NewsKoseli.Com

को हुन् चर्चित राहुल सांकृत्यायन ? यस्तो छ उनको नालीबेली…

काठमाडौं, २६ चैत ।

चर्चित राहुल सांकृत्यायनको जीवन मानवीय क्षमताको सीमाहीनतको उदारण मानिन्छ ।

राहुल संकृत्यायनले सङ्कलन गरेका दुर्लभ मूर्ति, थान्का, काष्ठचित्र र पाण्डुलिपि समेटेर दिल्लीस्थित इन्दिरा गान्धी कला राष्ट्रिय केन्द्रमा मार्च १७ देखि प्रदर्शन जारी छ ।

यी अमूल्य पुरातात्त्विक महत्त्वका सामग्रीहरू अप्रिल ९ सम्म प्रदर्शनमा राखिनेछन् । अप्रिल ९ राहुलको वार्षिकोत्व पनि हो । यो प्रदर्शनबाट १ सय ४० वटा किताब लेखेका एक अद्भूत प्रतिभा तथा स्वतन्त्र विचारक राहुलको मानसिकताबारे जानकारी गराउने उद्देश्य सार्थक हुने देखिन्छ ।

राहुल संकृत्यायनलाई हिन्दी भाषाको नियात्रा लेखनका सुरुआतकर्ता मानिन्छ । उनको पहिलो किताब ‘तिब्बतमा सवा वर्ष’ मा असाध्यै राम्रो रूपमा तिब्बतको इतिहास, भूगोल र तिब्बतको भविष्यबारे विश्लेषण पाइन्छ । सन् १९३२ मा यो कृति प्रकाशन हुँदा यसले हिन्दी यात्रालेखनलाई नै बदलिदिएको थियो ।

सन् १८९३ अप्रिल ९ मा जन्मिएका सांकृत्यायनको पारिवारिक नाम केदार पाण्डे थियो । ज्ञानको खोजीमा उनी सानैमा घरबाट भागेका थिए । ज्ञानको भोकले उनलाई वाराणसी पुर्‍यायो । त्यहाँ उनले अभावग्रस्त विद्यार्थीहरूसँग मिलेर संस्कृत पढ्न थाले । बिहारका एक चर्चित महन्थसँगको भेटले उनको जीवनको बाटो बदलिदियो ।

उनले प्राचीन संस्कृत र ब्राह्मणीय क्षेत्रको उलेख्य ज्ञान बटुले । मठको उत्तराधिकारीका रूपमा चुनिएका उनले स्वामी रामेदरदासको नाम ग्रहण गरे । तर, उनमा रहेको अराजक स्वभावले उनलाई मठमा सीमित हुन दिएन । उनी दक्षिण भारतको भ्रमणमा निस्किए । त्यहाँ केही समय उनी शास्त्रीय वेदान्त अध्ययनको अटुट परम्परामा सहभागी भए । वैदान्तिक कर्मकाण्डप्रति उग्र घृणाभावका कारण पछि उनी आर्य समाजतर्फ आकर्षित भए । त्यसपछि उनले केदारनाथ विद्यार्थीको नाममा हिन्दी र उर्दूमा लेख्न थाले । चिन्तनशील दर्शनशास्त्रको अध्ययनका लागि उनी बौद्ध धर्ममा लागे ।

सांकृत्यायनको राजनीतिक जीवन सन् १९१९ मा सुरु भयो, जब उनी कङ्ग्रेससँग जोडिए । त्यसताका उनी उत्तर बिहारको गान्धीवादी ‘असहयोग आन्दोलन’ को महत्त्वपूर्ण नेता भए । यस क्रममा समयमा सांकृत्यायन दुई पटक पक्राउ परे । जेलमा छँदा उनले आफ्नो पहिलो उपन्यास ‘विश्वी सदी’ लेखे ।

उनी सन् १९२६ मा जेलमुक्त भए । सन् १९२७ मा श्रीलङ्काको बौद्ध स्कुलमा पढाउनुअघि उनी हिमालय क्षेत्रको भ्रमणमा निस्किए । श्रीलङ्काको बसाइका क्रममा उनले बौद्धग्रन्थ त्रिपिटकको आलोचनात्मक अध्ययन गरे । यसबेला उनले हराएका बौद्ध लेखहरूको पुनर्स्थापनामा पनि ध्यान दिए । उनले चिनियाँ त्रिपिटकबाट अभिधम्मकोश संस्कृतमा अनुवाद गरे ।

युरोपेली विद्वानहरूले एसियाका बारेमा लेखेका पाठहरू अध्ययन गर्न उनले स्वाध्यनबाटै फ्रेन्च र जर्मन भाषा समेत सिके । सांकृत्यायनको बौद्ध दर्शनमा रहेको तीव्र चाख र उनको अप्रत्याशित स्वाभावले फेरि उनलाई तिब्बत पुर्‍यायो । त्यसबेला तिब्बत भारतीयहरूले विरलै घुमेको ठाउँ थियो । उनले आफ्नो नाम उल्लेख नगरी बाह्य संसारसँग पूर्णतः सम्पर्क टुटाएर अत्यन्तै कठिन परिस्थितिमा तिब्बत भ्रमण गरे ।

उनी पन्ध्र महिनासम्म तिब्बतको राजधानी ल्हासामा बसे । यस क्रममा उनले भारतमा हराइसकेको बौद्ध ग्रन्थहरूको अध्ययन गरे । उनले सङ्कलन गरेका अधिकांश पाण्डुलिपिहरू हस्तलिखित वा काठको ब्लकमा खोपिएका थिए । केही त सुन र चाँदीको पाउडरले समेत लेखिएका थिए । धार्मिक पाठहरूका अलावामा त्यहाँ उनले धातुविज्ञान, औषधि, तन्त्र, कला, ज्योतिष ज्ञान, जडीबुटी विज्ञान र प्राविधिक विषयहरू तथा इतिहासहरू र लेखनहरू पनि भेटे ।

श्रीलङ्का फर्केपछि उनलाई बौद्ध कलेजले बौद्ध भिक्षु बनायो । यहाँ आएपछि मात्र उनको परिचय राहुल सांकृत्यायनमा बदलिएको हो । नयाँ परिचयमा उनले आफ्नो यात्रा जारी राखे । उनले फ्रान्स, बेलायत, जर्मनी, माले, जापान, कोरिया, मन्चुरिया, इरान, अफगानिस्तान र सोभियत सङ्घको भ्रमण गरे । यसै क्रममा उनी ट्रान्ससाइबेरियन रेलमा चढेर साइबेरिया पुगे । त्यसैले उनका संस्मरण पढ्दा विभिन्न भूगोल विचरण गर्न पाइन्छ । उनको संस्मरणमा उनी पुगेका देशको ऐतिहासिक र पराभौतिक तत्त्वहरूबारे सूक्ष्म विश्लेषण पाइन्छ ।

जीवनको उत्तरार्द्धमा उनले आफ्नो मन पर्ने काम– भ्रमणको विज्ञानबारे एउटा किताब नै लेखे । यसलाई उनले ‘भ्रमणशास्त्र’ नाम दिए । उनको ‘भोल्गादेखि गङ्गा’ (१९४२ मा प्रकाशित) मा उनको पृथक् घुमक्कड उत्साह पाइन्छ ।

संकृत्यायनले सन् १९३४ मा दोस्रो पटक तिब्बतको भ्रमण गरे । यो भ्रमणमा उनले संस्कृतका केही हस्तलिखित, पत्तामा लेखिएका ग्रन्थहरू भेटे । यीमध्ये धेरै अनुवाद भएर त्यहाँको बौद्ध बिहारमा संगृहित थिए । यो भ्रमणबाट उनी तिब्बती काष्ठकला र दजनौं दुर्लभ थान्का चित्रहरू लिएर फर्किए । पछिका भ्रमणहरूमा उनले त्यहाँ रहेका अरू थुप्रै संस्कृत पाण्डुलिपिहरू पत्ता लगाए । यी भ्रमणहरूमा उनले तिनका तस्बिरहरू खिँचेका थिए । यी सिसामा रहेका नेगेटिभ बिहार रिसर्च सोसाइटीमा भेटिन्छन् ।

सन् १९३० सम्ममा उनले आफूलाई गान्धीवादी राजनीतिबाट टाढा पुर्‍याइसकेका थिए । उनी ‘कंग्रेस समाजवादी पार्टी’ का संस्थापक सदस्य हुन् । यस चरणमा उनले मार्क्सवादी साहित्य अध्ययन गरे र कम्युनिस्ट घोषणापत्रलाई पनि अनुवाद गरे । सन् १९३८ सम्ममा उनी भारतको किसान आन्दोलनको महत्त्वपूर्ण नेता भइसकेका थिए । उनले बिहारमा कम्युनिस्ट पार्टी खोले ।

१९४० मा उनी कम्युनिस्ट पार्टीको किसान भ्रातृसङ्गठन ‘अखिल भारत किसान सभा’ को अध्यक्ष चुनिए । केही अवधिसम्म उनी यस संस्थाको मुखपत्र हुङ्कारको सम्पादक पनि भए । उनको क्रान्तिकारी राजनीतिका कारण उनलाई हजारीबाग जेल र दियोली इन्टर्मेन्ट क्याम्पमा दुई वर्ष कारागारमा राखियो ।

सन् १९४४ मा उनले पुनः भारत छाडे । यसबेला उनी इरान हुँदै लेनिनग्राद (हाल सेन्टपिटसबर्ग) गए । त्यहाँ उनलाई पूर्वीय भाषाअन्तर्गत संस्कृत पढाउन निमन्त्रणा गरिएको थियो । त्यहाँबाट उनी सन् १९४७ मा फर्किए । त्यसपछि उनले आफ्नो बाँकी जीवन हिमालय र श्रीलङ्कामा बिताए ।

बौद्धसम्बन्धी उनको सबैभन्दा महत्त्वपूर्ण कृति सन् १९७० मा मरणोपरान्त छापिएको थियो । ‘मध्य एसियाको इतिहास (१९५६–१९५७)’ को दुई भागका लागि उनलाई साहित्य एकेडेमी अवार्ड प्रदान गरियो । उनी बितेको वर्ष सन् १९६३ मा उनलाई पद्यभुषण पदवीले सम्मानित गरियो ।

सांकृत्यायनको जीवन मानवीय क्षमताको सीमाहीनतको उदारण हो । उनले आफ्नो भ्रमणमा, सङ्कलनमा र लेखनमा आफ्नो अलग्गै राज्य निर्माण गरेका छन् । उनको लेखन आजसम्म जीवन्त छ, जसरी उनले सङ्कलन गरेका महत्त्वपूर्ण पाण्डुलिपिहरू आजसम्म जीवित छन् । तिब्बतमै भएका भए ती १९५० को चिनियाँ अतिक्रमणको क्रममा नाश हुन सक्थे ।

तथापि उनकी छोरीले पाण्डुलिपिको अभिभावकत्वमा गम्भीर प्रश्न उठाइरहेकी छन् । “बिहार रिसर्च सोसाइटीको बन्द कोठामा उनले तिब्बतबाट ल्याएका ६ हजार ४ सयभन्दा धेरै पाण्डुलिपिहरू थुप्रिएका छन् । तीमध्ये केहीलाई नेशनल मिसन फर म्यानुस्क्रिप्टले डिजिटलकृत गरेको छ । सारनाथमा रहेको सेन्ट्रल इन्स्टिच्युट अफ हाइअर तिब्बटेन स्टडीका अध्येताहरूले यसलाई सूचीबद्ध गर्ने तयारी गर्दैछन् । तर, यसले सम्पूर्णतालाई समेट्दैन । हामीलाई ती सामग्रीका अध्येताहरूबाट अनुवाद र सुरक्षका लागि विस्तारित पहुँच र सहकार्यको आवश्यकता छ । यो धरोहरलाई भविष्यका पुस्तका लागि सुरक्षित राख्नुपर्छ”– उनले भनेकी छन् ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर