newskoseli.Com

१ सय ५४ वर्षपछि नेपाली चियाले पायो आफ्नै पहिचान

नेपालमा चिया खेती सुरु भएको झन्डै १ सय ५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।

चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघ–संस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि नेपाली अर्थोडक्स चिया दार्जिलिङको लोगोमा अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको थियो ।

कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएशन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका कार्यान्वयनमा ल्याएको हो । तर, लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु धेरै चुनौती रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चियाविज्ञ चन्द्रभूषण सुब्बा बताउँछन् ।

वि.सं. १९२० मा इलामबाट सुरु भएको चियाखेती अहिले देशका ४४ जिल्लामा फैलिसकेको छ । तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाले इलाममा चियारोपण गरेका थिए । त्यसपछि वि.सं. १९३५ मा कारखाना स्थापना गरेर यहींबाट चिया उत्पादन समेत सुरु भएको थियो । नेपालकै सबैभन्दा पुरानो र ऐतिहासिक चिया कारखाना पनि इलाममा छ ।

चियाले आफ्नै पहिचान बनाएपछि चियाखेतीमा संलग्न किसान हर्षित भएका छन् । लोगो कार्यान्वयनका लागि मन्त्रालयले नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ । निर्देशिकाले लोगो प्रयोग गर्नका लागि पूर्ण रूपमा अर्ग्यानिक चिया उत्पादन हुनुपर्ने प्रावधानसँगै केही निश्चित मापदण्ड समेत निर्धारण गरेको छ ।

लोगो प्रयोग गर्न चाहने चिया उत्पादकले निवेदन दिएपछि लोगो प्रयोगको प्रक्रिया अघि बढ्ने निर्देशिकामा उल्लेख छ । “लोगो प्रयोग गर्न चियाको गुणस्तरदेखि कामदारको रोजगारीको सुरक्षा र वातावरण संरक्षणसम्मको मापदण्ड पूरा गर्नुपर्छ”, चियाविज्ञ सुब्बा भन्छन्– “लोगो र निर्देशिका स्वीकृत भयो, अब नेपाली चियाले अन्तर्राष्ट्रिय बजार लिन्छ ।”

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउनका लागि अर्ग्यानिक र गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा लोगो स्थापित भएमा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने र त्यसको प्रत्यक्ष लाभ किसानले पनि पाउने भएकाले सबैले लोगो कार्यान्वयनमा जोड दिनुपर्ने सुब्बाले बताए ।

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि सगरमाथा बेस क्याम्पमा उद्घाटन गर्ने तयारी भइरहेको छ । विश्वका ठूला क्रेता र विश्वका पत्रकारलाई सगरमाथाको बेस क्याम्प पुर्‍याएर अप्रिलमा लोगो उदघाटन गर्ने तयारी भइरहेको होड्पाले जनाएको छ ।

अप्रिल ६ देखि ३ दिनसम्म काठमाडौंमा चिया सम्मेलन हुँदैछ । लोगो कार्यान्वयनमा उत्पादकदेखि किसानसम्म अन्तर्राष्ट्रिय श्रम संगठन (आर्इएलओ) र होड्पाले विभिन्न अन्तरक्रिया कार्यक्रम गरिरहेका छन् । इलाम, झापा, पाँचथर, धनकुटा तेह्रथुम, ललितपुरमा चिया किसान र उत्पादकसँग लोगो प्रयोग र यसले उत्पादक र किसानलाई हुने फाइदाको विषयमा जानकारी गराउन थालिएको छ ।

नेशनल एशोसिएशन अफ सस्टेनेबल एग्रिकल्चर (नासा) बाट अर्ग्यानिक प्रमाणित भएका चिया बगानका किसान र उद्योगी पनि अर्ग्यानिक उत्पादनमा लागेका छन् । कलकता र दार्जिलिङ पुगेको नेपाली चिया भारतीय लोगोमा तेस्रो मुलुक पुग्ने गरेको जानकारी दिँदै तेस्रो मुलुकमा नेपाली अर्ग्यानिक चियाको बजार बढाउने गरी सबै क्षेत्र जिम्मेवार बनेर लाग्नुपर्ने केन्द्रीय चिया उत्पादक सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए ।

इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने २० वटा ठूला चिया कारखाना छन् । तीमध्ये फिक्कल सुन्दरपानीको गोर्खा टी स्टेट, फाकफोकथुमको तीनजुरे चिया उत्पादन कारखाना, साँखेजुङको हिमालयन सांग्रिला, माइपोखरीको सन्दकफुलगायत चिया कारखानाले स्थापनाकालदेखि नै अर्ग्यानिक चिया उत्पादन गर्दै आएका छन् ।

भारतीयले चलाएको कारखानाबाट भारतीय लोगोमै तेस्रो मुलुकमा चिया जाने भएकाले अब नेपालको अर्ग्यानिक चियालाई पहिचान दिने अध्यक्ष दाहाल बताउँछन् । भारतको चियाभन्दा नेपालको चिया राम्रो र गुणस्तरीय भएको दाबी गर्दै उनले निर्देशिकाले साना किसानको उत्पादनलाई समेत समेट्नुपर्ने बताए ।

पछिल्लो समय ललितपुर, रामेछाप, कास्कीको पोखरामा पनि चियाखेती गर्न थालिएको छ । केन्द्रीय चिया सहकारी संघ इलामका अनुसार नेपालमा ९० हजारले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गरेका छन् ।

नेपालमा निजी क्षेत्रबाट ६७ प्रतिशत र सरकारी क्षेत्रबाट ३३ प्रतिशत चिया उत्पादन हुन्छ । संघका अनुसार नेपालमा उत्पादित चिया १० प्रतिशत मात्रै नेपालमा खपत हुने गरेको छ भने बाँकी ९० प्रतिशतमध्ये पनि पाँच प्रतिशत युरोपियन देशमा निर्यात हुने गरेको छ ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा आ.व. २०७३/७४ मा २७ हजार ६ सय ८८ हेक्टर जमिनबाट २ करोड ४२ लाख ७३ हजार ७ सय ४४ किलोग्राम चिया उत्पादन भएको थियो । बोर्डका अनुसार देशकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा झापा, इलाम, पाँचथर र तेह्रथुम पर्दछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर