newskoseli.Com

नेपाल टेलिकमले सुरु गर्‍यो फाइबर सेवा

नेपाल टेलिकमले घरसम्म फाइबर अर्थात् (एफटीटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाका साथै आर्इपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा सुरु गरेको छ ।

सेवा आरम्भको अवसरमा साउन १० देखि ३ महिनासम्मका लागि व्यावसायिक प्रवर्द्धधन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् । आईपी प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवा समेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ ।

हाल यो सेवा एफटीटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ भने बाँकी स्थानमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमले जनाएको छ । हाल उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबारमार्ग, ठमेल, हात्तीसार, जाउलाखेल, लगनखेल, कलंकी र उपत्यका बाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगञ्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण सुरु गरेको हो । एफटीटीएच सेवा बृहत् रुपमा विस्तारका लागि कम्पनीले आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पुर्‍याई आवाज, उच्च गतिको इन्टरनेट र दृश्य सेवा प्रदान गर्न सकिने भएकाले यसलाई प्रभावकारी मानिएको छ ।

ग्राहकमाझ सस्तो तथा सुलभ दरमा एफटीटीएच सेवा उपलब्ध गराउन हाल वर्षात् योजना (मनसुन अफर) अन्तर्गत सहुलियतपूर्ण महसुलमा विभिन्न प्याकेजका रुपमा सेवा उपलब्ध गराइरहेको छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक–फरक महसुल दर निर्धारण गरिएको टेलिकमले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर