newskoseli.Com

एमाले–माओवादी मजदुरबीच एकता, को–को परे केन्द्रमा ?

 

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघबीच एकताको प्रक्रियाले स्वरुप ग्रहण गरेको छ ।

दुवै संगठनबाट समानुपातिक प्रतिनिधित्व हुने गरी नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सम्मेलन आयोजक समिति गठन गरिएको छ । समितिको सदस्यमा गणेश रेग्मी, रमेश बडाल, विदुर कार्की, जगत सिंखडा, रीना गुरुङ, धनबहादुर विक, जनक चौधरी, जय कार्की, उषा देवकोटा र सोनालाल साह रहेका छन् ।

समितिले प्रदेश र जिल्ला कमिटीका साथै उद्योग, यातायात, पर्यटनलगायतका क्षेत्रमा विस्तार गरेका सदस्य युनियनहरूको समेत एकता प्रक्रियालाई व्यवस्थित गर्नेछ । समितिले विधान निर्माण गरी पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य संख्याको टुंगो लगाउने नवगठित समितिका संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।

जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएर नेकपा घोषणा हुँदा ३ महिना (भदौ ३) भित्र आधारभूत तहसम्म एकता गरिसक्ने भनिएको थियो । तर, समयमै पार्टीको विधान र नियमावली बन्न नसकेकाले अहिलेसम्म कुनै पनि जनवर्गीय संगठन, पार्टीका प्रदेश कमिटी र जिल्ला समितिहरुमा एकताको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यसअघि पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनको जिम्मेवारीमा रहेका इञ्चार्ज, सहइञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्ष रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको थियो । दुवै पार्टी सम्बद्ध विद्यार्थी संगठन, पत्रकार संगठन र युवा संगठन पनि एकताका लागि अन्तिम गृहकार्यमा छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर