newskoseli.Com

अन्योलमा एमाले–माओवादी एकता, माओवादी तत्काल ओली सरकारमा नबस्ने

बिहीबार कार्यालय समय सुरू भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

तर, एमालेसँगै पार्टी एकताको अन्तिम कसरतमा रहेको र चुनावमै संयुक्त गठबन्धन बनाएर एउटै घोषणापत्रसाथ सँगसँगै होमिएको नेकपा माओवादी केन्द्र भने तत्काल ओली सरकारमा सहभागी नहुने भएको छ ।

बुधबार बिहानैदेखि बिहीबार अपराह्नसम्म विकसित राजनीतिक घटनाक्रमबाट माओवादी केन्द्रका वरिष्ठ नेताहरू निकै असन्तुष्ट र अन्यौलग्रस्त बन्न पुगेका देखिँदैछन् । केही साता अगाडिदेखि नै एमाले अध्यक्ष ओली र एमालेका सबैजसो नेताहरू पहिले सरकारको गठन, त्यसपछि मात्रै पार्टी एकता भन्दै आइरहेका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सबैजसो नेताहरू चाहिँ पहिले पार्टी एकता र त्यसपछि मात्रै सरकारको गठन भनेर त्यसैतर्फ जोडबल गरिरहेका थिए ।

दुर्इ पक्षबीच राजनीतिक कार्यसूचीमा पूरै भिन्नता देखिएपछि एमालेले पार्टी एकताको प्रारम्भिक रूपरेखा घोषणा गरेर मात्रै सरकार गठन गर्ने निर्णय स्थायी किमिटीको बैठकबाटै लिएको थियो । दुवै काम सँगसँगै र एउटै प्याकेजमा टुंग्याउने गरी दुवै पार्टीका शीर्षसहित वरिष्ठ नेताहरू सहमत भएका देखिन्थे ।

यसै सिलसिलामा बुधबार रातिसम्म लगाएर भए पनि दुर्इ पार्टीबीच एकताको मोटामोटी टुंगो लगाउने र बिहीबार साँझतिर वा शुक्रबार सबेरै केपी शर्मा ओलीको नेतृत्वमा दुवै पक्षका केही नेताहरूलार्इ समेटेर सानो मन्त्रीपरिषदसहित नयाँ सरकार गठन गर्ने सहमति जुटेको थियो । र, सोहीअनुरूप बुधबार दुवै पार्टीका अध्यक्षको बैठक बस्यो । लगत्तै दुवै पार्टीका शीर्ष तहका बेग्लाबेग्लै बैठक बसे । त्यसपछि पार्टी एकता टुंग्याउने भन्दै संयोजन समितिको बैठक बस्यो ।

मुख्य नेतृत्व, सरकारको नेतृत्वमा आलोपालो, आधारभूत संगठनात्मक स्वरूप, मोटामोटी राजनीतिक–वैचारिक विषयलगायत सबैजसो मुख्य मुद्धामा दुवै अध्यक्ष सहमतिमा पुगेर र तिनलार्इ आ–आफ्नो पार्टीका उपल्लो कमिटीबाट अनुमोदन गराइसकेपछि बसेको संयोजन समितिको बैठकमा पार्टी एकताको ७ बुँदे लिखित सहमतिमा हस्ताक्षर हुनै आँटेको थियो । तर, एकाएक पार्टी एकता संयोजन समितिको बैठक विनानिष्षर्ष टुंगियो ।

राजनीतिक–सैद्धान्तिक विषयमा थप छलफल गर्नुपरेकाले बिहीबार पुनः संयोजन समितिको बैठक बस्ने र त्यसबाट पार्टी एकता घोषणाको सहमतिमा हस्ताक्षर गरेपछि मत्रै प्रधानमन्त्रीसहित केही मन्त्रीहरू नियुक्त गर्ने भन्दै दुवै पक्षका नेताहरू उठे । तर, बिहीबार बिहानैदेखि घटनाक्रमले अनौठो रूप लियो । बिहानै ओली–प्रचण्डले राष्ट्रपतिकहाँ पुगेर आफूहरूको बहुमत दावी गर्दै केपी ओलीलार्इ प्रधानमन्त्री नियुक्त गर्न पत्र बुझाए । र, संयोजन समितिको बैठक बस्नुअघि नै राष्ट्रपतिले ओलीलार्इ प्रधानमन्त्री नियुक्त गरिन्, अपराह्न ४ बजेलार्इ सपथग्रहणको समय तोकियो ।

प्रधानमन्त्रीको नियुक्ति र सपथग्रहणको माहोलका कारण बिहीबार संयोजन समितिको बैठक बस्ने स्थिति नै बनेन । माओवादी केन्द्रका नेताहरू एकाएक चित् खान पुगे । र, कतिपय नेताले त सामाजिक सञ्जालमै लेखे– ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार !’

‘उहाँहरू आफ्नै तालले बेग्लै योजनासाथ अघि बढ्नुभयो, विषयवस्तु वारपार नभर्इकन अब हामी सरकारमा जाँदैनौं’, दुर्इ पार्टीबीचको एकता कहाँ पुग्यो र माओवादीबाट सुरूमा को मन्त्री बन्दैछ भनेर न्युजकोसेलीले राखेको जिज्ञासामा उपत्यका सम्हाल्ने माओवादी केन्द्रका एक नेताले भने– ‘भइसकेको सहमति विपरीत हिजो राति उहाँहरूले हामीमाथि जबर्जस्ती जनताको बहुदलीय जनवाद थोपर्न खोज्नुभयो, त्यो कदापि स्वीकार्य हुँदैन भन्दै हाम्रा अध्यक्षले अस्वीकार गर्नुभएको छ, अब एकतै के हो– यसै भन्न सकिँदैन ।’

र, यो पनि पढ्नुहोस्–
एमाले–माओवादीबीच तयार भैसकेको सहमतिपत्रमा किन भएन हस्ताक्षर ? (७ बुँदेको ड्राफ्टसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर