमान्डो, राहिनो ५०५ औषधि प्रयोग गरे कीरा नियन्त्रण गर्न सकिन्छ ।

औषधि साँझको समयमा छर्न कार्यालयले सुझाव दिएको छ । गत वर्ष नवलपरासीमा करिव ३५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको बताइएको छ । जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर