newskoseli.Com

राजधानीमा नेपाल–भारत सम्मेलन : द्विदेशीय प्रतिबद्धता कार्यान्वयनमा प्रचण्डको जोड

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनमा जोड दिँदै त्यसका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् ।

कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको प्रवर्द्धनका लागि प्रबुद्ध वर्गको भूमिका’ विषयक सम्मेलनको मंगलबार राजधानीमा उदघाटनका क्रममा आपसी सम्बन्ध खुला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउन आफूहरुले प्रयत्न गरिरहेको अध्यक्ष प्रचण्डले बताए ।

नेपालको स्थिरता, शान्ति र समृिद्ध भारतको पनि स्वार्थको विषय भएको तथा छिमेकीको सहयोगविना नेपालको समृद्धि हासिल गर्न कठिन भएकाले दिगो विकासको लक्ष्यकै परिधिमा रहेर साझा गन्तव्य पहिल्याउनु आवश्यक भएकामा उनले जोड दिए ।

‘नेपालको गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन, छिमेकीले विकास गरिरहँदा हामी पछि पर्न सक्दैनौं,’ अध्यक्ष प्रचण्डले भने– ‘भारतसँगको समझदारी अनुसार रेलमार्ग र जलमार्ग हुँदै हामी आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्नु आवश्यक छ ।’

समान सार्वभौमसत्ता र साझा स्वार्थका आधारमा आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले सिर्जना गरेको ताजा विश्वासलाई समेत आधार मानेर सहकार्य र सम्बन्धलाई गाढा बनाउन अध्यक्ष प्रचण्डले जोड दिए ।

सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दुई देशका प्रधानमन्त्री तहमा पछिल्लो समय भएको भ्रमण आदानप्रदानले सम्बन्ध सुध्रिएको बताउँदै दुई देशले गठन गरेको प्रबुद्ध वर्ग समूहले आपसी सम्बन्धलाई नयाँ इतिहासमा लाने गरी प्रतिवेदन दिइने उल्लेख गरे ।

बुद्धिजीवीहरुले नकारात्मक वा सकारात्मक पक्षको मात्रै प्रकाश पार्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता सम्मेलनले भूमिका निर्वाह गर्ने बताउँदै मन्त्री यादवले नेपाल र भारतबीच जनता र सरकारका बीचमा नजिकको सम्बन्ध भएकाले कहिलेकाहीं खटपट देखा परे पनि पुनः मिलेरै रहने गरेको अवस्थालाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले दुई देशबीच संस्कृति, सम्पर्क सञ्जाल र वाणिज्यलगायतका क्षेत्रमा नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको बहुमतको स्थिर सरकारले लोकतन्त्रलाई सफल बनाउने अपेक्षा व्यक्त गरे । भारतीय प्रधानमन्त्री मोदीको छिमेकनीतिले निरन्तरता पाउने बताउँदै आपसी सम्बन्धलाई ज्ञानमा आधारित सम्बन्धका रुपमा पनि विकास गर्न सम्मेलनले योगदान दिने उनले उल्लेख गरे ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले पछिल्लो समय नेपाल र भारतबीच अरुण– ३ परियोजना र वीरगञ्जको संयुक्त चेकजाँचका सम्बन्धमा भएको सम्झौताले आपसी आर्थिक सहकार्य अभिवृद्धि हुने बताए । दुबै देशका बुद्धिजीवी सहभागी सम्मेलनमा विभिन्न सत्रमा राजनीतिक र बुद्धिजीवी क्षेत्रका प्रतिनिधिबीच अन्तर्क्रिया हुनेछ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर