NewsKoseli.Com

को–को हुन् नेपालका ‘संशोधनवादी’ ?

काठमाडौं, १९ असार ।

(वि.सं. २००६ मा स्थापना भएको थियो ‘नेपाल कम्युनिस्ट पार्टी’ । यो पार्टी आज झन्डै दर्जन टुक्रामा विभक्त छ । नेकपाका विभाजित सबै घटकहरुले मूल नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ नै राखे तापनि ‘ब्राकेट’ भित्र बेग्लाबेग्लै ‘पुच्छर’ गाँसेर भिन्न अस्तित्व देखाउँदै आइरहेका छन् ।

अब सबै ‘वाम’ घटकहरुलाई एकैठाउँ एकताबद्ध पारेर स्थापनाकालकै मूल अवस्थामा फर्कने भन्दै हालै मात्र दुई ठूला ‘वाम’ घटक– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भई ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको छ । यद्यपि यसअघि नै ऋषिराम कट्टेलको नेतृत्वमा एउटा र नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा अर्को गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ नामकै अरू दुई वटा ‘वाम’ घटक अस्तित्वमा छन् ।

विभाजित सबै ‘वाम’ घटक र तिनका नेताले आफू बाहेकका सबै घटक र ती घटकका नेतालाई दर्जनौं आरोप लगाएर असाध्यै कठोर आलोचना गर्ने ‘प्रचलन’ नै बसिसकेको छ । यसरी लगाइने मध्येको एउटा मुख्य आरोप हो– ‘संशोधनवादी’ । प्रस्तुत सामग्री मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय नेता हस्तबहादुर केसीले न्युजकोसेलीलाई सम्प्रेषित गरेको निकै लामो आलेखको एउटा अंश हो । यस अंशमा लेखक केसीले स्थापनाकालदेखि हालसम्मका केही नेताहरुलाई ‘संशोधनवादी’ भन्दै चर्चा गरेका छन् ।

‘सबै कम्युनिस्टहरुलाई एकै ठाउँ गोलबन्द गर्ने’ प्रयास चलिरहेको वर्तमान सन्दर्भमा वाम आन्दोलनभित्र के–कस्तो तिक्तता छ र बाँकी घटकहरुबीच एकता कति नजिक वा टाढा छ भन्ने बुझ्न यो आलेख महत्त्वपूर्ण सन्दर्भ सामग्री हुनेछ भन्ने आशयका साथ यहाँ प्रस्तुत गरिएको छ । यसमा प्रस्तुत विचार तथा आरोपहरुबारे न्युजकोसेली टिम, सम्पादक मण्डल र सम्पादकको कुनै सरोकार छैन । केवल सबै पक्षका विचारहरुबीच बहस गराउने र पाठकहरुलाई स्थितिको गम्भीरता अवगत गराउने उद्देश्यले मात्रै यो सामग्रीलाई यहाँ स्थान दिइएको हो । –सम्पादक)

नेपालका संशोधनवादीहरु

१० वैशाख, २००६ (वि.सं.) अर्थात्, २२ अप्रिल, १९४९ (सन्) मा पुष्पलाल श्रेष्ठको पहलकदमीमा भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । पुष्पलाल श्रेष्ठ नै नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव हुनुहुन्छ ।

१२ वैशाख, २००६ (वि.सं.) मा नेकपाले एउटा पर्चा प्रकाशित गरेको थियो । त्यसबेला नै पार्टीले नेपाली समाजको वर्गविश्लेषण गर्दै देश अर्धसामन्ती र अर्धऔपनेवेशिक रहेको ठहर गरेर सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्ग नै नेपाली जनताको प्रधान सत्रु रहेको स्पष्ट गरेको हो । अझ सोही बेला नै नेपाली राष्ट्रिय स्वाधिनको आधारभूत सत्रु साम्राज्यवाद तथा विस्तारवाद रहेको नेकपाले किटान गरेको थियो ।

सोही पर्चाअनुसार पनि नेपाल कम्युनिस्ट पार्टीको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्नु रहेको थियो भने अधिकतम कार्यक्रम (लक्ष्य) समाजवाद हुँदै साम्यवादसम्म पुग्नु थियो ।

र, नेपाली कम्युनिस्ट आन्दोलनको शैशवकालमै दक्षिणपन्थी संशोधनवाद घुस्न सफल भएको थियो । त्यही संशोधनवादले आज आधुनिकवाद संशोधनवाद हुँदै नवसंशोधनवादमा विकास गरिरहेको छ र दक्षिणपन्थी नवसंशोधनवाद नेपाली क्रान्तिको बाधकका रूपमा खडा हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै आएका मुख्य नेताहरूमा पुष्पलालबाहेक सबै नै संशोधनवादी गद्दार बन्न पुगेका छन् । यस आलेखमा तिनीहरूकै बारेमा संक्षिप्त चर्चा गरिनेछ ।

मनमोहन अधिकारी

२०१० सालमा नेकपाको प्रथम राष्ट्रिय महाअधिवेसन सम्पन्न गरियो उक्त महाधिवेसनमा दरबारीयाहरूले पार्टी नेतृत्व कब्जा गर्न सफल भए र दरबारीया मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरियो । त्यही महाधिवेसनबाटै क्रान्तिकारीहरूलाई पाखा लगाउने र नेतृत्व गर्ने तहबाट बञ्चित गर्ने षडयन्त्रपूर्ण क्रियाकलापको सुरूआत भयो ।

२००८ सालदेखि सरकारले नेकपालाई प्रतिबन्ध लगाउँदै आएको थियो । २०१३ साल वैशाख ३ गते तत्कालीन नेकपाका महासचिव मनमोहन अधिकारीले राजाको वैधानिकत्व स्वीकार्ने र शान्तिपूर्ण तरिकाबाट समाजवादी क्रान्ति सम्पन्न गर्ने सर्तमा ५ वर्षदेखि पार्टीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइपाऊँ भनेर सरकारलाई चिठी पठाए । २०१३ साल वैशाख ४ गते सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध हटाइएको थियो ।

यसरी वर्गसङ्घर्षको कार्यदिशा परित्याग गरेर वर्गसमन्वय, संशोधनवादी नीति विधिवत् रूपमा अङ्गालेर नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी संशोधनवादको दलदलमा फसाउने पहिलो संशोधनवादी नेता मनमोहन अधिकारी हुन् । माले र मार्क्सवादीको एकता पश्चात २०४७ सालदेखि मनमोहन अधिकारी एमालेका अध्यक्ष बनेका थिए भने २०५१ सालको मध्यावधि आम निर्वाचनबाट एमालेको तर्फबाट नेपालको प्रधानमन्त्रीमा समेत निर्वाचित भएका थिए ।

डा. केशरजङ्ग रायमाझी

डा. केशरजङ्ग रायमाझी दरबार परस्त नेता थिए । २०१४ सालमा सम्पन्न नेकपाको दोस्रो महाधिवेसनबाट उनी पार्टीको महासचिवमा निर्वाचित भए ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक ‘कू’ गरी बहुदलीय व्यवस्थालाई अपदस्त गरी निरङ्कुश पञ्चायती व्यवस्थाको स्थापना गरेका थिए । उक्त शाही कदमलाई डा. केशरजङ्ग रायमाझीले राजाको ‘साहसी कदम’ भनेर स्वागत गरेका थिए ।

रायमाझीले नेकपालाई दरबारमै पुर्‍याएर बुझाउने कोशिस गरेका थिए । २०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेसनले डा. केशरजङ्ग रायमाझीलाई राजावादी गद्दार घोषित गरी पार्टीबाट निष्काशन समेत गरेको थियो । पछिसम्म उनले रायमाझीको नामबाट कम्युनिस्ट सञ्चालन गर्दै आएका थिए ।

राजतन्त्रले रायमाझीलाई राजपरिषद्को सभापति बनाएको थियो । उनी दरबारको पहरेदार बनेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि राजतन्त्रले रायमाझीलाई नेपालको शिक्षा मन्त्री समेत बनाएको थियो ।

तुलसीलाल अमात्य

२०१९ सालको नेकपाको तेस्रो राष्ट्रिय महाधिवेसनले तुलसीलाल अमात्यलाई महासचिवमा निर्वाचित गरेको थियो । त्यस महाधिवेसनले नेपाली नयाँ जनवादी क्रान्तिको सशस्त्र क्रान्तिको कार्यदिशालाई परित्याग गरी ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको पुँजीवादी संसदीय कार्यदिशा पारित गरेको थियो ।

तुलसीलाल अमात्य संशोधनवादी नेता थिए । विचारविहीन नेतृत्वले सही नेतृत्व प्रदान गर्न सकेन र २०२०–२०२१ सालतिरबाट नेपाल कम्युनिस्ट पार्टीभित्र टुटफुट र विभाजनको शृङ्खला सुरू भयो ।

त्यसबेलादेखि विभाजित भएको नेपाली कम्युनिस्ट आन्दोलन अहिलेसम्म पनि विभाजित अवस्थामै छ ।

तुलसीलाल अमात्यले पछिसम्म पनि पार्टी छुट्टै पार्टी चलाउँदै आएका थिए । २०४८ सालपछि उनी एमालेमा बिलय भएका थिए । उनलाई एमालेले चीनको राजदूत बनाएर पठाएको थियो ।

मोहनविक्रम सिंह

मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका अर्का एक जडसूत्रीय संशोधनवादी तथा सङ्कीर्णवादी नेता हुन् । २०१७ सालपछि उनी लामो समयसम्म जेलमा बसे । २०२७ मा जेलबाट मुक्त भए ।

२०२८ सालमा उनले न्यूक्लिसको गठन गरे । २०३१ सालमा नेकपाको चौथो महाधिवेसन सम्पन्न गरियो । त्यस महाधिवेसनले मोहनविक्रम सिंहलाई महामन्त्रीमा निर्वाचित गर्‍यो ।

चौमको विभाजनपछि नेकपा (मशाल)को गठन भयो । २०४१ सालमा पार्टीको महाधिवेसनले उनलाई पार्टीबाट निष्काशन गर्‍यो ।

उनले छुट्टै नेकपा (मसाल) को गठन गरे । अहिलेसम्म पनि उनी नेकपा (मसाल) को महामन्त्री नै छन् ।

मदनकुमार भण्डारी

मदन भण्डारी नेकपा एमालेका महासचिव हुन् । उनी नेकपा माले २०४६ सालमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेसन र २०४९ सालमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट दुई–दुई पटक एमालेको महासचिवमा निर्वाचित भएका थिए ।

२०४९ सालमा एमालेको पाँचौँ महाधिवेसनबाट मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ नामक नेपाली क्रान्तिको नवीनतम कार्यक्रम भन्दै खुश्चेभी आधुनिक संशोधनवादी लाइन पारित गराउन सफल भएका थिए ।

‘जनताको बहुदलीय जनवाद’ खुश्चेभी आधुनिक संशोधनवादको नेपाली संस्करण थियो । उनी भारत विरोधी राष्ट्रवादी नेता थिए ।

२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनाद्वारा उनको हत्या गरिएको थियो । उनका हत्याराहरूको पत्ता लागिसकेको छैन ।

प्रचण्ड–बाबुराम

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष थिए । अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष मध्येका एक अध्यक्ष बनेका छन् । बाबुराम भट्टराई एमाओवादी पार्टी त्यागेर नयाँ शक्तिका संयोजक बनेका छन् ।

प्रचण्डले दसवर्षे सशस्त्र जनयुद्धको नेतृत्व समेत गरेका थिए । प्रचण्ड–बाबुराम वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनका नवसंशोधनवादी प्रमुख पात्र हुन् ।

प्रचण्ड–बाबुरामले २०६२ असोज–कात्तिकमा सम्पन्न पार्टीको बहुचर्चित चुनबाङ बैठकबाट सशस्त्र सङ्घर्षको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई परित्याग गरी लोकतान्त्रिक गणतन्त्रसम्बन्धी पुँजीवादी, संसदवादी, बहुलवादमा आधारित कार्यदिशा पारित गराउन सफल भएका थिए ।

त्यसपछि उनीहरूले भारतीय विस्तारवादको निर्देशनमा २०६२ मङ्सिर ७ गते सात पुराना संसदवादी दलहरूसँग राष्ट्रघाती १२ बुँदे समझदारी भारतमा गरेका थिए । शान्ति प्रक्रियामा सामेल भए पश्चात २०६३ मङ्सिर ५ गते नेपाल सरकारसँग बृहत् शान्ति सम्झौता गर्ने क्रममा दसवर्षे सशस्त्र जनयुद्ध समाप्त भएको घोषणा गरेका थिए ।

१० बर्से जनयुद्धले निर्माण गरेका आधार इलाकाहरू, जनअदालत, जनकम्युन र जनसरकारको खारेजी गरेका थिए । पार्टीले पारित गरेको नेपाली क्रान्तिको जनविद्रोहको क्रान्तिकारी कार्यनीतिलाई परित्याग गरी ‘शान्ति र संविधान’ सम्बन्धी सुधारवादी–पुँजीवादी–संसदवादी कार्यदिशा पकड्न पुगेका थिए ।

भारतीय विस्तारवादको निर्देशन र योजनामा मधेसवादी दलहरूसित राष्ट्रघाती चारबुँदे सम्झौता गरेर सरकारमा पुग्न सफल भएका थिए । तिनीहरूले भारतीय शासकहरूसित घाँटी जोडेर राष्ट्रघाती बिप्पा सम्झौता गरे । जनमुक्ति सेनाको विधिवत् रूपमा विघटन र विर्सजन गराए । जनताको बलिदानबाट प्राप्त हतियार दुश्मनलाई बुझाएर जनताको वास्तविक संविधान बनाउने कार्यलाई लथालिङ्ग–भताभुङ्ग पार्दै २०६९ जेठ १४ गते राती संविधानसभाको अन्त्येष्टि गरिदिए । उनीहरूले पार्टीलाई विसर्जन गराउने प्रयत्न गरे ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर