NewsKoseli.Com

साम्राज्यवादको जरो खोतलिएको ‘दाना’ नाटक

काठमाडौं, ८ चैत ।

नेपाली नाटकको क्षेत्रमा कलम चलाउने प्रगतिवादी नाटककारहरूको लामै सूची तयार गर्न सकिन्छ । मोदनाथ प्रश्रित, रामप्रसाद पन्तलगायतको संयुक्त लेखनमा २०२८ सालमा प्रकाशित ‘पचास रूपैयाँको तमसुक’ नाटकलाई नेपाली नाटकजगतमा पहिलो प्रगतिवादी नाटक मान्न सकिन्छ । समाजवादी यथार्थवादी सैद्धान्तिक मार्गदर्शनमा नाटक रचना गर्नु प्रगतिवादी स्रष्टाहरूको मूल विशेषता हो ।

जिउँदा सहिद कृष्ण सेन इच्छुकको सम्झनामा ‘उनी मरेका छैनन्’ जस्तो जीवन्त नाटक लेखेर ज्वलन्त उदाहरण बनेका खेम थपलिया बहुमुखी प्रतिभाका धनी व्यक्तित्वका साथै प्रगतिवादी स्रष्टा हुन् । पछिल्लो समयमा प्रकाशित ‘दाना’ लाई आधुनिक नेपाली नाटक क्षेत्रमै नवीनशैलीको प्रगतिवादी नाटक मान्न सकिन्छ ।

नौ अङ्कमा संरचित दाना नाटकमा १०२ पृष्ठ छ । आकारगत दृष्टिले यो लघु आकारको नाटक भए पनि वैचारिक दृटिले सिङ्गो सर्वहारा वर्गको आयतन बोकेको छ । भारतको उडिसा राज्यको कालहाँडीको सर्वहारा व्यक्ति दाना माझीको श्रीमती अमाङ् देईको अस्पतालमा मृत्यु भएपछि अस्पतालले अभद्र व्यवहार गरी लास बोक्ने शववाहनसम्म दिएन । अनि त शोकमा डबेुको दाना माझीले आफ्नी श्रीमतीको लासलाई काँधमा बोकेर घर हिड्दै गर्दाका कारूणिक दृष्यलाई नाटकले उतारेको छ ।

पाठकलाई यथार्थबोध गर्न हम्मे–हम्मे पर्ने उक्त नाटकमा उल्लेखित दाना माझीको घटना ह्रदयविदारक र मानव सभ्यताकै दुष्कलङ्क हो । आम जनताले पाउने शवबाहनको सुविधा दानाले पाएनन् । उनीसँग पैसा थिएन अस्पतालले एकछिन पनि शव अड्याउन दिएन । अस्पताल प्रशासनले जति रोइकराइ गरे पनि शबवाहन उपलब्ध नगराएकाले दाना कठोर भएर आफ्नै छात्तिमा मुड्की बजार्न पुग्छन् । उनकि नाबालक छोरीमा परेको मातृवियोगको कारूणिक दृष्यले पाठकको मन रूवाइदिन्छ । दानाले जब अमाङ देईको लास उठाएर काँधमा हाले तब सिङ्गो भारतको गणतन्त्रमा दाग लाग्यो ।

घटना घटेको चौबीस घन्टाभित्रमा उक्त विषय सञ्चार माध्यममा छायो अनि बल्ल एक्कार्इसौँ शताब्दीको भारतीय साम्राज्यवादको जरो हल्लियो । यसैमा नाटककारले नाटकको भूमिकामा जोडेको प्रसङ्ग पनि महत्त्वपूर्ण छ, अर्का दशरथ माझीले पनि बाटोको अभावमा श्रीमतीको मृत्यु हुँदा बाइस वर्षसम्म पहाड फोडेर चालीस किलोमिटरको बाटो बनाएका थिए ।

यसरी समय समयमा जन्मिने माझीहरूका साहस र कदमले शासकहरूको समेत साँख झरेको महसुस गर्न पाइन्छ । स्वयम् अस्पतालबाट लासलाई उठाएर काँधमा राख्ने बेला माझीले भनेका वाक्यले भारतमा मात्र होइन विश्वका जुसुकै पुजीँवादमा मानवताको खडेरी देखिन्छ । उनले अस्पताललाई मूर्दाघाट भनेका छन् । “यहाँका मानिसहरू मूर्दा हुन् स केवल मूर्दा । यहाँ अमाङ देई मात्र मरेको होइन, मानवता नै मरिसकेछ ।” (पृ. ३४) ।

नाटकको पहिलो दृष्यमा नाटकारले भारतका पुँजीपति दलालले कसरी सर्वहारा वर्गको श्रम शोषण गरिरहेछन् भन्ने स्पष्ट गर्नका लागि दाना र उनकी श्रीमतीमाथि मालिकको ज्यादतीलाई देखाउने प्रयास गरेका छन् । यसले पुँजीपति दलालको अहङ्कारमा ठेस पुग्नुपर्ने हो । उनलाई मजबुरीमा ठग्ने मालिक अर्थात् सत्तावालाहरू भारतमा मात्र होइन् विश्वका कैयौँ मुलुकमा अवशान छन् तिनका कारण यसरी नै कयौँ दानाहरू प्रताडित भएका छन् । लाखौँ दानाका अधिकारको हनन गरिएका छन् । दाना र चौलाको कारूणिक दृष्यले शाककद्वारा पागल बनाइएको पात्रको ध्यान खिचेको छ ।

आफूलाई पागल घोषण गर्ने उक्त व्यक्तिले उनीहरूलाई लास लिएर नबस्न हिडिहाल्न सुझाब दिएको छ, व्यङ्य गर्दै भनेको छ “मालिक आएर तिमीलाई पागल घोषण गरिदिन सक्छ तिमीलाई लास बोक्न बाध्य पार्ने तिनै ठूला पागल हुन्” (पृ.८८) । बाह्र बाह्र किलोमिटरसम्म श्रीमतीको लास बोकेर थकित दानालाई देख्दा लाग्छ उनले सिङ्गो भारतरूपी लासलाई बोकिरहेछन् । भारतले उनको पसिना र सङघर्षशील जीवनको अपहेलना गरिरहेको छ ।

नाटकको आठौं दृष्यमा पुग्दा नाटकले चरम अवस्था चुम्दै गरेको छ । यसमा दानाको निकै कारूणिक अवस्था देख्न सकिन्छ । जसमा थपलियाले रङ्गरोगन र काल्पनिकताको पहाड चढ्नु परेको छैन दाना स्वयम् उपस्थित छन् । सञ्चार माध्यमले उनलाई ह्वात्तै उठाइदिएको छ । दाना विश्वकै सर्वहार वर्गको प्रतिनिधि पात्र हो भने उसका परिवारको कारुणिक अवस्था संसारभरका मजदुर वर्गकै कारूणिक अवस्था हो ।

दानालाई दुई अङ्कका लागि नाटककारले नेपथ्यमा राखेका छन् । नयाँ ढङ्गले नाटकमा विषयवस्तुलाई प्रस्तुत गरिएको छ । दानाको लासलाई गाउँसम्म पुर्‍याउनमा सञ्चार माध्यमको ठूलो हात रहेको छ । जसका कारण बहराइनका प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ उनले भारतीय प्रधानमन्त्रलाई फोन गरेर दानालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसले भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको अहमतामा ठेस पुगेको महशुस गर्न सकिन्छ । यसकै सवालमा दृष्य सातमा भारतका सचेत नागरिकले छलफल गरेका छन् ।

उनीहरूले सञ्चार माध्यमलाई धन्यवाद दिँदै बहराइनका पीएमको कदमको तारिफ गरेका छन् । मोदीको चुनावी नारा र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनीहरूले यो दानाको मात्र समस्या नभई उडिसा लगायतका भारतराज्यका सम्पूर्ण आदिवासीको समस्या भएको मोदीको सिङगे भारतको विकासे नीतिप्रति खिल्ली उडेको निष्कर्षमा यो छलफल पुगेको छ भने अन्त्यमा दानाको सहयोग गर्नुपर्छ भन्नेमा सबैको सहमत रहेको छ ।

दानालाई लास बोक्न बाध्य पार्ने प्रत्यक्ष रूपमा अस्पतालको प्रशासन देखिए पनि यसमा भारतको पुजीवाद पोषक तत्व हो । अस्पतालको तत्कालीन अहमता भारतको लाचारी र विभेदपूर्ण शासन व्यवस्था हो । सीमान्तकृतका समस्यामाथि ध्यान केन्द्रित हुन नसक्नु हो । नाटकमा विभिन्न विश्लेषकका भनाइलाई हेर्दा नेपाल लगायत मुलुकमा एम्बुलेन्स बाँडेर दाता बन्ने भारतले आफ्नो नागरिकलाई यसरी हेपेको देख्दा यस घटनाले विद्रोहको आगो सल्काइदिएको छ ।

नोपालमा पनि यो घटनाले निकै तहल्का पिटेको छ । नेपालका विभिन्न संचार माध्यमले दानाको खबरलाई प्राथमिकता दिइरहेछन् यसै क्रममा काठमाडौँको एउटा अनलाइन पत्रिकाको कार्ययमा युवाहरू बीच छलफल चलेको प्रसङ्ग नाटककारले अवगत गराएका छन् । आफ्नो देशका जनताको अधिकारको रक्षा गर्न नसक्ने अर्काको देशको स्वतन्त्रतामाथि धावा बोल्ने भारतप्रति युवाहरूको आक्रोश रहेको छ ।

नाटकको घटना र विषय–प्रसङ्गअनुसार नाटककारले गतिबादी कवि निभा शाहको कवितालाई जोडेका छन् नाटकमा यसलई नवीन शैलीको प्रयोग मान्न सकिन्छ । ‘‘उज्यालो आफ्नो नहुनेकोदुनियाँ बदलिँदैन मनसरा…” पृ. ७६

निभा शाहको यो कविताले नेपालको सामन्ती व्यवस्थालाई सजिलै मनन गर्न सकिन्छ । गाउँलेको सहयोगमा शववाहन आउँदा नेपथ्यमा पुनः यो कविताको स्वर सुनिएको छ–

अब आइमाईहरूले
देउता पोलेर खानुपर्छ
जसरी देउताहरू आइमाई पोलेर खान्छन्
हो, ठीक त्यसरी नै
अब आइमाईहरूले देउता पोलेर खानुपर्छ

– ‘दैया’ (पृ. ७८)

नाटको अन्तिम दृष्यमा प्रमखु पात्र दाना र चौलाको विचारले नाटकमा शसक्तता प्रधान गरेको छ । उनीहरूले अमाङ्को शोक सभामा सभ्य, शालीन र सरल तरिकाले आफ्नो भनाइ राखेका छन् । यसमा दानाको धैर्यता देखिन्छ । दानाको विचारलाई स्थान दिएर यो सन्देश विश्वभर फैलाउन खोज्नु नाटककारको शसक्तता हो यसले नाटक जीवित बन्न पुगेको छ ।

यहाँनेर नाटककार सर्वहारा वर्गको आवाज बुलन्द गर्न सफल भएका छन् । अझ उनको अर्काे नयाँ शैली के देखियो भने नाटकको अन्त्यमा नेपथ्यबाट बोलिएका शसक्त विचार महत्वपूर्ण छन् । यो पनि नाटको नवीनपन हो । नाटकमा पर्दा्भित्रका दृष्य र मञ्चीय पात्रहरू ओझेल पर्दै जाँदा नाटककार नेपथ्यमा स्वयम् उपस्थित भएर सिङ्गो नाटकभित्रको विषयवस्तुप्रति गम्भीर हुँदै भारतीय आदिवासी जनजाति तथा पिछडिएका वर्गका समस्या उजागर गरिरहेछन् । यस्तो अवस्थाप्रति भारतको अहमता गिरेको लज्जाबोध गराइरहेछन् । यसले नेपालका पुँजीपनि दलालको मनमा पनि चस्का ल्याइदिन्छ ।

विश्वका पुँजीवादप्रति आक्रोश पोखिरहेछन् । भारतीय साम्राज्यवादको बर्बरतामाथि कलम चलाउनु थप साहस हो भने संचारमाध्यमबाट आएर सेलाइसकेका घटनाले पुनः नाटकमार्फत तातेर साम्राज्यवादलाई दबाब छोड्न सहयोग गरेका छन् । देशका सर्वहारा वर्गका पक्षमा कलम चलाएर देश फेर्ने साहस गर्ने सम्पूर्ण सचेत युवा वर्गका लागि यो नाटक थप स्कुलिङ हो ।

अन्त्यमा दाना माझी काल्पनिक र औसत पात्र होइन । दाना माझीले शोकलाई शक्तिमा बदल्न गरेको साहसलाई विभिन्न ढङ्गले संचार माध्यमले स्थान दियो जसमा दाना माझीसँगका प्रत्यक्ष अन्र्तवार्ता, विचारगत लेख आलेख आदिलाई नाटककारले यस नाटकको विषयवस्तु बनाएका छन् । विभिन्न नेपाली संचार माध्यम अनलाइन पत्रिका आदिका दानासँग सम्बन्धित आदिकारिक धारणा र समाचार विश्लेषण नै यस नाटकमा जीवन्त बनेर आएका छन् । नाटककारले काल्पनिक पात्र खोजेर हिँड्नुपरेको छैन् ।

भाषा संक्षिप्त हुँदाहुँदै पनि भाषिक शुद्धतामा केही कमजोरी देखिन्छ । नाटकलाई तन्काएर बृहत आकारको बनाउन सकिन्थ्यो यसमा लेखकको ध्यान नपुगेको हो कि ?

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर