newskoseli.Com

स्तनपान गराउनेहरू दिनहुँ घट्दै : स्वास्थ्य सेवा विभागमा ‘स्तनपान कक्ष’…

स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । सो कक्षमा दुई जनासम्म महिलाले एकैसाथ आफ्ना शिशुलाई स्तनपान गराई सुताउन सक्नेछन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ) का प्रतिनिधि टोमो होजुमीले बुधबार संयुक्त रुपमा सो कक्षको शुभारम्भ गरेका हुन् ।

स्तनपानका लागि स्वास्थ्य निकायमा छुट्टै कक्ष स्थापना भएको यो नै पहिलो पटक हो । मन्त्रालय मातहतका स्वास्थ्य संस्था र अस्पतालले समेत छुट्टै स्तनपान कक्षको व्यवस्था नगरेको बताइन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयमा कार्यरत महिला कर्मचारीका लागि पनि हालसम्म स्तनपान कक्षको व्यवस्था छैन । कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने– ‘स्तनपानका लागि कार्यालयमा छुट्टै कार्यकक्ष स्थापना भएको छैन ।’

नयाँबानेश्वरस्थित प्रतिनिधिसभा भवन तथा सिंहदरबारस्थित सचिवालय भवनमा समेत स्तनपान कक्ष छैन । पहिलो र दोस्रो संविधानसभा बैठकका समयमा भने महिला सांसदका लागि छुट्टै कोठाको व्यवस्था मिलाइको थियो । सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले भने– ‘संघीय संसद् भवन र सचिवालयमा स्तनपानका लागि छुट्टै कक्षको व्यवस्था छैन ।’

उसो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलमा ‘स्तनपान कर्नर’ छन् । तर, सबै यात्रु पुग्ने र देख्ने ठाउँमा छैनन् ती कर्नर ।

पछिल्लो जनसाङ्ख्यिक सर्वेक्षण, २०१६ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत मात्र छ । पूर्ण स्तनपान भन्नाले शिशुको जन्म भएको एक घन्टाभित्रैदेखि पाँच वर्षसम्मको स्तनपानलाई जनाउँछ । अर्कोतर्फ, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउनेको संख्या पनि ५५ प्रतिशत मात्रै छ ।

स्तनपान गराउनुअघि दस जनामध्ये तीन जना शिशुलाई घ्यु, मह, चिनी चटाउने गरिएको सर्वेक्षणले देखाएको थियो । शल्यक्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापना गर्ने अन्य सामग्री खुवाइने गरिएको देखिएको छ । आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु बिक्री–वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । सोसम्बन्धी ऐन, २०४९ र नियमावली, २०५१ जारी भएका थिए ।

स्तनपानको अवस्था काठमाडौं उपत्यकामै दयनीय

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले गरेको एक अध्ययनका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका अस्पतालमा नै स्तनपानको अवस्था गतिलो छैन । अध्ययनका अनुसार जन्मेको एक घन्टाभित्र स्तनपानको दर केवल ४१ प्रतिशत मात्र छ । शिशु जन्मने वित्तिकै आमाको नाङ्गो छातीमा टँसाएर राख्ने दर केवल नौ प्रतिशत छ । शिशु र आमाबीचको भावनात्मक सम्बन्ध बढाउन र शिशुको स्वास्थ्य प्रवर्द्धन गर्न यसले सहयोग गर्ने स्वास्थ्यविज्ञ अतुल उपाध्याय बताउँछन् ।

उनी भन्छन्– ‘स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप हो, जन्मेको एक घन्टाभित्रदेखि छ महिनासम्म स्तनपान मात्र, दुई वर्षदेखि स्तनपानका साथमा अन्य खाने कुरा खुवाउनाले आमा र शिशुको स्वास्थ्य राम्रो हुन्छ ।’

आमा र बच्चा दुवैलाई छन् स्तनपानका फाइदा…

स्तनपानले आमालाई गर्भनिरोधकको रुपमा काम गर्छ । शिशुलाई स्वस्थ राख्न, वृद्धि र विकास गराउन, सम्पूर्ण आहारा–पानीको स्रोत नै स्तनपान हो । आमाको दूधमा पाइने तत्त्वले शिशुमा रोगसँग लड्ने क्षमता कायम गराउँछ ।

जन्मनासाथ शिशुलाई छातीमा टाँसेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्छ । यसले सालनाल निक्लन सहयोग पुग्नुका साथै रक्तश्राव बन्द गराउन समेत मद्धत पुर्‍याउँछ । यसो गर्दा आमाको तनाव समेत कम हुने महाशाखाका अधिकृत मुकुन्दराज गौतम बताउँछन् ।

आमाको दूधमा रोगाणुनाशक तत्त्व हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामक पोषकतत्त्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलामतत्त्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेका विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुका विरुद्ध प्रतिरोधात्मक तत्त्वहरू बनाउँछ । यो तत्त्व ‘थोरासिक डक्ट’ भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ । आमाको दूध नियमित रूपमा खाएर यसरी शिशु स्वस्थ रहन्छन् ।

‘स्तनपान : जीवनको मूल आधार’ भन्ने नाराका साथ यस वर्ष साताव्यापी रुपमा ‘स्तनपान दिवस’ मनाइँदैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर