newskoseli.Com

यस्तो छ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सदस्यहरुको किसिम र ‘बन्धन’… (विधान–अंश)

 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान हालै ‘फाइनल’ भएर प्रकाशन–वितरणको चरणमा पुगेको छ । विधानको धारा– ८ देखि १३ सम्म सदस्यहरुका शर्त, बन्धन र वर्गीकरण समेटिएको छ ।

के–कस्ता छन् त नेकपाका सदस्यहरुका वर्गीकरण र ‘सीमा–बन्धन’ हरु ? हेरौं विधानको यो अंश–

धारा– ८. सदस्यका प्रकार

(क) पार्टीमा देहायबमोजिमका सदस्य रहनेछन्ः

१. सदस्य,
२. सङ्गठित सदस्य ।

(ख) धारा– ९ (क) को योग्यता र (ख) को प्रक्रिया पूरा गरेका व्यक्ति सदस्य हुनेछन् । धारा– १० (क) को योग्यता र (ख) को प्रक्रिया पूरा गरेका व्यक्ति सङ्गठित सदस्य हुनेछन् ।

धारा– ९. सदस्य

(क) सदस्यको योग्यता देहायबमोजिम हुनेछः

१. १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक,
२. नैतिकवान र स्वच्छ चरित्र भएको,
३. मानसिक सन्तुलन नगुमेको,
४. नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नभोगिरहेको,
५. प्रचलित कानुनले अयोग्य नठहरिएको,
६. पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी,
७. पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान मान्न तत्पर,
८. उत्पादनमूलक श्रममा संलग्न हुन र सामाजिक–आर्थिक रूपान्तरणमा क्रियाशील हुन तत्पर ।

(ख) सदस्यता प्राप्त गर्ने प्रक्रिया देहायबमोजिम हुनेछः

१. धारा– ९ (क) को योग्यता पुगेको व्यक्तिले आफू रहेको वडा वा शाखा कमिटीमा आवेदन दिने,
२. वडा वा शाखा कमिटीले आवश्यक छानविन गरी तोकिए बमोजिमको शुल्क लिएर सदस्यता प्रदान गर्ने, सदस्यको व्यक्तिगत विवरणसहितको अभिलेख राख्ने र माथिल्लो कमिटीमार्फत् जिल्ला कमिटीमा पठाउने,
३. जिल्ला कमिटीले व्यक्तिगत विवरणसहितको अभिलेख राख्ने र सङ्ख्यात्मक विवरण प्रदेश कमिटीमा र प्रदेश कमिटीमार्फत् केन्द्रीय सङ्गठन विभागमा पठाउने,
४. सदस्यताका सम्बन्धमा विवाद उत्पन्न भएमा सम्बन्धित स्थानको सदस्यता प्रदान गर्ने अधिकार प्राप्त कमिटीले निर्णय गर्नेछ ।

(ग) सदस्यका अधिकार र कर्तव्य देहायबमोजिम हुनेछन्ः

१. पार्टीको साधारणसभा वा जनवर्गीय, पेशागत तथा सामुदायिक सङ्गठन वा सम्पर्क मञ्च वा संयन्त्रमा सङ्गठित भई काम गर्ने,
२. पार्टीका दस्तावेजहरू प्राप्त गरी अध्ययन गर्ने,
३. स्थानीय कमिटीद्वारा आयोजित भेला तथा बैठकहरूमा सहभागी हुने,
४. पार्टीद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुने,
५. तोकिएको समयमा सदस्यता नवीकरण गर्ने,
६. धारा– १० (क) को योग्यता पूरा गरी सङ्गठित सदस्यताका लागि आवेदन गर्न सक्ने ।

धारा– १०. सङ्गठित सदस्य

(क) सङ्गठित सदस्यको योग्यता देहायबमोजिम हुनेछः

१. धारा– ९ (क) को योग्यता पुगेको,
२. पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिप्रति प्रतिबद्ध तथा विधानलाई निःशर्त स्वीकार गरी कार्यान्वयन गर्न तत्पर,
३. कम्युनिष्ट आचरण र नैतिकताको पालना गर्न, सार्वजनिक जवाफदेहिता बहन गर्न र पारदर्शी जीवनशैली अपनाउन प्रतिबद्ध,
४. धारा– ९ बमोजिम सदस्यता प्राप्त गरी साधारणसभा वा जनवर्गीय सङ्गठन वा सम्पर्क मञ्च वा संयन्त्रमा सङ्गठित भई कम्तिमा एक वर्ष काम गरेको ।

(ख) सङ्गठित सदस्यता प्राप्त गर्ने प्रक्रिया देहायबमोजिम हुनेछः

१. सङ्गठित सदस्य हुन योग्यता पुगेको व्यक्तिले अनुसूची– ५ को ढाँचामा दुईजना सङ्गठित सदस्यको सिफारिससहित आफू रहेको वडा वा शाखा कमिटीमा आवेदन दिने,
२. वडा वा शाखा कमिटीले आवश्यक छानविन गरी धारा– १० (क) को योग्यता पुगेको भए सङ्गठित सदस्यता प्रदान गर्न रायसहित उक्त आवेदन गाउँ वा नगर कमिटीमा पठाउने,
३. गाउँ वा नगर कमिटीले सिफारिससहित उक्त आवेदन जिल्ला कमिटीमा पठाउने,
४. जिल्ला कमिटीले आवश्यक छानविन गरी योग्यता पुगेको आवेदकलाई तोकिए बमोजिमको शुल्क लिएर सङ्गठित सदस्यता प्रदान गर्ने निर्णय गरी अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने,
५. प्रदेश कमिटीले आवश्यक छानविन गरी योग्यता र प्रक्रिया पुगेको भए अनुमोदन गरी सदस्यता नम्बर प्रदान गर्न र अभिलेख राख्न केन्द्रीय सङ्गठन विभागमा पठाउने,
६. केन्द्रीय सङ्गठन विभागले अभिलेखमा समावेश गरी सदस्यता नम्बर प्रदान गर्ने र प्रदेश कमिटीमार्पmत मातहत कमिटीमा पठाउने,
७. विभिन्न पार्टी वा समूहबाट समूहगत वा व्यक्तिगत रूपमा पार्टी प्रवेश गरेका देशभक्त, प्रगतिशील, लोकतान्त्रिक आन्दोलनका सहयोगी र सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिलाई जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटी वा केन्द्रीय कमिटीले सङ्गठित सदस्यता प्रदान गर्न सक्नेछ,
८. सङ्गठित सदस्यताका सम्बन्धमा विवाद उत्पन्न भएमा सम्बन्धित स्थानको सङ्गठित सदस्यता प्रदान गर्ने अधिकार प्राप्त कमिटीले निर्णय गर्नेछ । तर, उक्त कमिटीभन्दा माथिल्लो तहमा सङ्गठित व्यक्तिको हकमा भने निज सङ्गठित रहेको कमिटीले निर्णय गर्नेछ ।

(ग) सङ्गठित सदस्यका अधिकार र कर्तव्य देहायबमोजिम हुनेछन्ः

१. पार्टी कमिटी वा आयोग वा विभाग वा संयन्त्र वा पार्टी सेल वा तोकिएको सङ्गठनमा सङ्गठित भई काम गर्ने,
२. पार्टीको बैठक, अधिवेशन र महाधिवेशनमा चुन्ने, चुनिने, नीति तथा निर्णयमा मतदान गर्ने र सम्बन्धित कमिटीमा आफ्नो मत जाहेर गर्ने,
३. पार्टीबाट सङ्गठित सदस्यका निम्ति जारी गरिएका निर्देशन, निर्णय र दस्तावेजहरू प्राप्त गर्ने, अध्ययन गर्ने र तिनको पालना एवम् कार्यान्वयन गर्ने,
४. पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिको दृढतापूर्वक अनुशरण गर्दै आफ्नो जिम्मेवारी पूरा गर्ने,
५. पार्टीद्वारा आयोजित कार्यक्रम, उत्पादनशील काम, विकास निर्माणलगायत जनसरोकारका क्रियाकलापमा सक्रिय रहने,
६. तोकिएको सदस्यता शुल्क एवम् लेबी नियमित रूपमा सम्बन्धित कमिटीमा बुझाउने र सङ्गठित सदस्यता नवीकरण गर्ने,
७. रुढीवाद, अन्धविश्वास, सामाजिक विकृति, उत्पीडन र विभेदका विरुद्ध सङ्घर्ष गर्ने,
८. आवश्यकता अनुसार माथिल्लो कमिटीमा सुझाव पठाउने,
९. पार्टी अनुशासन पालना गर्दै पार्टीको एकता, गोपनीयता, हित र प्रतिष्ठालाई जोगाइराख्न क्रियाशील रहने,
१०. आफूमाथि भएको कुनै पनि कारबाही चित्त नबुझेमा कारणसहित कारबाही गर्ने कमिटीभन्दा माथिल्लो कमिटीमा र केन्द्रीय कमिटीको कारबाही चित्त नबुझेमा केन्द्रीय अनुशासन आयोगमा पुनरावेदन गर्न सक्ने ।

धारा– ११. सदस्यता वा सङ्गठित सदस्यताको समाप्ति

(क) देहायको अवस्थामा पार्टीको सदस्यता वा सङ्गठित सदस्यता समाप्त हुनेछः

१. स्वेच्छाले सदस्यता वा सङ्गठित सदस्यता परित्याग गरेमा,
२. सङ्गठित सदस्य अनुमतिबिना लगातार एक वर्षभन्दा बढी पार्टी काममा संलग्न नरहेमा,
३. पार्टीले अनुशासनको कारबाही गरी सदस्य वा सङ्गठित सदस्यबाट निष्काशन गरेमा,
४. तोकिएको समयमा सदस्यता वा सङ्गठित सदस्यता नवीकरण नगरेमा ।

धारा– १२. सदस्यता वा सङ्गठित सदस्यता पुनः प्राप्ति

(क) धारा– ११ (क) बमोजिम सदस्यता गुमाएको व्यक्तिले धारा– ९ (क) को योग्यता र (ख) को प्रक्रिया पुरा गरेर सदस्यता पुनः प्राप्त गर्न सक्नेछ ।
(ख) धारा– ११ (क) को १, २ र ४ बमोजिम सङ्गठित सदस्यता गुमाएको व्यक्तिले सङ्गठित सदस्यता पुनः प्राप्त गर्न चाहेमा कम्तिमा छ महिनासम्म सम्बन्धित कमिटीले तोकेको काम गरेपछि धारा– १० (ख) को प्रक्रिया पूरा गरी सङ्गठित सदस्यता पुनः प्राप्त गर्न सक्नेछ ।
(ग) अनुशासनको कारवाहीमा परी सङ्गठित सदस्यताबाट निष्काशित व्यक्तिले गल्ती महसुस गरी कम्तीमा एक बर्ष तोकिएको काम गरेपछि धारा– १० (ख) को प्रक्रिया पूरा गरेर सङ्गठित सदस्यता पुनः प्राप्त गर्न सक्नेछ ।

धारा– १३. सदस्यता कायम

(क) नेपाल कम्युनिष्ट पार्टीको कुनै समूहमा सदस्यता वा सङ्गठित सदस्यता कायम रहेको व्यक्तिले प्रमाणसहित पार्टी प्रवेश गरेमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरेपछि निजको सदस्यता वा सङ्गठित सदस्यता कायम हुन सक्नेछ ।
(ख) उपधारा (क) बमोजिम सदस्यता वा सङ्गठित सदस्यता कायम गर्नुअघि सम्बन्धित कमिटीले छानविन गरी निर्णय गर्नुपर्नेछ ।
(ग) शारीरिक अवस्था कमजोर भएका वा राजनीतिक वा झुठ्ठा मुद्दामा जेल परेका सङ्गठित सदस्य सङ्गठित नरहे पनि पार्टीप्रति निष्ठावान रहँदासम्म निजको सङ्गठित सदस्यता कायम रहनेछ ।
(घ) पार्टीबाट विशेष काममा खटाइएको सङ्गठित सदस्य कुनै कमिटी वा निकायमा सङ्गठित नरहे पनि निजको सङ्गठित सदस्यता कायम रहनेछ ।

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान, २०७५ बाट)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर