newskoseli.Com

चिया छाँटकाँटमै व्यस्त यी किसानहरू…

चिसो मौसम सुरु भएसँगै चियाको मुना पलाउन छाडेको छ । तर, इलामका किसानको व्यस्तता भने चियाबारीमै देखिन्छ । यहाँका चिया किसानको दैनिकी चियाबारीमै बित्ने गरेको छ ।

चैतदेखि निरन्तर हरियो चियापत्ती टिप्दै कारखानामा पुर्‍याउन खटेका कृषक यतिबेला काँटछाँटमा व्यस्त छन् । चिया टिपाइ सकिनासाथ काँटछाँटको काम सुरु हुन्छ । चियालाई विभिन्न चरणमा काँटछाँट गरिन्छ । यतिबेला कटिङको काममा कृषक व्यस्त छन् । चिया टिपाइ सकिएपछि हल्का ढंगले हरेक वर्ष काँटछाँट गर्ने गरिएको छ ।

यतिबेला चिया नकाटिए उत्पादनमा ठूलो असर पुग्ने अन्तुका चिया किसान केशव घिमिरे बताउँछन् । हरेक तीन वर्षमा चियालाई डिप कटिङ गर्नुपर्छ । जमिनको सतहभन्दा १२ देखि १४ इञ्चसम्म यो कटाइ गर्नुपर्छ । चिया रोपेको १५ वर्षको हाराहारीमा जमिनको सतहबाट छ सेन्टिमिटरमा अर्को कटाइ हुन्छ । तर, यहाँका नयाँ बगानले यो कटिङ गर्नुपरेको छैन ।

ठूलो बगान भएका कृषकले ब्लक छुट्याएर यो क्रमलाई निरन्तरता दिने गरेका छन् । कटिङ गर्ने क्रममा अधिकांश कृषक व्यस्त छन् । चियामा काम गर्ने श्रमिकको संख्या घट्दै गएकाले अर्मपर्मले काम चलाउने गरेको कृषकको भनाइ छ । “चियामा काम गर्ने श्रमिक पाउनै मुस्किल छ”, किसान लक्ष्मण गौतमले भने– “खेती बिगार्नुभन्दा आफैं अर्मपर्म गरेर काम चलाउने गरेका छौं ।”

ठूला चिया बगानमा पनि श्रमिक घटेका कारण काँटछाँटमा मेसिनको प्रयोग हुने गरेको छ । तर, मेसिनको कटिङले उत्पादनमा असर पुगेको भन्दै अधिकांश कृषकले मेसिनकाे प्रयोग घटाएका छन् । जिल्लाभर विस्तार भएको चिया क्षेत्रमा हरेक कृषकको यस्तै दैनिकी छ । फैलिँदो चियाखेती र घट्दो कामदारका कारण खेतीवालाले नै सबै काम गर्नुपर्नाले कृषकको व्यस्तता बढेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर