NewsKoseli.Com

यसरी बन्यो ‘नर्क जाने बाटो’…

काठमाडौं, ८ वैशाख ।

१८६३ को प्रारम्भमा लण्डनमा एक यातायात साधनको चर्चा थियो । त्यो बेलासम्म सञ्चालनमा नआएको भूमिगत रेल प्रणाली सफल हुने नहुने बारेमा लण्डनबासीहरुमा बहस चलिरहेको थियो । आखिर यो विश्वको पहिलो भूमिगत रेल थियो ।

त्यो समय सहरमुनि ठूलो सुरुङ बनाएर त्यसबाट रेल कुदाउने कुरा आफैंमा सपनाजस्तो लाग्थ्यो । अधिकांश मानिसहरुले यो सफल हुनेमा शंका गरिरहेका थिए । यो विचारलाई उडाइन्थ्यो । एक स्थानीय मन्त्रीले त ‘रेल कम्पनीले नर्क जाने बाटो खन्न लागेको’ आरोप लगाए । धेरै मानिसहरुले आजको मूल्यमा १० करोड डलर लागेको यो परियोजनाले कहिल्यै काम नगर्ने बताए । तर, यसले काम गर्‍यो।

पहिलो भूमिगत रेललाइन र विस्तार

१० जनवरी १८६३ मा यो रेलको उद्घाटन हुदाँ ३०,००० लण्डनवासीहरु विश्वको पहिलो भूमिगत रेलको यात्रा गर्नका लागि जमिनमुनि गए । निर्माणको तीन वर्ष र केही समयपछि महानगरीय भूमिगत रेलमार्ग प्रयोगको लागि तयार थियो । सहरका अधिकारीहरुले ठूलो राहतको श्वास फेरे । उनीहरु सडकमा बढेको डरलाग्दो भीड हटाउने उपाय खोजिरहेका थिए ।

त्यो समयमा लण्डन विश्वको सबैभन्दा ठूलो र धैरै जनसङ्ख्या भएको सहर थियो । सडक गतिरोध सधैं समस्या थियो । गाडा, बोकेर सामान बेच्ने व्यापारीहरु, गाईवस्तु र बटुवाले गर्दा सडकमा हिँड्न मुस्किल हुन्थ्यो ।

त्यही समयमा एक स्वप्नद्रस्टा चाल्स पार्सनले पहिलो पटक रेललाई भूमिगत रुपमा चलाउने विचार अघि सारे । सन् १८४० को दशकभर उनले भूमिगत रेलमार्गको लागि समर्थन जुटाउन प्रयास गरिरहे । तर विरोधीहरुले उनको विचार कार्यन्वयनमा ल्याउन नसकिने विचार व्यक्त गरे । त्यो समयमा रेलमार्गका सुरुङ्ग भनेको रेलमार्गमा पर्ने साना पहाडहरुमा मात्र बनाइएका हुन्थे । त्यसैले शहरको केन्द्रबाट रेलमार्ग लैजाने कुरामा कसैले विश्वास गरेनन् ।

तर यसको सरल उपाय थियो –‘ताछ र छोप’ । कामदारहरुले ठूलो खाडल खन्नुपथ्र्यो र इँट्टाको आर्क आकारको सुरुङ्ग बनाउनुपर्थ्यो । र नयाँ बनेको सुरुङमाथि खाली रहेको भागलाई माटोले छोपिन्थ्यो । यो प्रक्रियामा बाटोमा संरचना पर्‍यो भने तिनलाई भत्काउनुपर्थ्यो । त्यसैले अधिकांश मार्ग पहिले सडक रहेको स्थान मुनि बनाइयो । निश्चित रुपमा त्यस क्रममा केही दुर्घटनाहरु भए । एक अबसरमा ठूलो पानी परेपछि नजिकको ढल भरिएर सुरुङभित्र पस्दा महिनौं परियोजनाको निर्माण रोकिएको थियो ।

महानगरीय रेलमार्ग खुल्नासाथ नयाँ बनेको रेल चढ्नेको भीड लाग्यो । महानगरीय रेलमार्ग छिट्टैनै लण्डनको यातायात प्रणालीको अभिन्न हिस्सा भयो । त्यसको केही समय पछिनै यसलाई लम्बाइयो । यसको स्टेशन नजिक नयाँ वस्ति बस्यो । रेलमार्गका नजिक ठूला डिपार्टमेन्ट स्टोरहरु खोलिए । रेल कम्पनीले थप आकर्षणहरु पनि ल्यायो । अर्ल कोर्टमा ३० तल्लाको रोटे पिङ्ग बनाइएपछि मानिसहरु रेल चढेर रोटेपिङ चढ्न आउन थाले ।

तीस वर्ष भित्र लण्डनको भूमिगत रेल प्रणाली ८० किलोमिटरमा फैलिसकेको थियो । शहरका केन्द्रहरुमा भूमिगत हुने यो रेलमार्ग बाह्य छेउमा भने जमिनको सतहमै चल्थ्यो ।

सघन सहरका लागि नयाँ प्रविधि…

लण्डन फैलिरहेको थियो र सबै यस प्रणालीसँग जोडिन चाहन्थे । १८८० को दशकको अन्त्यसम्ममा सहर भवन, ढल र बिजुली केबलका कारण निक्कै सघन भइसकेको थियो । ‘ताछ र पुर’ प्रविधि प्रयोग गर्न नमिल्ने भइसकेको थियो । त्यसैले नयाँ प्रणालीको विकास गर्नु पर्थ्यो ।

ग्रेटहेड सिल्ड नामक मेसिनको प्रयोग गरेर १२ जना कामदारहरुको समूहले लण्डनको माटोमा गहिरो भूमिगत सुरुङ्ग खन्न सक्ने भए । ‘ट्युब’ भनिने नयाँ रेल लाइन विभिन्न गहिराईमा बन्न थाले तर यो नयाँ लाइन ‘ताछ र पुर’ प्रविधिबाट बनाइएका भन्दा लगभग २५ मिटर गहिराइमा बनाइएका थिए । यसको मतलब यसको निर्माणले सतहमा हानि गर्दैनथ्यो । यी रेल लाइनहरु भवनको मुनि पनि खन्न सकिन्थ्यो ।

पहिलो ट्युब लाइन ‘सिटी एण्ड साउथ लण्डन’ सन् १८९० मा खुल्यो । यो यति सफल साबित भयो कि अर्को बीस वर्षमा आधा दर्जन अरु रेल लाइन निर्माण भयो । यो चतुर्‍याइँपूर्ण प्रविधि लण्डनको थेम्स नदीमुनि अन्य धेरै लाइनहरुको सुरुङ खन्न प्रयोग गरियो ।

अन्य सहरहरुमा विस्तार…

बीसौं शताब्दीको प्रारम्भसम्म बुढापेस्ट ,बर्लिन ,पेरिस र न्युयोर्क सहरहरुले आफ्नै भूमिगत रेलमार्ग बनाइसकेका थिए र आज ५५ देशका १ सय ६० सहरहरु भीडभाड कम गर्न भूमिगत रेलमार्ग प्रयोग गरिएका छन् । तर, आज निक्कै आधुनिक भइसकेको भए पनि यो प्रणाली विकासको श्रेय भने चार्ल्स पार्सन र लण्डन महानगरीय रेलमार्गलाई नै जान्छ ।


प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर