newskoseli.Com

जापानमा प्रदर्शन गरियो ‘बीपीको जेलजीवन’ !

 

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जेलजीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र हालै जापानमा प्रदर्शन गरिएको छ ।

३७औं बीपी स्मृति दिवसका अवसरमा आइतबार र सोमबार बीपी चिन्तन एवं गणेशमान फाउन्डेशन जापान तथा बीपी संग्रहालय समिति काठमाडौंको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शन गरिएको हो । प्रदर्शनमा कोइरालाको राजनीतिक इतिहास र जेलजीवनका बारेमा समेत जानकारी गराइयो ।

वृत्तचित्रमा बीपी र सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती शासनमा सुन्दरीजलको कारागारमा बिताएका जेलजीवनको अवस्थाबारे चित्रण गरिएको छ । कार्यक्रममा बीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दीगृहलाई संग्रहालय बनाउन गरिएको संघर्षका बारेमा स्मरण गराए ।

बीपी चिन्तन तथा गणेशमान फाउन्डेशन जापानका अध्यक्ष डा. बलराम श्रेष्ठले प्रजातान्त्रिक समाजवादी दर्शन र चिन्तन विश्वमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए । सो अवसरमा बीपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानकी सचिव जापानी नागरिक इमुरा हिरोकोले प्रजातान्त्रिक नेता बीपीको जेलजीवनबारे वृत्तचित्र जापानमै हेर्न पाउँदा खुशी लागेको बताइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका संस्थापक अध्यक्ष राजन प्रधान, बुद्धिजीवी, सामाजिक–राजनीतिक दल तथा संघ–संस्थाका प्रतिनिधि सहभागी भई अभिरुचिपूर्वक वृत्तचित्र हेरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर