newskoseli.Com

सुन्न र बोल्न सक्दैनन्… तर कमाउँछन् ४ लाख !

रामपुरका युवा शशिराज डोटेल अपाङ्ग छन् । तर, उनकै भरमा चलेको छ ६ जनाको परिवार । शशिराज सुन्न र बोल्न सक्दैनन्  । तर, उनले गरेको तरकारी व्यवसाय अन्य सबलाङ्ग व्यक्तिकाे भन्दा कम छैन ।

शशिराजको कृषिकार्य देख्ने जो–कोही पनि दंग छन् । उनले १० वर्षदेखि ४ रोपनी जग्गामा तरकारी गर्दै आएका छन् । उनी तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रुपमा चिनिन्छन् । डोटेलको कृषि पेशाप्रतिको मेहनत, लगाव र लगनशीलता जो–कोहीलाई आश्चर्यचकित पार्ने खालको छ ।

तरकारी लगाएर नै उनले छोराछोरीको पढाइ खर्च र घरायसी खर्च चलाउने गरेका छन् । तरकारी खेतीका अलवा उनले अहिले ३ वटा दुहुना भैंसी, ५ सय कुखुरा र ९ वटा बाख्रा पाल्दै आएका छन् । अहिले दैनिक २० लिटर दूध बिक्री गर्छन् डोटेल । उनी वार्षिक ४ लाख रूपैयाँसम्म आम्दानी गर्छन् ।

साढे दुई वर्षको उमेरमा मेनेन्जाइटिस रोगबाट ग्रसित डोटेलले विभिन्न ठाउँमा उपचार गरे पनि निको नहुँदा जीवनभर सुन्ने र बोल्ने क्षमता गुमाएका हुन् । छोराको व्यवसायबाट उनकी आमा भगवती निकै खुशी छिन् । “६ जना सन्तानमध्येकाे एउटा छोरो अशक्त भए पनि उसको व्यवसायले मनमा हौसला बढ्दै गएको छ”, भगवतीले भनिन्– “सानोमा मज्जाले बोल्ने र सुन्ने छोरो रोग लागेर जीवनभर सुन्न र बोल्न नसक्ने भए पनि काम, मेहनत र लगनशीलता देख्दा निकै खुशी लागेको छ ।”

तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख र उत्पादनदेखि बिक्रीसम्म गर्न आफैं मोटरसाइकल चलाएर बजार पुग्छन् शशिराज । ८ कक्षासम्मको शिक्षा लिएका उनलाई श्रीमती दुर्गाले साथ दिँदै आएकी छन् । बैंकिङ कारोबारदेखि घरायसी व्यवहार उनी आफैंले गर्दै आएका छन् ।

“सुन्न र बोल्न नसक्ने भए पनि काम र लगनशीलता सबलाङ्ग व्यक्तिको भन्दा कम छैन,” उनले भनिन् । शशिराजले ३ महिने सामुदायिक कृषि सहायक तालिम पूरा गरेका छन्, जसले व्यवसाय गर्न सजिलो भएको छ । उनको व्यवसाय प्रशंसायोग्य मात्र नभई सबैका माझ नमूना बनेको छ । मान्छेले भित्री मनदेखि नै इच्छाशक्ति देखाएर काम गर्‍यो भने व्यवसायमा सफल भइन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् शशिराज ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर