newskoseli.Com

सरितको ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श

 

कथाकार इन्द्रकुुमार श्रेष्ठ ‘सरित्’ को कथाकृति ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श सम्पन्न भएको छ ।

प्रगतिशील लेखक संघ केन्द्रीय समितिको आयोजनमा शुक्रबार सम्पन्न कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेती, समालोचक तेजविलास अधिकारी, लेखक जगत् वाशिष्ठ र डा. विशेष्यले कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ को व्यक्तित्व र कृतित्वबारे चर्चा गरे ।

कार्यक्रममा समालोचक प्रा.डा. गोपीन्द्र पौडेलले इन्द्रकुमारका कथा सङ्क्रमणकालीन नेपाली समाजको जीवन्त इतिहास भएको विचार व्यक्त गरे । कृतिमा संग्रहित २५ थान कथाहरुमाथि विहंगम समालोचकीय मन्तव्य राख्दै कथाकार सरितको यो संग्रहले दसवर्षे सशस्त्र संघर्ष र १९ दिने जनआन्दोलनको मर्म र भावनालाई टपक्क टिपेर पाठकहरुसमक्ष प्रस्तुत गरेको उनले बताए ।

अबको चालीस–पचास वर्षपछि उनको यस कृतिमा तत्कालीन समाजले नेपाली समाजको एउटा इतिहास आख्यानमार्फत खोज्ने प्रा.डा. पौडेलको भनाइ रह्यो । प्रगतिवादी कथाका दृष्टिले सरितका कथाहरु अब्बल रहेको ठहर उनले सुनाए ।

प्रगतिशील लेखक संघका उपाध्यक्ष डा. पुष्करराज भट्टले श्रेष्ठका कथामा साठीको दशकयताको नेपालको राजनीतिक–सामाजिक घटना–परिघटनाको साङ्गोपाङ्गो चित्र खिचिएको उल्लेख गरे ।

आफ्नो मन्तव्यको क्रममा कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ले नेपाली साहित्यमा आफूले महाकाव्य र खण्डकाव्यबाहेक सबै विधाहरुमा लेखिसकेका बताए । साहित्यका थुप्रै विधामा कलम चलाए तापनि आफू किन–किन आख्यानमा, अझ विशेषतः कथालेखनतर्फ नै आकृष्ट भएँ भन्ने कुरामाथि उनले प्रकाश पारे । जति नै राम्रो लेखे तापनि ‘हल्ला गर्न नसक्ने वा नचाहनेहरु’ को चर्चा नहुने कुराप्रति सरितले दुःखेसो पोखे ।

संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता र महासचिव आरएम डंगोलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कृष्णहरि भट्टले स्वागत–मन्तव्य राखे । अन्त्यमा, कथाकार सरितले कार्यक्रमका सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर