NewsKoseli.Com

दुई विपरीत धारा र ‘नयाँ जनवाद’ भर्सेज ‘समाजवाद’ !

९ वैशाख, २०७५ (२२ अप्रिल, २०१८) मा नेपाली कम्युनिस्ट आन्दोलन ६८ वर्ष पूरा गरी ६९औं वर्षमा प्रवेश गर्दैछ । यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिस्ट आन्दोलनले वर्गसंघर्ष, जनसंघर्ष र अन्तर्संघर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्ती र मोडहरु पार गर्‍यो ।

नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो स्थापनाकालको केही समय पछिदेखि नै अनेकौं समूह–उपसमूहहरुमा विभाजित हुँदै आयो । सारतः यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी गरी परस्पर विरोधी दुई धाराकै बीच तीव्र द्वन्द्व चल्दै आएको छ ।

आजसम्म एमाले र माओवादी केन्द्रले नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी–संशोधनवादी तथा सुधारवादी–नवसंशोधनवादी धाराको प्रतिनिधित्व गरेका थिए । तर, अहिले ती दुवै विघटित हुन पुगेका छन् । मिलेरावाद–ख्रुश्चोभपन्थको नेपाली नवसन्तानका रुपमा जन्मेर विकसित हुँदै विजातीय कित्तामा सामेल दक्षिणपन्थी एवं आधुनिक संशोधनवादी धाराले यतिबेला गुणात्मक फड्को हान्न पुगेको छ ।

त्यो धारा दलाल तथा पुँजीपतिवर्ग, नोकरशाह तथा सामन्त वर्गको राज्यसत्ताको उपरीढाँचामा पुगेर प्रतिक्रियावादी सत्ताको प्रमुख शक्ति बन्न पुगेको छ । यसको ठीक विपरीत नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा आज मार्क्सवादी–लेनिनवादी–माओवादीका रुपमा गुणात्मक ढंगले विकसित हुँदैछ । यस धाराको प्रतिनिधित्व एवं नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) ले गर्दै आएको छ ।

यो धारा दसवर्षे महान् जनयुद्धको आधारमा सशस्त्र जनविद्रोहमार्फत जनवादी क्रान्ति पूरा गरेर वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवादसम्म पुग्ने प्रतिबद्धताका साथ क्रियाशील छ । नेपाली कम्युनिस्ट आन्दोलनको यो क्रान्तिकारी धारा आज पनि विशिष्ट कार्यदिशा र नीति तथा कार्यक्रम निश्चित गरेर नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धताका साथ अगाडि बढिरहेको छ । देशभर छितरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिकारी ध्रुवीकरणमार्फत एकताबद्ध पारेर क्रान्तिकारी नेतृत्व प्रदान गर्ने नीतिका साथ यो धारा अगाडि बढिरहेको छ ।

यसरी आज नेपाली कम्युनिस्ट आन्दोलन क्रान्तिकारी धारा र दक्षिणपन्थी–संशोधनवादी अर्थात् सुधारवादी–नवसंशोधनवादी गरी दुई विपरीत धारामा स्पष्ट रुपमा कित्ताबन्दी हुन पुगेको छ ।

माकेको एमालेमा बिलय र माके–एमाले दुवै विघटित हुन पुगेपछि क्रान्तिकारीहरुका सामु आज अवसर र चुनौतीहरु सँगसँगै जोडिएर आएको अवस्था छ । यतिबेला हामी नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेका छौं । क्रान्तिको न्यूनतम कार्यक्रम नयाँ जनवाद हो भने अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद हो । यो हाम्रो महान् यात्रा वैज्ञानिक साम्यवादमा पुगेर मात्र टुंगिनेछ ।

हाम्रो देश नेपाल आजसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामै छ । यस प्रकारको अवस्थामा हामीले क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति नै हो । यस विषयमा छलफल गर्नु भन्दा पहिले हामीले यो कुराको जानकारी लिन जरुरी छ कि वि.सं. २००६ साल वैशाख १० (सन् १९४९ अप्रिल २२) गते कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । २००६ साल वैशाख १२ गते नेकपाको पहिलो पर्चा प्रकाशित भयो । त्यसमा नेपाली समाजको वर्ग विश्लेषण गरिएको छ र त्यहाँ “नेपाल एक अर्ध सामन्ती र अर्ध औपनिवेशिक मुलुक हो । र यस देशमा गरिने क्रान्तिको चरित्र नौलो जनवादी हुने छ” भनिएको छ । उक्त विश्लेषण ठीक थियो ।

२०२५ सालमा नेकपा (पुष्पलाल) द्वारा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनले पनि नौलो जनवादी क्रान्तिको कार्यक्रम पारित गर्‍यो ।

महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उद्देश्य राखेर २०५२ साल फागुन १ देखि तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र जनयुद्धको थालनी गर्‍यो । महान् जनयुद्ध दश वर्षसम्म सञ्चालित भयो ।

२०६२ असोजमा सम्पन्न चुनवाङ वैठकबाट तत्कालीन नेकपा (माओवादी) ले नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई स्थापित गरेर ‘लोकतान्त्रिक गणतन्त्र’ को कार्यदिशा ठोस गरेर शान्ति प्रक्रियामा प्रवेश गरेको १२ वर्षको यो अवधिमा जनयुद्धको नेतृत्व गर्दै आएको पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्दै आएको नेकपा (माके) २०७४ फागुन ७ गते मध्यरात नेकपा (एमाले) बिलय हुन पुग्यो । त्यस समूहबाट २०६९ असारमै सम्बन्ध–विच्छेद गरेर चर्चित बौद्ध भेलामार्फत बनेको नेकपा–माओवादी हुँदै आज नेकपा (क्रान्तिकारी माओवादी) जो माथि पनि उल्लेख गरिएको छ, ले महान नेपाली क्रान्तिको न्यूनतम नयाँ जनवाद र अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने लक्ष्य, उद्देश्यहरु सुनिश्चित गर्दै र वर्तमान नेपाली समाजको ठोस वर्गविश्लेषण गरेर क्रान्तिकारी नेतृत्व प्रदान गरिरहेको छ । यो नै सही कार्यक्रम हो ।

अर्कोतिर विघटित माके र एमालेको मिश्रित तत्वले पनि समाजवादके प्रचार गरिरहेको छ । र वर्तमान प्रतिक्रियावादी संविधानमा समेत समाजवादउन्मूख एउटा प्रावधान राखेको छ र त्यसैमाथि टेकेर समाजवादको सल्लाह मच्चाउने र मुलुकको समृद्धि गर्ने झुठ प्रचार गर्दै दलाल तथा पुजीपति वर्गको नेतृत्व गर्दै सरकारको नेतृत्व समेत गर्न पुगेको छ । र यसले पनि नेपाली जनताका बीचमा समाजवादको विभ्रम पैदा गरेको छ ।

त्यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले पनि नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई परित्याग गरेर वैज्ञानिक समाजवादको कार्यक्रम पारित गरेको छ । उसको आठौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ– “हामीले विगतमा अर्धसामन्तवाद र अर्धउपनिवेशवाद भएकाले क्रान्तिको कार्यदिशा नयाँ जनवाद निर्माण गरेका थियौं । तर दस वर्षको जनयुद्ध, गणतन्त्रको स्थापना, दलाल पुँजीवादको स्थापना, नवऔपनिवेशिक अवस्था आदि कारणले गर्दा अब नेपालको राजनीतिक कार्यक्रम नयाँ जनवाद मात्र बनाउँदा अपूर्ण हुन्छ र पछि पर्न जान्छ । अर्को कुरा, नयाँ जनवाद कुनै लामो र स्थायी चरण पनि होइन । यो केवल समाजवादमा पुग्न प्रयोग गर्ने खुड्किलो मात्र हो । कम्युनिस्टहरुको आधारभूत राज्यव्यवस्था भनेको वैज्ञानिक समाजवादी व्यवस्था नै हो । माओकै उदाहरण लिँदा पनि सन् १९४९ मा क्रान्ति गर्नु भयो र नयाँ जनवाद लागू गर्नुभयो । यसर्थ, हामीले अबको राजनीतिक कार्यक्रम विगतकै जस्तो नयाँ जनवादी मात्र भन्नु वस्तुवादी हुँदैन, वैज्ञानिक समाजवादी बनाउनु वैज्ञानिक र वस्तुवादी हुन्छ । वस्तुवादी कार्यक्रम निर्माण गरेर नै क्रान्तिको वरिपरि नयाँ मित्र र सहयोगी शक्तिहरुलाई ध्रुवीकृत र एकताबद्ध गर्न सकिन्छ । तसर्थ, नेपालको आउँदो राजनीतिक कार्यक्रम वैज्ञानिक समाजवादी अपनाउनुपर्छ ।”

यसको ठीक विपरीत २०७४ असोजमा सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलनमा पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ– “नेपाल अझै अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहिआएको र दलाल, नोकरशाही पुँजीपति एवम् सामन्त वर्ग र साम्राज्यवाद तथा विस्तारवादद्वारा हुँदै आएको आर्थिक, राजनीतिक तथा सांस्कृतिक उत्पीडनको मारमा परेकाले देश तथा जनतालाई यस प्रकारको अवस्थाबाट मुक्त गर्नका लागि नयाँ जनवादी क्रान्ति अनिवार्य रुपमा आवश्यक छ ।”

पार्टीको आम कार्यदिशा, नीति तथा कार्यक्रम नयाँ जनवादी क्रान्तिको दिशामा परिलक्षित रहेको छ । नेपालमा सर्वहारा वर्गको नेतृत्व र मजदुर किसान एकता एवम् सबै उत्पीडित जनसमुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने पार्टीको मूल राजनीतिक रणनीति हो । यस प्रकारको राज्यसत्ताको स्थापनाका लागि नेपालमा सम्पन्न विभिन्न जनसंघर्ष, सशस्त्र संघर्ष तथा मुख्यतः दस वर्षको जनयुद्धका आधार तथा अनुभव र नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको सामरिक कार्यदिशा अवलम्बन गर्नु पर्दछ । यही नै नेपाली क्रान्तिको बाटो हो ।

पार्टीको उक्त आधारभूत कार्यदिशा, नीति तथा कार्यक्रमको कार्यान्वयन र उद्देश्य प्राप्तिका लागि विशिष्ट कार्यदिशा, नीति र कार्यक्रमको आवश्यकता पर्दछ । यस प्रकारको कार्यदिशा, नीति र कार्यक्रम राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको जनतन्त्र तथा जनजीविकाका आधारभूत समस्याको समाधानका उपायहरुसित जोडिन पुगेका छन् । संघीय जनगणतन्त्रको स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाका समस्याहरुको समाधानका लागि संघर्षरत रहनु नै वर्तमान स्थितिमा पार्टीको मूल राजनीतिक कार्यनीति हो । हाम्रो यस कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्दछ । पार्टीको मूल कार्यनीति भनेको पार्टीको मूल राजनीतिक आचरण पनि हो । यस प्रकारको कार्यनीति संगठन र संघर्षका खुला र गुप्त, कानुनी र गैरकानुनी रुपहरुको सही विन्यासका साथै गाउँ र शहर तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय काम आदिको समुचित तालमेलसित सम्बन्धित रहेको छ ।

अतः यसरी आज नयाँ जनवाद भर्सेज समाजवाद– नेपाली कम्युनिस्ट आन्दोलनभित्र र आम आमूल परिवर्तनकारी जनताका बीचमा व्यापक छलफल र बहसको विषय बनेको छ ।

यी विषयहरु सतहमा आइसकेपछि नयाँ जनवाद भनेको के हो ? पुरानो जनवाद भनेको के हो ? समाजवाद भनेको के हो ? समाजवाद कति प्रकारका छन् र नयाँ जनवादी क्रान्तिको चरण र समाजवादी क्रान्तिको चरण र नेतृत्वदायी शक्तिको किटान, वर्तमान नेपाली समाजको ठोस वर्गविश्लेषण, महान् नेपाली क्रान्तिको विशिष्ट कार्यदिशा, नीति तथा कार्यक्रम, आगामी क्रान्तिका मोडल र चरित्रका बारेमा व्यापक छलफल र बहस चलाउनु अति जरुरी छ ।

विघटित एमाले र माकेले ‘पुँजीवादी जनवादी क्रान्ति भई सक्यो, अब आर्थिक क्रान्ति मुख्य हो र मुलुकको समृद्धि गर्नु पर्दछ’ भन्दै आएका छन् । ‘समाजवादी अर्थव्यवस्था लागू गर्नुपर्छ’ पनि भन्दै आएका छन् । दलाल पुँजीपति वर्गको नेतृत्व गर्दै सरकारको नेतृत्व गर्न पनि पुगेका छन् । एमाले–माकेको विघटित तत्त्वले ‘जनताको बहुदलीय जनवाद’ लाई मार्गदर्शक सिद्धान्त बनाएको छ । जबजको दार्शनिक सिद्धान्त बहुलवाद हो । बहुलवादले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र एकतावादलाई अस्वीकार गर्दछ र संसदीय व्यवस्थालाई स्वीकार गर्दछ ।

संसदीय व्यवस्था भनेको पुँजीपति वर्ग र साम्राज्यवादीहरुको राज्य सञ्चालन गर्ने शासन प्रणाली हो । यसको जन्म सामन्तवादका विरुद्ध संघर्षको क्रममा भएको हो । सर्वप्रथम फ्रान्स र इङ्ल्याण्डका नवजात पुँजीपतिहरुले स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा लगाउदै संसदीय व्यवस्थाको बीजारोपण गरेका थिए । स्वतन्त्रता, समानता र भातृत्वको नारालाई केन्द्रविन्दु बनाई पश्चिमी युरोपका कयौं देशहरुमा पुँजीवादसित प्रतिस्पर्धा गर्न नसकेपछि विश्वका धेरै देशहरुमा एकैसाथ सामन्तवादी राज्यव्यवस्था गल्र्यामगुर्लम ढल्न पुगेका थिए र ती देशहरुमा एकपछि अर्को गर्दै पुँजीवादी राज्य व्यवस्थाहरु खडा हुन पुगेका थिए ।

त्यो बेला सामन्त वर्गभन्दा पुँजीपति वर्ग प्रगतिशील वर्ग थियो र त्यसले अगाडि सारेको राजनीतिक प्रणाली अर्थात् संसदीय व्यवस्था पनि प्रगतिशील थियो । मध्ययुगीन सामन्तवादी राज्यव्यवस्थाका तुलनामा पुँजीवाद प्रगतिशील भए पनि जब पुँजीवादले चरम विकास गर्दै अगाडि बढ्यो र पुँजीवादकै गर्भबाट सर्वहारावर्गको पनि जन्म भयो, त्यसपछि पुँजीपतिवर्ग श्रमशक्तिको शोषणगरी बाँच्ने परजीवी वर्गको रुपमा देखा पर्‍यो र त्यसले सर्वहारावर्गमाथि पाशविक र क्रुर आक्रमण गर्दै अगाडि बढ्यो, त्यो पुँजीवाद साम्राज्यवादमा विकसित भयो । त्यसपछि साम्राज्यवादले आफ्नो देशका श्रमजीवीवर्गलाई मात्र होइन, अविकसित देशका जनताको शोषणका लागि पुँजी निर्यात एवम् खुला सैनिक आक्रमण र हस्तक्षेप गर्न पुग्यो ।

संसदीय व्यवस्था पुँजीपति वर्गले प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिएर कहिल्यै न थाक्ने तर “मुखमा रामराम, बगलीमा छुरा” भने झैं एउटा हातमा प्रजातन्त्र, मानवाधिकार, लोकतन्त्रका नारा बोकेर हिँड्ने र अर्को हातमा बन्दुक बोकेर नरसंहार गर्दै हिँड्ने व्यवस्था हो ।

त्यसैले सामन्तवादी व्यवस्थालाई अन्त्य गरेर पुँजीवादी व्यवस्था लागू गर्ने क्रममा सुरूका दिनहरुमा संसदीय व्यवस्था ठीकै पनि थियो । तर, जब पुँजीवाद एकाधिकार पुँजीवादमा रुपान्तरित भयो त्यसपछि संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्थामा रुपान्तरित हुन पुग्यो ।

समाजवाद दुई प्रकारका हुन्छन्– एउटा समाजवाद पुँजीपति वर्गको अधिनायकत्व सहितको समाजवाद पुँजीपति वर्गलाई मालिक बनाइएको पुँजीवाद । अर्को हो– सर्वहारावर्गको अधिनायकत्व सहितको समाजवाद श्रमजीवी वर्गलाई, मजदुर वर्गलाई मालिक बनाइएको समाजवाद । हामीले स्थापना गर्ने भनेको श्रमजीवी वर्गलाई मालिक बनाइने समाजवाद हो । यो समाजवाद नै वैज्ञानिक समाजवाद हो ।

अतः पुँजीवादी, प्रतिक्रियावादी संसदीय व्यवस्थालाई स्वीकार्ने र त्यसलाई बचाई राख्ने संविधान समेत बनाएर सरकारको नेतृत्व समेत सम्हाल्न पुगेका एमाले–माकेको मिश्रित तत्त्वले भन्ने गरेको समाजवाद त नेपाली कांग्रेसका संस्थापक नेता बी.पी. कोइरालाले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद हो । सोभियत संघको विघटनपश्चात पूर्वी युरोपका देशहरु, जो सोसल डेमोक्रेटिक पार्टीमा परिणत भएपछि उनीहरुले अँगाल्न पुगेको समाजवादी नाराजस्तै मात्रै हो । यिनीहरुले भन्ने गरेको समाजवादको कुनै अर्थ छैन । यो शक्ति त अब सामाजिक फासीवादी बनेर अगाडि बढ्नेवाला छ ।

विप्लवव नेतृत्वको नेकपाले भन्दै आएको समाजवादको बारेमा सबै कुरा यथार्थ कार्यक्रमका रुपमा प्रष्ट रुपमा आएको छैन । त्यहाँ पनि अलमल नै छ । उसले पनि नयाँ जनवादलाई छाडिसकेको छ । दलाल पुँजीवादबारेको व्यवस्था ठीकै छ । निगम पुँजीवादको विकास, निजीकरण र उदारीकरणसम्मको उसको व्यवस्था ठीकै छ । जहाँसम्म पुँजीवादी क्रान्ति भइसकेकोसम्मको आभाष आउने गरी नेपाली समाजको जुन वर्गविश्लेषण गरेको छ, त्यो सारसंग्रहवादी छ । किनकि, दलाल पुँजीवाद त अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको चारित्रिक विशेषता हो । पुँजीवादी व्यवस्थामा पुँजीवाद त एकाधिकार पुँजीवादमा रुपान्तरित भइसक्दछ । यस विषयमा उसको विश्लेषण पुगेको छैन, उपूरो देखिन्छ । साम्राज्यवादलाई हेर्ने दृष्टिकोणमा विप्लव नेतृत्वको नेकपामा त्रुटि छन् ।

जहाँ नेकपा (क्रान्तिकारी माओवादी) ले गरेको वर्तमान नेपाली समाजको वर्ग विश्लेषण छ, त्यो वस्तुवादी छ । देश अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनिवेसिक अवस्थामा रहेकाले यहाँ गरिने क्रान्ति नयाँ जनवादी क्रान्तिको कार्यक्रम समाजविकासको बारेमा मार्क्सले ऐतिहासिक भौतिकवादका आधारमा गरिएको विश्लेषण र व्याख्याबमोजिम पनि वस्तुवादी रहेको छ । र, नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने जुन प्रतिबद्धता छ, त्यो पनि वस्तुवादी नै छ ।

अर्को पक्ष भनेको नेपाली क्रान्तिको मोडलको प्रश्न पनि छ । विश्वमा अहिलेसम्म रुसी मोडल र चिनीयाँ मोडल रहेका छन् । दसवर्षे सशस्त्र जनयुद्ध चिनिया मोडलको भएकाले त्यसमा हाम्रो प्रशस्त अनुभव छ । जहाँसम्म रुसी मोडलको सशस्त्र जनविद्रोहको सवाल हो, हामी पनि सशस्त्र जनविद्रोहकै तरिकाबाट नेपाली क्रान्ति सम्पन्न गर्ने संश्लेषणमा पुगेका छौं । तर, रुसी मोडलको ठाडो नक्कल गरेर होइन कि नेपालको विशिष्टतामा आधारित र दसवर्षे जनयुद्धलाई आधारमा राखेर गरिने सशस्त्र जनविद्रोहको मोडललाई प्रयोग गर्ने विश्लेषण आजको सान्दर्भिकता बन्न पुगेको छ ।

यतिबेला नेपालका क्रान्तिकारी माओवादीहरुका सामु अवसर र चुनौतीहरु दुवै खडा छन् । तिनलाई सामना गर्न सक्ने गरी तयारी गर्नु र शक्ति निर्माण गर्नु आजको मुख्य चुनौती हो । महान् नेपाली क्रान्ति अवश्यम्भावी छ र नेपाली क्रान्तिको मैदान खालि छ ।

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर