newskoseli.Com

मदन–आश्रित स्मृति दिवसकै दिनदेखि जबजको ‘समाप्ति’ !

 

आज अर्थात् जेठ ३ गते । चितवनको दासढुंगामा भएको विवादास्पद जिप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितले जीवन गुमाएको २५औं स्मृतिको दिन ।

त्यस बेलाका प्रभावशाली नेता मदन–आश्रितले जीवन गुमाएको त्यो दिन थियो– ३ जेठ, २०५२ । मदन–आश्रितको २५औं स्मृतिमा बिहीबार बिहानैदेखि देशका विभिन्न भागमा अनेक कार्यक्रमहरु आयोजना गरिएका छन् । अझ, सामान्यतः नेपाली राजनीतिक इतिहास र विशेषतः नेपाली वामपन्थी इतिहासकै एउटा महत्त्वपूर्ण परिघटनाका रुपमा नेपालका सबभन्दा ठूला ‘वाम’ घटकहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको अवसर समेत आजै जुटेको छ ।

झन् स्मरणीय कुरा त यो छ कि ‘नेपाली क्रान्तिको मौलिक सिद्धान्त’ भन्दै मदनकुमार भण्डारीद्वारा प्रस्तावित, विश्लेषित र स्थापित ‘जनताको बहुदलीय जनवाद’ अर्थात् ‘जबज’ ले आजैका मितिदेखि औपचारिक विश्राम समेत पाएको छ । एमाले–माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा एमालेले अँगाल्दै आएको ‘जबज’ र माओवादी केन्द्रले अँगाल्दै आएको ‘माओवाद’ तथा ‘एक्काईसौं शताब्दीको जनवाद’ स्थगन गरिएका छन् र तिनलाई महाधिवेशनमा छलफल गरेर टुंग्याउने समझदारी बनेको छ ।

मदन–आश्रित स्मृति दिवसकै अवसर पारेर बिहीबार साँझ ५ बजे राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी एकीकरणको घोषणा हुने तय भइसकेको एमाले र माओवादी केन्द्रका नेताहरुले बताएका छन् । यो घोषणासँगै ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई मार्गनिर्देशक सिद्धान्त मान्दै आइरहेको एमाले र माओवाद मान्दै आइरहेको माओवादी केन्द्रको इतिहासको एउटा अध्याय समाप्त हुनेछ । र, यी दुवै पार्टीको संयोजनद्वारा नयाँ पार्टीको जन्म हुनेछ ।

त्यसैगरी, हाललार्इ ‘स्थगन’ मात्रै वा ‘बहसमा लगियो’ भनिए तापनि ‘मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त’ भनिने ‘जबज’ र माओवादी धारको पहिचान बन्दै आएको ‘माओवाद’ को समेत यस नयाँ पार्टीका हकमा अध्याय बन्द नै हुने निश्चित छ । यी कुरा यस ‘नयाँ’ पार्टीका निम्ति अब केवल स्मृति र इतिहास मात्रै हुनेछन् ।

‘जनताको बहुदलीय जनवाद’ र ‘एक्काईसौं शताब्दीको जनवाद’ लाई संश्लेषित गरेर ‘नयाँ’ पार्टीको ‘नयाँ’ सिद्धान्त वा कार्यक्रमका रुपमा ‘जनताको जनवाद’ अँगालिने सहमति दुवै पक्षबीच भइसकेको छ । वर्तमान सन्दर्भ र भावी सम्भावनालाई विचार गर्दा यो ‘नयाँ’ पार्टीले अब फेरि न माओवादलाई पुनर्स्थापित गर्न सक्नेछ न त जबज अर्थात् जनताको बहुदलीय जनवादतर्फ नै फर्कन सक्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर