newskoseli.Com

डा नेपालका छन्द कवितामा राष्ट्रिय एकताको ध्वनि

धर्तीमा कुन हो असम्भव कुरा मान्छे हुने निष्फल एउटा देश बनाउने विषयमा खै एकताको बल प्रगतिशील छन्दकवि तथा समालोचक डा देवी नेपालले राष्ट्रिय एकतामाथि जोड दिँदै सांस्कृतिक बहुलता भएको मुलुकमा सबैमा सामाजिक सद्भावको आह्वानका साथ आफ्ना १४ वटा पद्य कविता र गजल प्रस्तुत गरे ।

जनसाहित्यिक मञ्च नेपाल र सांस्कृतिक संस्थानको आयोजनामा ‘अविरल जनसाहित्ययात्रा’अन्तर्गतको २५औँ शृङ्खलामा कवि डा नेपालले छुवाछुत, छाउपडी, कम्लहरी र बोक्सी प्रथा तथा अन्धविश्वासका भावनामाथि पनि तीव्र प्रहार गरे ।

त्यस्तै नयाँ नेपाल बनाउने भनिए पनि धेरैमा पुरानै मानसिकता रहेको, परिवर्तनमा पनि शङ्का गर्नुपर्ने अवस्था रहेको, देश सङ्कटमा परेको, छिमेकीले हेपेकामा आक्रोश व्यक्त गरे । नेपाल कहिल्यै कसैको दास बन्नु नपरेकामा गौरवपूर्ण अभिव्यक्ति पनि उहाँले यसरी पस्किए –
तिमी अङ्ग्रेजको दास हामी स्वाभिमानी भइरह्यौँ
पानी पिएर धर्तीमा बाँचुन्जेज भिडिरह्यौँ

गजलका ज्ञाता तथा प्रशिक्षक पनि रहनुभएका डा नेपालले फारसी लयमा मुलुक भाग लगाउन खोज्ने प्रवृत्ति प्रहार गर्दै गाए–
मुमा अर्कै बुवा अर्कै म अर्कै देशमा होइन
सबैको भागमा एउटै परेको देश चाहिन्छ ।
उहाँलाई कविता र गजल वाचनमा जनगायक रामकुष्ण दुवाल, कवि यशोदा अधिकारी, सुदेश सत्याल र प्रेक्षा लम्सालले साथ दिएका थिए ।
सो अवसरमा नेकपा ‘एमाले’ का नेता माधवकुमार नेपालले नेपालीमा रहेको जातीय र क्षेत्रीय भावना हटाई हामी सबै नेपाली हौँ भन्ने भाव जाग्रृत गर्न स्रष्टाहरुलाई आह्वान गरे ।

डा रामप्रसाद ज्ञवाली र डा विन्दु शर्माले कवि डा नेपालले नेपाली छन्द परम्परालाई अघि बढाई राष्ट्रिय व्यक्तित्व स्थापित गरेको र उनको सक्रियता र सिर्जनशीलता लोभलाग्दो भएको बताउँदै उनमा जनताको बौद्धिक क्षमतानुसार जनसाहित्य सिर्जना गर्ने क्षमता रहेको बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, सांस्कृतिक सङ्घका महाप्रबन्धक राजेश थापा, जनसाहित्यिक मञ्चका अध्यक्ष राम विनय, उपाध्यक्ष रमेश पोखरेल र महासचिव विनोद मञ्जन लगायतले प्रगतिशील र प्रभावकारी जनसाहित्य सिर्जना गर्न साहित्यकारहरुलाई आह्वान गरे ।
त्रिचालिस वर्षीय डा नेपालका हालसम्म कविता, बालसाहित्य, समालोचना र पाठ्यपुस्तक गरी ४४ कृति प्रकाशित छन् । ‘नेपाली प्रगतिशील खण्डकाव्य’ विषयमा विद्यावारिधि गर्नुभएका उहाँले नेपाल, भारत र मलेसियामा गरी २०० स्थानमा छन्दको प्रशिक्षण दिइसक्नुभएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर