NewsKoseli.Com

के हो सिरिया संकट ? समाधान के ?

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको ७ वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालीलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म ५ लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान गुमाइसकेका छन् ।

साँचो बोल्नुपर्दा सिरियामा क्रूरता विजयी भइरहेको छ । प्रजातान्त्रिक मुलुक भनाउँदाहरूसँग सिरियाको जर्जर अवस्थाको सामना गर्ने हिम्मत छैन । हालैको नरसंहार हृदयविदारक लासहरूले इरान र रुसजस्ता असद सत्ताका सहयोगीको मन पग्लनेवाला छैन । उनीहरूले असदको सहयोग छाड्ने कुनै सुइँको पनि देखिएको छैन । सन् २०११ बाट सिरियामा गृहयुद्ध सुरु भएयता युद्धविरामका लागि गरिएका ११ वटा प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । अन्ततः गत शनिबार मात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सिरियामा एक महिने युद्धविराम प्रस्ताव पारित गरेको छ ।

रुस राष्ट्रसंघीय सुरक्षा परिषदको स्थायी सदस्य भएको नाताले अन्तर्राष्ट्रियस्तरमा शान्ति तथा सुरक्षाको वातावरण बनाउने जिम्मेवारी उसको पनि हो । रुसले सुरक्षा परिषदमा असदको कदमको बचाउ गर्दै आएको छ । सिरियामा आफूले प्रयोग गरेका केमिकल आक्रमणबाट विकसित परिणामलाई स्वीकार्न रुस तयार छैन । रुसी सैन्य बलले सिरियाली अस्पताललाई समेत निसाना बनाएर क्रूरताको प्रमाण पेस गरिसकेका छन् । उनीहरूको अत्याचार सबैले देखिसकेका छन् । सिरियाको मानवीय संकटप्रति पश्चिमा देशहरू सधैं स्थिर देखिएका छन् । उनीहरूको प्रतिक्रिया पनि सधैं एउटै हुन्छ । उनीहरूले गर्ने भनेको घटनाको भर्त्सना अनि हिंसा अन्त्यका लागि अपिल मात्र हो । हिंसा सुरु भएको दुई वर्षसम्म युरोपेली युनियनले हिंसाको भर्त्सना गर्दै सातामा एक चोटिजसो वक्तव्य निकाल्ने गर्थ्यो ।

अहिले उसको वक्तव्य आउने क्रम घटेको छ । अब आएका वक्तव्यको कुनै प्रभाव पनि छैन । हालै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जेइद राद अल हुसेनले सिरियाको विकसित संकटबारे मुख खोलेका छन् । उनले भनेका छन्– ‘जुन तरिकाले सिरियामा युद्ध र हिंसा भइरहेको छ, मानवीयताका लागि यो अत्यन्तै लज्जास्पद छ । यस संकटको समाधान हुन नसक्नुले विश्व कूटनीतिको सबैभन्दा ठूलो असफलतालाई पुष्टि गरेको छ ।’

सिरिया, इरान र रुसी बलले आफ्ना सम्पूर्ण शत्रुको नाश नगरेसम्म युद्ध चलिरहोस् भन्ने पश्चिमा देशहरू चाहन्छन् । यत्रो नरसंहार हुँदा पनि चुप लागेर बस्नु भनेको नरसंहारको पक्ष लिनु हो । यसर्थ पश्चिमा मुलुकले पनि यो संकटको जिम्मेवारी लिनुपर्छ । पश्चिमा देशहरू रुवान्डा तथा बोस्नियाको संकटमा भन्दा बढी दोषी सिरियाको मुद्दामा देखिएका छन् । यदि सिरियाली सत्ता तथा उसका समर्थक विजयी भएको खण्डमा सिरियामा पुनः असदको निरंकुश राजको पुनर्बहाली हुनेछ । यस्तो भएको अवस्थामा पश्चिमा नेतृत्वको स्वार्थ स्वयंमा असर पर्नेतर्फ उनीहरूको ध्यान जानु जरुरी छ । युरोप तथा छिमेकी देशहरूको सीमाबाट सिरिया पूर्ण रूपले रोकिएको छैन ।

हालै मात्र ५५ लाखभन्दा बढी सिरियाली शरणार्थी मुलुकबाहिर शरण लिन बाध्य छन् भने ६० लाखभन्दा बढी पूर्ण रूपमा विस्थापित भइसकेका छन् । युरोपेली युनियन, बेलायत तथा अन्य दाताहरूले शरणार्थीलाई सहयोग गरे तापनि शरणार्थीका लागि पर्याप्त छैन । आफ्नो देशको मूल समस्याको समाधानका लागि यस्ता संगठन, देश तथा दाताहरूले भूमिका नखेलेसम्म उनीहरूको सहयोगप्रति शरणार्थी आभारी हुन सक्दैनन् । शरणार्थी शरण दिने मुलुक तथा अतिवादी संगठनको शोषणमा पर्ने खतरा उत्तिकै छ । यसले गर्दा जोर्डन, लेबलान र टर्कीजस्ता देशमा शरणार्थीहरूको जीवन झनै संकटमा पर्ने देखिन्छ ।

हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी ४ सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको ७ वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालीलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म ५ लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान गुमाइसकेका छन् ।

कम्तिमा पनि सिरियाली नेतृत्व तथा उसका समर्थले जन्माएको दण्डहीनताको अन्त्यका लागि पश्चिमाजगत् अघि बढ्नुपर्ने हुन्छ । सन् २०१६ को डिसेम्बरमा भएको राष्ट्रसंघको साधारण सभाले सिरिया युद्धको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रस्ताव पारित गरेको थियो । बेलायतले यस कार्यका लागि सम्भव भएसम्म चाँडो अन्य देशको प्रतिबद्धता खोज्यो । यसरी हेर्दा इरान तथा रुसले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको अवस्थामा उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

यति मात्र होइन, विगत सात वर्षदेखि सिरियामा संकट लम्ब्याएका दोषीले सिरियाली जनतालाई जीवनभर पाल्नुपर्छ । युरोपेली युनियन र उस्तै मत भएका देशहरूले सिरिया युद्धमा सहयोग गर्ने रुसी कम्पनी तथा व्यक्तिविशेषविरुद्ध प्रतिबन्ध लगाउनुपर्छ । सन् २०१४ मा युक्रेनविरुद्धको रुसी आक्रमणमा संलग्न धेरैलाई पहिले नै प्रतिबन्ध लगाइसकिएको छ । अब, सिरियाको हिंसामा संलग्न भएका रुसी पक्षसँग व्यापार गरिरहेका युरोपेली संस्थालाई समेत सम्पत्ति रोक्का, यात्रा प्रतिबन्धलगायत कानुनी दायराभित्र पर्न युरोपेली युनियनले कडा कदम चाल्नुपर्ने हुन्छ ।

पछिल्ला केही सातामा पश्चिमा नेतृत्व हिंसा मच्चाउने विद्रोही समूहप्रतिको कारबाहीमा नरम देखिएको छ । गत ७ फेब्रुअरीका दिन रुसले भाडामा राखेका निजी लडाकु समूहले सिरियाको पूर्वी क्षेत्रमा रहेको अमेरिकी सेनाको आधार शिविरमा आक्रमण गर्‍यो । जवाफी कारबाहीमा अमेरिकी बलले ठूलो संख्यामा सो समूहका लडाकुलाई तहसनहस बनायो । यसरी रुस घुमाउरो पारामा सिरियाको जमिनमा आफ्ना सैन्य बल तैनाथ नभएजस्तो देखाउन चाहन्छ ।

यसैबीच, गत १० फेब्रुअरीमा सिरियाली वायु रक्षक बलले एउटा इजराइली लडाकु विमान खसाल्यो । सो घटनालगत्तै अक्रोशित इजरायलले सिरियामाथिको जवाफी कारबाहीमा सिरियाको आधा वायु रक्षा प्रणाली ध्वस्त पारेको दाबी गर्‍यो । तर, इजराइली अक्रमण रोक्न रुसले कुनै कदम चालेन ।

माथिका दुई घटनालाई हेर्दा सिरियामाथिको रुसी सहयोग र सिरियाली सत्तालाई कमजोर बनाउने कदम चाल्नु अत्यावश्यक छ । यसका लागि योजनाबद्ध अभियान चाल्नुपर्ने हुन्छ । अप्रिल ०१७ मा सिरियाविरुद्ध डोनाल्ड ट्रम्पले चालेको मिसाइल आक्रमणजस्तो कदमले भने हुन्न । असदको सैन्य बललाई निस्तेज बनाएर उनलाई शान्तिको बाटोमा हिँड्ने विकल्प आउन बाध्य बनाउनुपर्ने हुन्छ । यस्तो रणनीतिको उदाहरणका रूपमा बोस्निया द्वन्द्वलाई लिन सकिन्छ ।

सर्बियाका तत्कालीन राष्ट्रपति स्लोबोदन मिलासेभिकलाई वार्ताको टेबुलमा ल्याउन नाटोले सर्बियाको सैन्य बलमाथि कारबाही गर्नुपरेको थियो । यसरी, सन् १९९५ मा बोस्निया द्वन्द्वको अन्त्य भएको थियो । यसर्थ, सिरियाको सन्दर्भमा पनि संगठित सैनिक अभियानको अवश्यकता छ । जसले गर्दा रुस सिरियाली मामिलाबाट हट्न बाध्य हुनेछ । अनि, उसले शान्तिको विकल्पमा रोज्नैपर्ने हुन्छ ।

यस दौरान वार्तामा बस्न इच्छुक सिरियाली सत्ता पक्षका सदस्य तथा विपक्षी सदस्यहरूको पनि पहिचान गर्नुपर्ने हुन्छ । अफगानिस्तान, इराक र लिबियामाथिको हस्तक्षेपमा पश्चिमा राजनीति असफल भइसकेको सन्दर्भमा सिरियामा सैन्य कारबाही गर्नेबारे उनीहरूले आफ्ना मतदाताको राय बुझ्न चाहेका छैनन् ।

सिरियामा रुसको संलग्नताले संकटलाई थप जटिल बनाएको छ । सिरियाली विद्रोहीका लागि कुनै पनि देश तेस्रो विश्वयुद्ध निम्त्याउन चाहन्नन् । युद्धरत अधिकांश विद्रोही हिंसा भड्काउने अतिवादी समूह छन् । कतिपय राजनीतिक नेतृत्वले सिरियामा सैन्य हस्तक्षेपले समाधान नल्याउने तर्क गर्छन् । तर, उनीहरू झुट बोलिरहेका छन् ।

सिरिया संकटको सैन्य समाधान छ, तर असद र पुटिनले त्यसको गलत प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा पश्चिमले उनीहरूलाई रोक्न सक्नुपर्छ या त असद र पुटिनले सबै सिरियाली जनतालाई मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्नुपर्ने हुन्छ ।

(बिहीबारको नयाँ पत्रिका दैनिकबाट)

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर