NewsKoseli.Com

कौशिकी, सरित् र उनका कथाहरु : पाठकीय दृष्टिमा

काठमाडौं, २८ चैत ।

समयले मानिसलाई निरन्तर हिँडाइरहने रहेछ । मेरो जीवनको उत्तरार्द्धको ओरालीमा मैले आफ्ना समयलाई अत्यन्त गम्भीरतापूर्वक सदुपयोग गर्ने मनमनै प्रण गरिसकेकी छु । यो समय मेरो लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ तसर्थ यसलाई मैले साहित्य साधनामा नै समर्पित गर्ने प्रयास गरिरहेकी छु ।

यो समयम मेरा दिनहरू केही पुस्तकहरू अध्ययन गर्ने र ती पुस्तकभित्र रहेका सकारात्मक र नकारात्मक पक्षहरूलाई समेतेर कागजका खाली पानाहरूमा शब्दांकुरहरुद्वारा व्यक्त गर्नुमै व्यतीत गर्ने थोरै भए पनि कोशिश गर्दैछु । त्यसरी आफ्ना मनका भावनाहरूलाई अभिव्यक्त गर्ने यो कार्यप्रति म आफैं सन्तुष्ट भएको अनुभव गर्दैछु ।

विषय र सन्दर्भहरू फरक फरक हुन्छन् । भाव र लेखनशीलीको आफ्नै स्वरूप हुन्छन् । एक जना पाठकले कुनै पनि पुस्तक पढिसकेपछि आफूलाई लागेका केही अनुभूतिहरूलाई पाठकले आफ्नै शब्द र शैलीबाट व्यक्त गर्नु स्वागतयोग्य कुरा हो । आफ्नो प्रतिक्रिया अभिव्यक्त गर्नुमा पाठकको क्षमता र अध्ययनको सेरोफेरो घुमिरहेको हुन्छ ।

यसै सन्दर्भमा यसपटक मैले अध्ययन गरेको पुस्तक हो कौशिकी द्धैमासिकको ‘सरितका प्रतिनिधि कथा’ । कौशिकीको यो अंक पढिसकेपछि त्यसभित्र रहेका विभिन्न शीर्षकका कथाहरूको बारेमा आफ्नो मनमा लागेका भावनाहरूलाई अभिव्यक्त गर्ने चाहनाले मलाई बारम्बार घच्घच्याइरह्यो ।

झलक्क हेर्दा साधारण व्यक्तित्वको इन्द्रकुमार श्रेष्ठ सरितलाई मैले चिनेकै रहेनछु । एक पटक मैले एउटा पत्रिका पल्टाउँदै थिएँ । त्यसभित्रको एउटा पानामा लेखिएको उनको नामले मलाई आकर्षित गर्‍यो । त्यहाँ उनले गजलको इतिहास र अन्य आवश्यक सन्दर्भहरू पनि लेखेका थिए । त्यो रचना पढ्दापढ्दै मैले मनमनै भनें– यो भाइ त छुपारुस्तम पो रहेछ । गजलसम्बन्धी यिनीसँग यति धेरै ज्ञान रहेछ । समग्रमा भन्नुपर्दा सरित् गजलकार, बाल साहित्यकार, कथाकार, कवि, उपन्यासकार, गीतकार र नियात्राकार पनि पो रहेछ । सरितका यी खुबी थाहा पाएर म मनमनै खुसी भएँ । उनीप्रतिको मेरो साहित्यिक अनुराग अरु बढ्न थाल्यो । किनभने यसमा मेरो पनि स्वार्थ थियो । उनीसँगको संगतले मेरो साहित्य साधनामा थोरै भए पनि उर्जा थपिन्थ्यो कि !

लेखिका सुशीला प्रधानाङ्ग

वास्तवमा मानिसको गुण र क्षमतालाई बाहिरी आँखाले ठम्याउन नसकिने रहेछ । मानिसको बौद्धिकता र योग्यतालाई उसको बाहिरी आवरणले मात्र पनि थाहा पाउन गाह्राे हुँदोरहेछ । शान्त सागरभित्रको गहिराई नाप्न र त्यसभित्र समेटिएर रहेका मूल्यवान मोतिहरूलाई चिन्न र जानकारी राख्न सागरभित्रसम्म नै डुबुल्की मार्नुपर्छ रे भन्छन् । यसरी नै मलाई पनि सरितको लेखनीले आकर्षित गरिरहेको थियो । संयोगले मेरो हातमा सरितद्वारा लिखित कौशिकी पत्रिकामा प्रतिनिधि कथाहरूलाई सङ्ग्रहको रूपमा प्रकाशित गरिएको यो पहत्त्वपूर्ण कार्यप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

यस संकलनमा सरितका जम्मा १३ वटा कथाहरूलाई सङ्ग्रहित गरिएको छ । डा. मधुसूदन गिरिको भूमिकाले कौशिकीको मूल्य जवाहरातभन्दा पनि मूल्यवान हुन पुगेको छ । कथाकारको अन्तर्वार्ता समेत समेटिनाले यस अंकको वजन झन् बढेको अनुभव हुन्छ ।

कथाकार इन्द्रकुमार श्रेष्ठ सरितको जन्म राधापुर, म्यान्मा (बर्मा) मा २०१९ साल पुस १० गते भएको हो । ब्रिटिश गोरखा लाहुरे बाबु वीरबहादुर र आमा यासुकुमारीका यिनी काइँला छोरा हुन् । तरहरा, सुन्सरीका स्थायी बासिन्दा यिनी धेरै वर्षदेखि राजधानीका पनि स्थायी बासिन्दाकै रूपमा बसिरहेका छन् ।

१३–१४ वर्षको उमेरदेखि नै साहित्यमा रमाउन थालिसकेका सरितका यस संकलनमा सङ्ग्रहित अधिकांश कथाहरूमा सामाजिक क्रान्तिको शंखघोष गरिएको छ । सरितको लेखनले परम्परागत संस्कारहरूभित्र रहेका कुसंस्कारहरूलाई समयसापेक्ष सुधार गर्दै लानुपर्ने सन्देश दिएको छ भने जनमुखी विचारलाई अत्यन्त गम्भीरतापूर्वक आत्मसात गर्दै त्यसलाई आम जनसमुदायसम्म लानुपर्ने निचोड निकालेको देखिन्छ । यसैकारणले उनका रचनाहरूमा प्रगतिवादी वैचारिक प्रभाव मनग्गे रहेको देखिन्छ ।

कथाहरूको संक्षिप्त सिंहावलोकन

‘चियाबारी’ कथामा निहित श्रमजीवीहरूको वेदनाले कथाकारसँगै पाठकहरूको मन पनि सर्वहारा वर्गका मजदुरहरूका मनसँग गाँसिन पुग्छ । आजीवन मिहिनेत गर्दा पनि शोषित र पीडित हुनु परेको पीडाले मजदुरहरूको मनमस्तिष्कमा विद्रोको ज्वाला सल्किएको छ । यो कथा आज पनि उत्तिकै समयसापेक्ष छ । त्यति मात्र नभएर हरेक मजदुरहरूको समस्या, चाहना र इच्छाहरूलाई सशक्त ढंगले उठाइएकाले कथाका आएका पात्रहरू सजीव र विश्वसनीय बनेका छन् ।

त्यसरी नै ‘धर्जली’ कथामा झापामा लाग्ने हाटबजारको वर्णन गरिएका दृश्यहरू आफ्नै आँखा अगाडि भएको अनुभव र अनुभूति गराउन कथाकार सफल भएका छन् । यो महिला चरित्र प्रमुख भएको कथा हो । यस कथामा गाउका अशिक्षित वर्गका महिलाहरूको करुणगाथा छ । प्रेम गरेर धोखा दिने धोखेबाज पुरुषको हैकम छ । अन्तमा धोखेबाजहरू सजायका भागी हुनुपर्छ र त्यस्ता व्यक्तिहरूलाई सजाय कानुनले मात्र होइन, स्वयम् पीडितले नै पनि दिन सक्नुपर्छ भन्ने विषयवस्तुलाई कलात्मक ढंगबाट कथाकारले प्रस्तुत गरेका छन् ।

संकलनको तेस्राे कथा हो– ‘प्रजातन्त्र भनेको यही हो ?’ यस कथामा प्रजातन्त्र स्थापनाका लागि कयौं निर्दोष बालबालिकाहरू र मानिसहरूले पनि आफ्नो ज्यान गुमाउनु परेको कुरालाई अत्यन्त मार्मिक ढंगबाट कथालाई बुनिएको छ । एउटा भोको पेटका लागि प्रजातन्त्र होइन, पेट भर्ने तन्त्रको व्यवस्था गर्नु आवश्यक छ भन्ने कथनलाई यहाँ पेस गरिएको छ । आजको यस परिपाटीमा पनि यस्ता घटनाहरूले हामीलाई संवेदनशील बनाउने गर्छन् ।

यसैगरी अर्को प्रतिनिधि कथा हो– ‘जस्केलाबाट आउने सूर्य’ । यो कथा पनि निम्नवर्गको चरित्रको वरिपरि घुमेको छ । आफ्नो जीविकोपार्जनका लागि निम्न वर्गका मानिसहरूले धेरै बाध्यताहरूलाई व्यहोर्नु परेको दृश्य र संवादले कथालाई झनै मर्मस्पर्शी बनाएको छ । युगौंदेखि चल्दै आएको शामन्ती प्रवृत्तिको संस्कारहरूले निम्न वर्गहरू जहिले पनि शोषण र अन्यायमा परेको देखिन्छ । तर, दूध उम्लेपछि पोखिन्छ भनेजस्तै निम्न वर्ग र निमुखाहरूले पनि शोषण र अत्याचारको विरुद्ध एक न एक दिन विद्रोह गर्दारहेछन् । उक्त कथाले यही सन्देश प्रवाह गरेको छ ।

प्रतिनिधि कथाहरूमध्ये उल्लेखनीय कथा हो– ‘एउटा अर्को अमरसिंह’ । यस कथामा एउटा मानिस राजनीतिक पार्टीमा प्रवेश गर्नुअघि उसले देश र जनताको हितका लागि धेरै धेरै असल काम गर्ने सपना देखेको हुन्छ । आफूले देखेको सपना र पार्टीले लिएको विचार अनि सिद्धान्तपूर्तिका लागि उसले ज्यानको बाजी लगाएर काम गर्छ । यो कथा जनमतसङ्ग्रहको आसपास समयको हो । समाज र देशको मुहारमा लागेको कालो दाग पखाल्न उसले हुनसम्मको त्याग र बलिदान गरेको हुन्छ ।

श्रमजीवीहरूको हकअधिकार प्राप्तिका लागि संसार बदल्ने मार्क्स र लेनिनको मार्क्सवादी सिद्धान्तलाई आत्मसात् गर्दै शोषण–अन्याय र अत्याचारका विरुद्ध ऊ सतिसाल झैं उभिन्छ । तर, पार्टीकै केही अगुवा भनाउँदाहरू यस्तो साहसिक व्यक्तिका पाइलाहरू रोजेको बाटोभन्दा ठीक विपरित दिशातर्फ मोडिन्छन् । वैचारिक दृष्टिले कथा अत्यन्त सबल छ र चारित्रिक दृष्टिले कथाका पात्रहरू अत्यन्त विश्वसनीय छन् । कथाकार सरितका राम्रा कथाहरूमध्ये यसलाई पनि मान्न सकिन्छ ।

कथाकार सरितको चर्चा गर्ने कथा हो– ‘खुला कारागार ।’ हामीले केवल बन्द कारागारका बारेमा मात्र सुनेका र देखेका छौं । तर, खुला कारागार शीर्षकमै कथाको सम्पूर्ण सार समेटिएको यस कथामा मानिस खुला कारागारमा पनि बन्दी भएर बस्नुपर्दो रहेछ भनेर कथा, भाषा, शैली र चरित्रलाई अत्यन्त मिठास र कलात्मकताका साथ प्रस्तुत गरिएको छ । यो कलात्मकताभित्र मानिसको पीडा, छटपटी र दुःखको पहाड पनि छ । जुनसुकै दरबारमा पनि काम गर्ने कामदारको जीवन जनावरको भन्दा पनि कष्टकर र पीडादायी हुन्छ भन्ने सन्देश दिने यो कथा सत्य घटनामा आधारित कथा हो कि भन्ने लाग्छ । जीवनलाई जीवनजस्तै बाँच्ने हो भने सुनको पिँजडालाई तोडेर स्वतन्त्रता खोज्न सक्नुपर्छ भन्ने अभिप्राय बोकेको यस कथाको अध्ययनले पाठकलाई फेरि एकपटक दरबारको जीवनसँग साक्षात्कार गराउँछ ।

संकलनमा संकलित निकै नै लामो कथा ‘हाँगाबाट खसेका पहेँला पातहरू’ पढ्नु अगावै कथाको शीर्षकले नै पाठकको मनको संवेदनशीलताको ढोका खोल्न सुरु गर्छ । कसो–कसो पाठकको मन उकुसमुकुस हुन थाल्छ । अभाव र पीडाको समुद्रमा हेलिने यस कथामा मगन्तेदेखि देशलाई दुहेर आफ्नो दुनो सोझ्याउने फटाहाहरूको कच्चा चिट्ठा उदांगो पारिएको छ । यो कथा पढिसकेर पनि यसभित्रको पीडाले लामो समयसम्म समाइरहन्छ– यति भन्दा बढी नहोला ।

‘दुखेको अतीत रोएको वर्तमान’ जस्तो कथा नेपाली साहित्यमा अत्यन्त कम लेखिएका छन् । पुस्तौंदेखि वर्मामा बसिरहेका नेपालीहरूले बाध्यतामा आफ्नो थातथलो छाड्नु पर्दाको दुःख, पीडा र क्रन्दन छ । पराई देशमा नेपालीहरूले भोग्नु परेको दुर्नियतिलाई लेखकले अत्यन्तै मार्मिक ढंगले अभिव्यक्त गरेका छन् । तर ती नेपालीहरू नेपाल फर्किसकेपछि पनि उनीहरूलाई नेपाली समाजमा घुलमिल हुन गाह्राे पर्छ किनभने नेपाल भनेर फर्किएका नेपालीहरूलाई हाम्रो समाजले बर्मेली, भुटानी, आसामी आदि आदि नामले सम्बोधन गरेर उनीहरूको घाउमाथि नुनचुक छरिरहन्छन् । वर्मादेखि नेपाल आउँदासम्मका कहालीलाग्दा घटनाक्रमहरूले भरिएको यो कथाले कथाकार इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ भन्ने कथाको स्मरण गराइरहन्छ । तर, दुबै कथाकारको कथानक, कथ्यशैली, भाषा, चरित्रचित्रणमा भने पूरै भिन्नता पाइन्छ । कन्जुस्याइँ नगरी भन्दा कथाकार सरितका कथाहरूमध्ये यो एक अब्बल कथा हो, जसको नेपाली साहित्यमा जति चर्चा हुनुपर्ने थियो, त्यो पटक्कै नभएको पक्ष भने साह्रै नै दुःखद हो ।

नेवारी संस्कृतिको अहम् पक्षलाई अगाडि सारेर लेखिएको कथा ‘इही’ पनि अर्को उल्लेखनीय मात्रै नभई ज्यादै मर्मस्पर्शी कथा हो । नेपाल राष्ट्र विभिन्न जाजातिको फूलबारी हो भन्दा कसैको पनि विमति नहोला । सबै जातजातिका आ–आफ्नै परम्परा र संस्कृति अनि संस्कारहरू रहेका छन् । निम्न र गरिव वर्गका परिवारहरू ती संस्कृतिहरूलाई मनगे रूपमा मनाउन असमर्थ हुन्छन् । यसका साथसाथै समाजको आँखाको कसिंगर पनि बन्न पुग्छन् । त्यति मात्रै होइन, परिवारका मुख्य पात्रलाई आत्मग्लानिको आगोले जलाइरहन्छ । गरिब हुनु भनेको यो जीवनको लागि अभिशाप हो भन्ने सम्झन थाल्छन् र आफूलाई मानसिक रोगको शिकार बनाउन पनि पछि पर्दैनन् ।

अर्को कथा हो ‘ऋतु फेरिँदै जान्छ’ यसकाे कथानक समाजमा विद्यमान दलित जातिहरूप्रति गरिने असमान र तुच्छ व्यवहारप्रति संकेत गरिएको छ । सुदूर गाउँबाट केही सपना बोकेर सहर आएको एक दलित युवाको कथा हो यो । उपल्लो जात भनिनले जति नै थिचोमिचो गरे पनि आखिर ऋतु त फेरिन्छ भने समयको अगाडि कसको के लाग्छ र ? प्रगतिवादी सोच र विचारबाट प्रभावित सरितको कथा सामाजिक यथार्थवादीभन्दा एक कदम अगाडि बढेर समाजवादी यथार्थवादी कथा बन्न सफल छ ।

‘बाबु मोशाय’ एक जना शिक्षकको वरिपरि घुमेको ज्यादै मर्मस्पर्शी कथा हो । शिक्षणप्रति समर्पित यो एकजना यस्तो शिक्षकको कथा हो जसले जीवनभरि दिनमात्र जान्यो तर कहिल्यै कसैसामुँ हात फैलाएन । तैपनि जीवनका पछिल्ला क्षणहरूमा के उसलाई पनि कसैको साथको आवश्यकता थियो त ? यो कथाले अप्रत्यक्ष पाठकहरूसंग यो प्रश्न गर्छ र यही प्रश्नले पाठकहरूको मन कुटुकुटु खाइरहन्छ ।

आजको वर्तमान परिप्रेक्ष्यको कुराभन्दा मलाई अतीतका ती दिनहरूले घच्घच्यायो । त्यत्तिबेला हाम्रो देशमा नेपाली शिक्षक औंलामा गनिन सक्ने मात्र थिए । भारतबाट भारतीय शिक्षकहरू आएर उनीहरूकै भाषामा पढाउने गर्दथे । उनीहरूले पढाउने मुख्य विषय भनेको अंग्रेजी, गणित र विज्ञान हुन्थ्यो । मैले पनि त्यसरी नै भारतीय शिक्षकसँग पढेकी थिएँ । ती शिक्षक बिरामी परेर आफ्नो देश फर्किनुपर्ने भयो । तर, घर फर्कन उनीसँग गाडी भाडा समेत थिएन । हामी विद्यार्थीहरूले पैसा उठाएर दिएका थियौं । उनीप्रतिको हाम्रो श्रद्धा र सहयोगी भावना देखेर उनी धुरुधुरु रोएका थिए । सरितको यो कथा पढेर म फेरि पुराना दिनहरूमा फर्किन बाध्य भएँ ।

सरितका प्रतिनिधि कथाहरूमा संग्रहित अन्तिम तर अत्यन्तै सान्दर्भिक तर मार्मिक कथा हो– ‘मोहियानीको मोहजाल’ । यस कथामा तत्कालीन समयमा तराईका गाउँहरूका रैथाने थारु जातिहरूको अभाव, पीडा, अशिक्षा, वेदना र पीडा जीवन्त बनेर आएको छ । यस कथामा सिधा, सरल र मिहिनेती थारु जातिका महिलाहरूप्रति हेर्ने पिपाशु आँखाहरूको अपराधमय उपस्थिति छ । यस कथामा बहेको पीडा र मुख्य चरित्रहरूले भोग्नुपरेको वेदनाले पाठकको आँखा आँसु भरिन्छन् । मलाई त यस्तै अनुभूति भयो ।

कथाहरूको परिवेश, पृष्ठभूमि र प्रवृत्ति

कथाकार सरितका कथाहरूको पृष्ठभूमि फरक–फरक छन् । समग्रमा कथाकार इन्द्रकुमार श्रेष्ठ सरितका यी सबै कथाहरू २०६० सालभन्दा अघिका कथाहरू हुन् । प्रगतिवादी बैचारिक दृष्टिले नापजोखगर्दा यी कथाहरूमा केही कमबेसी होलान् तैपनि सामाजिक र सांस्कृतिक मूल्य र मान्यताहरूलाई अक्षुण्ण राख्दै समसामयिक सुधारको भाव व्यक्त गर्ने सरित्का विचारहरू सामाजिक परिवर्तन र सांस्कृतिक रूपान्तरणका पक्षमा छन् किनभने प्रगतिवादी दृष्टिकोणले २०६० पछि लेखिएका यिनका कथाहरू मार्क्सवादी वैचारिक दृष्टिले बढी परिपक्व देखिन्छन् ।

सरितका केही कथाहरूमा महिला चरित्रहरू बढी नै कारुणिक, प्रतिनिधिमूलक र विश्वसनीय बनेर देखापरेका छन् जस्तै– धर्जली, संघारमा आदि यी कथाहरूमा स्थानीय बोलीचालीको शैलीलाई पछ्याउनाले कथा सिंगारिएको अनुभव हुन्छ ।

सरितको भाषामा मिठास छ, शैली आकर्षक छ । यिनको भाषाशैलीले त पाठकलाई तान्छ नै, कथामा पाइने जीवन्तताले पाठकलाई कथा सकिएपछि पनि कथाको ह्याङओभरले छाड्दैन ।

सामान्य सुधारले मात्र समाजलाई बदल्न सकिन्न बरु समाज बदल्न आमूल परिवर्तनको आवश्यकता पर्छ भन्ने मान्यता राख्ने सरित् आफ्ना कथामार्फत् प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रान्तिको पक्षपोषण गर्छन् । यिनले कथामा प्रयोग गर्ने प्रतीक, उपमा र बिम्बले पनि यिनका कथाहरूलाई पाठकको मनसँग जोड्न मद्धत गर्छन् ।

यिनका प्रत्येक कथा पढ्दा पाठकहरूको मनमा कौतुहलता र उत्सुकता बढिरहेको हुन्छ– अब के हुन्छ ? अब के हुन्छ ? त्यसैले सरितका यी कथाहरू अत्यन्तै पठनीय छन् । सरितका तेह्र कथाहरूको संगालो साहित्य अनुरागीहरूले मात्रै हैन, सबैले एक पटक पढेर रसास्वादन गर्नु उत्तम हुनेछ ।

सरितका प्रतिनिधि कथाहरूका सन्दर्भमा एक जना पाठकको प्रतिक्रियाको बिट मार्नुअघि कथाकार इन्द्रकुमार श्रेष्ठ सरितलाई बधाई भन्दै आगामी दिनमा अझ राम्रा–राम्रा कथाहरू लेखनका लागि शुभकामना !

कौशलटार, भक्तपुर

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर