newskoseli.Com

वैद्यले बोले विद्रोह : ‘ओली सरकार दलाल पुँजीवाद र सामन्तवादको रक्षाकवच’

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले एमाले–माओवादी केन्द्र गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलार्इ दलाल पुँजीवाद र सामन्तवादको रक्षाकवचको संज्ञा दिएका छन् ।

शुक्रबार राजधानीमा आयोजित युवा जागरण तथा मार्चपास अभियानको समापन समारोहमा बोल्दै महासचिव वैद्यले प्रश्न गरे– ‘प्रधानमन्त्री ओली समृद्धिका कुरा गर्छन् तर सीमा मिचिँदा किन बोल्दैनन् ?’

‘ओली नेतृत्वको सरकारलाई राष्ट्रवादी भनिएको छ तर त्यसले काम चाहिँ दलाल पुँजीवाद र सामन्तवादको रक्षाकवचको गरिरहेको छ,’ महासचिव वैद्ययले भने– ‘प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतसँग गरिएको सम्झौतासँगै सबैले बुझ्ने गरी सकियो, भर्खरै भएको ओलीको भारत भ्रमण र त्यहाँ भएका सम्झौताले उनको नक्कली राष्ट्रवाद उदाङ्गियो ।’

प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पारेको आरोप समेत महासचिव वैद्यले लगाए । यो सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा गर्न नसक्ने ठोकुवा समेत उनले गरे ।

झापा आन्दोलन र जनयुद्धको नेतृत्व गरेको जस एमाले र माओवादी केन्द्रले लिन नमिल्ने दावी वैद्यले गरे । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै वैद्यले भने– ‘उनीहरूले त एेतिहासिक झापा विद्रोह र जनयुद्धको नेतृत्व गरेको नाममा कम्युनिस्ट आन्दोलनलाई संसदमा लगेर टुंग्याए ।’

‘झापा आन्दोलन र जनयुद्ध एमाले र माओवादी केन्द्रले गरेका होइनन्, हामीले गरेका हौं’– महासचिव वैद्यले भने । कार्यक्रममा बोल्दै सोही पार्टीका अर्का नेता सीपी गजुरेलले ओली सरकारलाई फासीवादीको संज्ञा दिए ।

क्रान्तिकारी माओवादीसम्बद्ध क्रान्तिकारी युवा लिग नेपालको ३ नम्बर प्रदेश कमिटीले आयोजनामा गरेको युवा जागरण तथा मार्चपास अभियान समापन कार्यक्रमको र्‍याली टुँडिखेलबाट सुरु भएर न्युरोड, वसन्तपुर हुँदै इन्द्रचोकमा पुगी सभामा परिणत भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर